ब्रेकिङ स्टोरी

कालढुंगामा फसेका यातायात मजदुरको बिचल्ली, उद्धारमा सरकार निरीह

By खबरहब

October 04, 2024

काठमाडौं- गत शुक्रबार (असोज ११ गते) झापाबाट बा५ख ७३७ नम्बरको यात्रुबाहक हायस हाँकेर काठमाडौं हिँडेका कृष्ण मैनाली एक साता भयो काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-११ कालढुंगामामा अड्किएको ।

झापाबाट हिँडेका उनले सिन्धुली आइपुगेपछि गाइँगुइँ सुनेका थिए गाडी रोकिने कुरा । काभ्रेपलाञ्चोकको नेपालथोक आइपुगेपछि काठमाडौंबाट सरकारले गाडी जहाँ छन् त्यहीँ रोक्नु भनेर निर्देशन दिएको खबर सुने। तर, नेपालथोकमा चेकिङका क्रममा प्रहरीले उनीसहित सँगै रहेका तीनवटा गाडी नरोकी अगाडि पठाइदियो ।

रोक्नु भन्ने सरकारी निर्देशन सुनेका उनी चाँडै काठमाडौं पुग्ने विश्वाससहित अगाडि बढे । तर जब उनी नेपालथोकबाट करिब ६ किलोमिटर अगाडिको रोशी-११ कालढुंगा पुगेपछि काठमाडौं पुग्ने योजना भताभुंग भएको शुक्रबार ठ्याक्कै एक साता भयो ।

सात दिनदेखि उनी रोशी खोलो र कालढुंगा खोल्साले निलेको बीपी राजमार्गको भग्नवाशेष हेरेर बसिरहेका छन् । ‘अवस्था यस्तो भइसक्यो, न रुन सक्छु न हाँस्न नै’, उनले एक शब्दमा आफ्नो पीडा सुनाए, ‘रोशी र कालढुंगा खोल्साले हामीलाई न अगाडि बढ्न दियो, न पछाडि नै फर्किन सक्छौँ, गाडी रुँघेर बसेको आज सात दिन भयो, अझै कति दिन उद्धारको आशमा बस्नुपर्ने हो हिसाब छैन ।’

उनी सिन्धुलीको बाटो छिचोलेर अन्य दुईवटा हाइसलाई अघिपछि गर्दै काभ्रे छिरिसकेका थिए । बेलुका काठमाडौं पुगेर भोलिपल्ट फर्किने योजना त तुहियो नै भोकैतिर्खै खण्डहर सडकबीच बसेको पनि साता बितिसकेको छ ।

मैनाली जस्तै नेपालथोक र मंगलटारको बीचमा करिब ६ सयवटा गाडीका चालक, सहचाकलसहितका यातायात मजदुर फसेका छन् । मैनालीका अनुसार रोशी–११ कालढुंगा क्षेत्रमा मात्रै ३४५ वटा गाडी फसेका छन् । त्यहाँभन्दा करिब डेढ किलोमिटर अगाडि मंगलटारमा गरेर ६ सय गाडी अहिले अलपत्र छन् ।

राजमार्ग बन्द हुँदा कोशी प्रदेशका १४ र मधेशका ८ जिल्लाबासीको संघीय राजधानीमा सिधा ओहोरदोहोर बन्द भएको छ । त्यसैगरी बागमती प्रदेशका सिन्धुली, रामेछाप र दोलखासहित २५ जिल्लाबासी प्रभावित भएका छन् ।

सडकमा फसेका मजदुरले भने– ‘केन्द्र सरकार, प्रदेश सरकार कहाँ छन् हामीलाई पत्तो छैन । अब भोकभोकै बसेर आन्दोलन गर्नेबाहेक अर्को विकल्प रहेन । आन्दोलन नगर्ने हो भने भोकैतिर्खै मरिने डर भइसक्यो   

‘एकसातापछि बल्ल आज कालढुंगाबाट ३५/४० वटा गाडी मंगलटारतिर छिरेका छन् । मंगलटारबाट तिमाल हुँदै भकुन्डेबेंसी निकाल्ने गरी सडक मर्मत भइरहेको सुनेका छौँ’, उनले भने, ‘त्यसरी तिमाल हुँदै जाने गाडी पनि फोर ह्विल र बसहरू छन् । हाम्रो जस्ता हाइस गाडीहरू इन्जिन होचो हुने भएकाले अगाडि बढ्ने कुनै सम्भावना छैन ।’

मैनालीले कालढुंगा खोल्सा र रोशीले बीपी रामार्ग बगाएको ठाउँमा दुईवटा ह्युम पाइप हाल्न सकेमा मंगलाटारसम्म निस्किन सकिने झिनो आशा राखेका छन् ।

‘यहाँ त खोलामा डाइभर्सन गर्न सकिरहेको छैन । पानी परिरहेकाले हाइस गाडीहरू तिमालडाँडासम्म जान सक्ने अवस्था पनि छैन । हाम्रो जस्तो जम्बो हाइस यहाँ सयभन्दा धेरै छन्’, उनले भने, ‘यहाँ असुरक्षाको अवस्था पनि छ । त्यसैले ह्युम पाइप लगाउन सके खोलाबाट गाडी कटाएर मंगलटारमा राख्न सकिन्थ्यो । त्यहाँ प्रहरी चौकी भएकाले मंगलटारमा सुरक्षा हुने थियो । त्यति भए हामी दशैंमा भोकैतिर्खै भए पनि घर पुग्न सक्थ्यौँ ।’

६ सय गाडी फसेको रोशीस्थित कालढुंगा क्षेत्र

मैनाली जस्तै बिचल्ली अवस्थामा रहेका यातायात मजदुरहरूलाई मंगलटार लगेपछि गाडीको सुरक्षा हुने आशा छ । ‘उता नेपालथोकमा ६/७ वटा डोजर लगाएको सुनेका छौँ । यहाँ भएका दुई डोजरमा एउटा बिग्रिएर बसेको छ । एउटा रहेको जेसीबीले ह्युम पाइप तान्नै सकेन। अहिलेलाई खोलामा दुईवटा ह्युम पाइप हालिदिए हामी मंगलटारमा गाडी राखेर घर जान पाउँथ्यौँ ।’

उनले सरकारी संयन्त्रका रुपमा नेपाली सेना मात्रै आइपुगेको सुनाए । ‘यहाँ सेना आइपुगेको थियो केही राहत बाँड्न । हामीले खोलाले बगाएको ह्युम पाइप ल्याउन एक्साभेटर चाहियो भन्यौँ । तर यहाँका पालिकाहरूबीच पनि समन्वय रहेनछ । उनीहरूको समन्वय भएको भए हाम्रो दु:ख कम हुने थियो’, उनले भने, ‘हामी यहाँदेखि मंगलटारसम्म ६ सयभन्दा बढी सवारी मजदुर फसेका छौँ ।’

अहिले यो सडकमा फसेकामध्ये अढाई सयजति बिरामी भइसकेको उनले सुनाए । ‘यहाँ हाम्रा अढाई सयजति साथीहरू बिरामी भएका छन् । सेनाले दिएको एक बोत्तल पानी, चाउचाउ, दालमोठले गुजारा चलाएका छौँ । वरिपरि पिउने पानी छैन । खोलाको धमिलो पानी पिउँदा साथीहरू धमाधम बिरामी भए, उपचार गर्ने ठाउँ पनि छैन’, उनले सुनाए, ‘सेनाले एक पटक स्वास्थ्य जाँच गरेर गयो । स्वास्थ्य चौकी नजिक छैन । हामी अन्तिम अवस्थामा छौँ ।’

अहिलेसम्म यात्रुले छाडेको चामल र अन्य खानेकुराले गुजारा चलाइरहेको मजदुरहरू बताउँछन् । ‘गाडीकै यात्रुले ल्याएको चामलले केही दिन काम चल्यो । त्यो पनि सकिएकाले अब के खाने हामी हामी अन्तिम अवस्थामा छौँ’, मैनाली भन्छन्, ‘दशैँअगाडि बाटो खोल्न नसकिने अवस्था छ । मजदुरहरूले केही विकल्प सोच्नुपर्ने भइसक्यो । जिन्दगीभरको कमाई लगानी गरेका छौँ । हामीलाई सरकारले गाडीहरूको सुरक्षा र निकास दिनुपर्‍यो ।’

नेपालथोकतर्फ फसेका गाडीहरू सिन्धुलीतिर फर्किए पनि त्यसयता काठमाडौंतर्फका गाडीले कतैबाट निकास पाउन सकेका छैनन् ।

नेपालथोकसम्म जान सकेमा सिन्धुलीतिर फर्किन सक्ने विश्वासमा मजदुरहरू छन् । काठमाडौंतिर फर्किएर जाने कुने सम्भावना उनीहरूले देखेका छैनन् ।

त्यसको विकल्पमा मंगलटारमा रहेका गाडीहरू काठमाडौंतिर पठाएर त्यहाँ कालढुंगाका गाडी राख्ने विकल्प उनीहरूसँग छ ।

‘मुख्य कुरा यहाँको खोलो तरेर लान सक्नुपर्‍यो । अहिलेसम्म त्यस्तो देखिएको छैन । कालढुंगा खोल्सोमा दुईवटासम्म ह्युम पाइप राखिदिए पुग्ग छ। यहाँ सुरक्षा पनि छैन । सेना आएर स्कुलमा बसेको थियो । उनीहरू पनि यहाँबाट गइसकेका छन्’, मैनाली सुनाउँछन्, ‘यहाँ सुरक्षाको पनि समस्या छ । सामानहरू हराउन थालेका छन् । पर्स र साना सामान हराउन थाले । निजी गाडीमा रहेका मान्छेलाई चार पाँचजनाको समूहमा आएर लुट्न, तर्साउन खोजेछन् ।’

उनले खानेकुरा पनि अभाव हुन थालेकाले गाडीको सुरक्षा भए आफूहरू घर जान पाउने आश रहेको सुनाए । ‘खाद्यान्न पनि अभाव भयो । सेनाले केही बिरामीलाई उद्धार पनि गरेको छ । उहाँहरूले वितरण गरेको चाउचाउ र दालमोठले गुजारा गर्न मुश्किल भयो । पानी प्युरिफाई गर्ने विधि छैन । धमिलो पानीले बिरामी बढ्न थाले । अब हामीले आश गरेर चिहाउनेबाहेक केही विकल्प भएन’, मैनालीले सुनाए ।

अब त्यहाँ फसेका मजदुरसँग आन्दोलनको एक मात्रै विकल्प बँचेको छ । ‘केन्द्र सरकार, प्रदेश सरकार कहाँ छन् हामीलाई पत्तो छैन’, उनले सुनाए, ‘अब हामीसँग भोकभोकै बसेर आन्दोलन गर्नेबाहेक अर्को विकल्प रहेन । आन्दोलन नगर्ने हो भने भोकैतिर्खै मरिने डर भइसक्यो ।’

मजदुर नेता भन्छन्  : सरकारको पहल पुगेन

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीम ज्वाला राईले साता बित्दा पनि सरकारले ठोस कदम चाल्न नसक्दा मजदुरको बिचल्ली भइरहेको बताए ।

‘सरकारले सबै शक्ति र स्रोत परिचालन गरेर भए पनि अस्थायी बाटो बनाउन सक्नु पर्थ्यो,’ उनले भने, ‘ सरकारले मजदुर र व्यवसायीहरूको पीडा र जनताको आवश्यकता बुझेन ।’

उनले हप्ता अघिदेखि मजदुरहरू अलपत्र परेकाले उद्धार नहुन्जेल खाद्यान्नको व्यवस्था गर्न अनुरोध गरिरहे पनि सरकारबाट ठोस पहल हुन नसकेको बताए ।

‘अहिले धेरै मजदुरहरू बिरामी हुन थालेका छन्। अहिले पनि पहिरोबीचमा ४९२ सवारी साधन फसेका छन्,’ उनले भने, ‘करिब ६ सय मजदुरहरू अलपत्र छन्। गाडी फसेका कारण व्यवसायीहरू मारमा परेका छन् ।’

ज्वालाले जुन गतिमा देशको मुख्य राजमार्ग खुलाउनु पर्ने हो, त्यसो हुन नसकेको बताए । त्यसका कारण पूर्व नेपाल र मधेस जाने सर्वसाधारणले पाउनुसम्म दुःख पाएको उनले गुनासो गरे ।