समाचार

धरानमा चारगुणासम्म मूल्य बढ्दा नियामक मौन !

By खबरहब

October 04, 2024

सुनसरी– धरान उपमहानगरपालिका वार्ड नम्बर ३ स्थित कृषि उपज बजारमा थोक मूल्यमा तरकारी सागसब्जी किन्न आएका उपभोक्ताहरू मूल्य सुनेर तर्सिन थालेका छन् । यहाँका बजारमा अधिकांश फलफूल र तरकारीको मूल्य न्यूनतम ५० प्रतिशतसम्म बढेको अवस्था छ ।

चाडपर्व सुरु भएका बेला केही सस्तोमा हरिया सागसब्जी फलफूल तरकारी किन्न उपभोक्ताहरू बजारमा आइरहेका छन्‌ । तर, टमाटरको मूल्य सुन्दा त्यो भन्दा पनि बढी रातोपिरो हुँदै  तर्सिने गरेका छन् ।

धरान–१५ फूलबारीमार्गबाट प्रभातयात्रा (मर्निङवाक) गर्दै कृषि उपज बजारमा पसेको टीका लिम्बूले भनिन्, ‘यो चाडपर्वकै बेला फलफूल तरकारीको मूल्य किन महँगो हुन्छ ? अरू बेला ४० रुपैयाँमा पाइने टमाटार थोक मूल्यमै किलोको १६० रुपैयाँ  भन्छ व्यापारीले । कसरी किनेर खाने हो ?’

टीकासँगै आएकी फूलबारी मार्गकै देविका दाहालले यसपालिको दशैँ निकै महँगो हुने बताइन् । उनले ठट्टेउली शैलीमा भनिन्, ‘अब यो पालीको दशैँमा मासु चाहिँ पकाउने, तर त्यसमा नुनमात्र हालेर टमाटर, लसुन र प्याज नहाली पकाएर खानुपर्ने भयो ।’

चाडपर्व सुरु भएपछि थोक मूल्यमै हरिया सागसब्जी, फलफूल र तरकारीको मुख्य अचाक्ली बढाइए पनि नियमनकारी संस्थाहरूले भने कुनै अनुगमन गरेको पाइएको छैन ।

कृषि उपज बजार व्यवस्थापन समितिले चाहिँ लगातार परेको झरीवर्षाका कारण पूर्वी पहाडी जिल्ला तथा तराईका विभिन्न स्थानबाट आउने सागसब्जी र फलफूल तरकारी खेती बारीमै नष्ट भएकाले मूल्य बढेको तर्क गरेको छ ।

बजार व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार यस पटकको सिजनमा हरियो सागसब्जी र फलफूल तथा तरकारीको मूल्य बढेको छ । उनले भने, ‘लगातार परेको झरीवर्षाले सडकसञ्‍जाल अवरुद्ध भएको छ । झरीकै कारण किसानले खेतबारीमा लगाएको हरिया सागसब्जी, फलफूल र तरकारी नष्ट भएकाले आपूर्तिभन्दा माग बढी भएपछि मूल्य आकासिएको हो ।’

तीन साता अघिसम्म टमाटरको मूल्य प्रतिकिलो ५० रुपैयाँदेखि ५५ रुपैयाँमा थोक मूल्यमा पाइने गरेकोमा शुक्रबार तीन गुण मूल्य वृद्धि भएको बजार व्यवस्थापक भट्टराईले बताए । उनले भने, ‘टमाटरको मूल्य सुनेर उपभोक्ता मात्र तर्सिएका छैनन्, बिक्रेता नै आत्तिएका छन् । अधिकतम ५० रुपैयाँमा किन्ने गरेको टमाटर प्रतिकिलो १५० रुपैयाँमा किन्नुपर्दा नतर्सिएर के गरुन् त ?’

थोक मूल्यमै महँगो भएपछि खुद्रा मूल्य झनै बढेको छ । यो सिजनमा धरानको कृषि उपज बजारमा पूर्वी पहाडी जिल्लाहरू तेह्रथुम, धनकुटा, संंखुवासभा, ताप्लेजुङ, संखुवासभा, भोजपुर र तराईका जिल्लाबाट हरिया सब्जीजन्य फलफूल तरकारी लगायत आलु, गोलभेँडा, काँक्रा, गाजर, मुला, काउली, मुला, भण्टा, घिरौँला, बोडी, सिमी, करेला, अकबरे खोर्सानी र लौका आपूर्ति भएको छ ।

ती जिल्लाबाट ल्याइएका तरकारी धरानबाट अन्यत्र जिल्लामा समेत पठाउने गरिएको छ । तर, यसपटक लगातारको झरीवर्षाले खेतबारीमै फलफूल तरकारी नष्ट भएको र झरीवर्षाबाट जोगिएका तरकारी बजारसम्म ल्याउन सडक सञ्जाल अवरुद्ध भएकाले मूल्य बढेको बजार समितिले जनाएको छ ।

धरान कृषि बजारमा दैनिक १०० मेट्रिकटन हरियो सागसब्जी आवश्यक भए पनि मुस्किलले आधा मात्र आउने गरेको छ । त्यसमा पनि टमाटर त विगतको भन्दा १० देखि १५ प्रतिशत कममात्र भित्रिने गरेको छ । कृषि बजारको माहोल पनि गत वर्षको दशैँको पूर्वसन्ध्याको जस्तो छैन । सामान्य चहलपहल मात्रै छ ।

नेपालमा उत्पादित टमाटरले उपभोक्ताको माग धान्न नसकेपछि भारतमा उत्पादन भएको टमाटर कृषि बजारमा भित्रिन थालेको कृषि उपज बजारका व्यवस्थापक भट्टराइले बताए ।

भारतीय टमाटरको मूल्य पनि उतिकै महँगो छ । फलफूल तथा तरकारी व्यापारीहरूले भने आफूहरूले महँगोमा खरिद गर्नुपर्ने बाध्यता रहेको र उपभोक्तालाई पनि महँगोमै बेच्न बाध्य हुनुपरेको बताएका छन् ।