काठमाडौं- बाल्यकाल सम्झँदा उनी आमाबुवाबिनै बिताएका अँध्यारा दिन अनि रात सम्झिन्छन् । उनी आज उसैगरी सम्झना गर्छन्, ५ वर्षको छोरो आफन्तका हातमा सुम्पिएर फर्कँदै गरेकी आमा । र, फर्कँदै गर्दा आँखाका डिलमा दौडेर आकाशतर्फ चोर औंलाबाट छुटिगएका आमाका आँसुका ढिक्का।
बैतडी रोडिदेवलबाट उनका बुवाआमाले आफ्नो नावालक छोरालाई आफन्तको हातमा सुम्पिएर काठमाडौं पठाउँदै गर्दा के–के सपना देखेका थिए, उनलाई थाहा छैन । थाहा छ त केवल, छोराले राम्रो शिक्षा पाओस् भन्ने उहाँहरुको चाहना । यो चाहनाले उनका बुवाको काँधले कतिञ्जेल अभाव महसुस गर्यो होला । आमाका आँखाका डिल हरेक छाक खाना पस्किनेबेला कहिलेसम्म ओसिला भैरहे होला उनलाई थाहा छैन ।
त्यो विछोडले उनलाई भने गीत/संगीत सुन्ने बनायो । उनले धेरैजसो वियोगान्त गीत सुने । गीतसँगै हराए र रेडियो सँगै गुनगुनाए । यो गुनगुनाइले बा–आमाको अभाव त पूर्ती गर्दैनथ्यो। तर, उनलाई एकखालको राहत दिन्थ्यो ।
उनी, अर्थात त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन तथा ग्यास्ट्रोइन्टेसटाइनल डा. रमेशसिंह भण्डारी ।
बैतडीबाट काठमाडौं आएपछि भीएस निकेतन स्कुलबाट औपचारिक शिक्षा प्रारम्भ गरेका भण्डारीले राम्रो पढ्नु बाहेक अर्को सपना देखेनन् । कहिलेकाहिँ घर जाने सपना देख्थे । त्यो समय काठमाडौंबाट बैतडी पुग्न चार दिनको यात्रा गर्नु पर्थ्यो, त्यो पनि भारतको बाटो भएर । भैरहवा, टनकपुर, पिछौराडागढ हुँदै बतैडी छिर्नुपर्थ्यो । त्यही कारण उनको घर पुगिरहने सपना धेरैजसो अधुरै रह्यो ।
राम्रो शिक्षाको सपना भने उनका बुवा–आमा र आफन्तको पनि थियो । त्यही सपनाको हेक्का राखेर हुनुपर्छ, सायद उनी पढाइमा तेज थिए।
खेलकुद र गायनमा पनि रमेशसिंह उस्तै अब्बल थिए । तर, आफन्त, शिक्षक र साथीहरू भन्थे, ‘तिम्रो पढाइ राम्रो छ, तिमी डाक्टर बन्नु पर्छ ।’ उनले पनि डाक्टर बन्ने सपना बनाए ।
यही सपना बोकेर उनी एसएलसीपछि वीरेन्द्र सैनिक कलेज छाउनीमा आइएसी पढ्न भर्ना भए । त्यहाँको अनुशासन बेग्लै थियो । भनिन्थ्यो, ‘तोकेको गर्ने, जोखेको खाने।’
सैनिक कलेजको अनुशासनले उनको जीवनमा थुप्रै कुरा दियो। तर, आइएसीमा उनले सोचेको जस्तो रिजल्ट आएन। आइएसीको रिजल्टपछि उनका आफन्तलाई लाग्यो, यसले डाक्टरी पढ्न सक्दैन ।
परिवारकै चाहनामा उनी पनि सपनाको बाटो परिवर्तन गर्न राजी भए । आफन्तले पनि भने, ‘तिमी आर्मी बन्न सक्छौ।’
उनको हृदयबाट एमबीबीएस गर्ने सपना भने हटेको थिएन। तैपनि उनले आर्मी बनेरै एमबीबीएस पढ्न आफूलाई मानसिक रुपमा तयार बनाए । सेकेन्ड लेफ्टिनेन्टको परीक्षा दिए । अन्तिममा स्वास्थ्य परीक्षणमा फेल भए । त्यो दिन सम्झँदै
डा. भण्डारी भन्छन्, ‘त्यो मेरो भाग्य थियो।’
त्यसपछि उनी बीपी कोइराला मेमोरियल कलेज धरानमा एमबीबीएस पढ्न गए। राम्रो अंकसहित एमबीबीएस पास गरे। काम गर्न काठमाडौं मेडिकल कलेजमा आए। त्यतिबेलासम्म उनले कुन रोग विशेषज्ञ बनेर काम गर्ने भन्ने सोचेका थिएनन्। उनले बालबालिकाको उपचार गरे।
केही समयपछि पुनः धरान फर्किए। बीपी प्रतिष्ठानमा पिडियार्टिक वार्डमा रहेर १ वर्ष बालबालिकाको उपचार गरे। यो अवधिमा उनको लगाव बालबालिकाप्रति बढ्यो। उनी बालबालिकाकै डा. बन्न चाहान्थे। तर, मास्टर्स पढ्ने बेलामा पिडियार्टिक पढ्न पाएनन्। उनको भागमा सर्जरी पर्यो ।
कुनै अर्को विकल्प नपाएर सर्जरी पढ्न तयार भए । तयार त भए, तर आत्मविश्वास जन्माउन भने उनले अरु थप मेहनत गर्नुपर्यो । ‘सबै कुरामा मेरो राम्रो थियो’ सर्जरी पढ्दाका सुरुका दिन सम्झँदै भण्डारी भन्छन्, ‘दुई वर्ष बच्चासँग बिताएकाले पनि मलाई सर्जरी गर्न सक्दिनँ कि भन्ने डर लाग्थ्यो ।’
यो डरलाई पनि उनले स्वीकार गरे । ‘सानैबाट चाहेको नपाएपछि पाएको चिजसँग रमाउने र सतप्रतिशत राम्रो गर्नुपर्छ भन्ने भावनाले प्रेरित थिएँ,’ उनी भन्छन्, ‘यहाँ पनि यो चिजले काम गर्यो ।’
त्रिवि शिक्षण अस्पताल काठमाडौंमा तीन वर्षे एमबीबीएस पूरा गरे । र, त्रिवि शिक्षण अस्पतालको जर्नल सर्जरी वार्डमा काम गर्न थाले ।
जर्नल सर्जरीमा धेरैजसो पेटको सर्जरीको काम हुन्थ्यो। त्यसपछि बल्ल उनले पेटमा पनि विशेषज्ञताको खोजी गर्न थाले । टिचिङमै तीनवर्षे ग्यास्ट्रोइन्टेसटाइन सर्जरीको कोर्ष गरे। अध्ययनकै क्रममा उनले यसमा पनि विशेष खोज गरे। उनले कलेजो सर्जन बन्ने निधो गरे ।
कलेजो सर्जनको तालिमका लागि अष्ट्रेलियाको युनिभर्सिटीमा अप्लाई गरे । सन् २०१० मा अष्ट्रेलिया गए र १ वर्षे कोर्ष गरे ।
कलेजो सर्जरी पढ्दै गर्दा उनलाई लाग्यो, ‘नेपालमा कुनै दिन कलेजो प्रत्यारोपण पनि गर्नु पर्छ ।’ तर, त्यतिबेलासम्म नेपालमा कलेजो प्रत्यारोपणका गर्न सकिन्छ भनेर कल्पना नै गरिएको थिएन । कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्थामा पुगेका र पैसा खर्च गर्न सक्ने बिरामी विदेश जान्थे । नसक्नेको मृत्यु कुर्नुबाहेक अर्को विकल्प थिएन ।
भण्डारीलाई यो सेवा नेपालमै विस्तार गर्नु थियो। त्यसपछि उनले नेपालमा कलेजो प्रत्यारोपणको सम्भावनाका बारेमा अध्ययन गरे। अध्ययनका क्रममा लामो समय मेडिकल लाइनमा बिताएकाहरुले नै भन्थे, ‘ब्यर्थको सपना देखेर नहिड । नेपालमा सम्भव छैन।’
उनी जवाफ दिन्थे, ‘सम्भव होला नहोला तर म प्रयासचाहिँ गर्छु।’
सन् २०१४ मा भण्डारी कलेजो प्रत्यारोपणको अध्ययनका लागि पुनः अष्ट्रेलिया उडे। कलेजो प्रत्यारोपणमा केही दक्षता हासिल गरे र सन् २०१५ मा नेपाल फर्किए। अष्ट्रेलियामा पनि उनलाई धेरैले भनेकै हुन्, ‘नेपालमा कलेजो प्रत्यारोपण गर्छु भनेर किन लागेको छस् ? ’
उनी भन्नेहरुका पछि लागेनन्। भन्छन्, ‘मैले आफ्नो मन र आत्मविश्वासलाई सुनें।’
नेपाल फर्किएपछि भण्डारीका अगाडि थुप्रै समस्या उभिए । उनी एक्लै विज्ञता हासिल गरेर आएका थिए। कलेजो प्रत्यारोपण एक्लैले गर्न सक्ने सम्भावना थिएन । उनले अस्पतालका सर्जन साथीहरुलाई प्रत्यारोपणको कोर्ष गर्न आग्रह गरे। उनका साथीहरु अमेरिका, अष्ट्रेलिया, भारत लगायतका ठाउँमा कलेजो प्रत्यारोपणको तालिम गर्न गए ।
तालिमप्राप्त डा. भएर मात्रै पनि कलेजो प्रत्यारोपण सम्भव थिएन। चाहिने थुप्रै कुरा नेपालमा थिएनन् । उनले थुप्रै स्टेकहोल्डरसँग कुरा गरे। अधिकांशले हतोत्साहित गराए । त्यही समय गगन थापा स्वास्थ्यमन्त्री भए । डा. भण्डारी स्वास्थ्य मन्त्रालय पुगे।
तत्कालीन स्वास्थ्यमन्त्री थापाले भने उनको टिमलाई प्रोत्साहन दिए । स्वास्थ्य मन्त्रालयले आवश्यक बजेट छुट्टाइदियो ।
कलेजो प्रत्यारोपणका लागि कानुनी इजाजत लिन ६ महिनाभन्दा लामो समय लाग्यो । तर, स्वास्थ्य मन्त्रालयले लाइसेन्स नै दिएन । त्यो समय भण्डारीको यात्रामा ठेस लगाउन आउने धेरै मानिसहरु थिए । पत्रपत्रिकामा समाचार आए– टिचिङमा कलेजो प्रत्यारोपण हुँदैन । स्वास्थ्य मन्त्रालयले लाइसेन्स दिएन । आदि–आदि । यस्ता समाचारले भण्डारीको मन खिन्न त हुन्थ्यो । उनी आफ्ना मित्रहरुलाई भन्थे, ‘हामी लागिरहेका छौं, तपाईहरू हरेस नखानुहोस् ।’
सबै तयारी पूरा भयो । तर, समस्या थियो– बिरामीको । सुरुमै भण्डारीको टिममाथि विश्वास गर्ने बिरामी पाउन मुस्किल थियो । त्यसताका उनले पत्रिकामा सूचना नै निकालेर हामी हाम्रै देशमा कलेजो प्रत्यारोपण गर्न सक्छौं भन्ने जानकारी दिए।
यसैवीच, ०७६ साल जेठमा कलेजो प्रत्यारोपण गर्न चाहने बाबुछोरी सम्पर्कमा आए । डा. भण्डारीको टिमले ती बाबुछोरीसँग लामो छलफल गरे । उपचारका जटिलता र सम्भावनाहरुका बारेमा बताए । अन्ततः उनीहरु प्रत्यारोपणका लागि तयार भए ।
सुरुमै तयार भएका यहाँका डाक्टरले मात्रै प्रत्यारोपण गर्न गाह्रो थियो। उनले भारतको एपोलो अस्पतालबाट विशेषज्ञ डाक्टर बोलाए । त्यसपछि ३३ वर्षकी पुर्नी शाहीको कलेजोको टुक्रा काटेर उनका ५८ वर्षीय बुवा पदमबहादुर मल्लको शरीरमा प्रत्यारोपण गरियो । यो नेपालका लागि पहिलो कलेजो प्रत्यारोपणको केस थियो ।
यसमा डा. भण्डारीको सपना, मेहनत र लगाव त मुख्य छँदैथियो । त्यहीअनुसार उनको चर्चा पनि भयो । तर, उनी यसमा आफूमात्रै जस लिने पक्षमा छैनन् । भन्छन्, ‘त्रिवि शिक्षण अस्पतालमा पहिलोपटक भएको सफल कलेजो प्रत्यारोपणमा धेरै मानिसको ठूलो मिहिनेत छ । यसका लागि म लगायतको टिमले लामो समयदेखि तयारी गरेका थियौं।’
आफ्ना पिताहरुलाई कलेजो दान दिएका दुई छोरीहरू। तस्बिर स्रोत : डा. रमेशसिंह भण्डारीको फेसबुक
त्यसपछि लगातार प्रत्यारोपण गरिरहेका डा. भण्डारीको टिमले १५ जना मानिसमा सफल कलेजो प्रत्यारोपण गर्यो । अहिले अन्य सेन्टरमा पनि कलेजो प्रत्यारोपण सुरु भएको छ । यसमा भण्डारीलाई खुशी लागेको छ ।
भण्डारीले १० औँ प्रत्यारोपणसम्म बाहिरी देशका विशेषज्ञसँग सहयोग मागे । यसरी विदेशबाट विज्ञको सहयोग लिने परम्परा विश्वमै रहेको उनी बताउँछन् । उपचार सफल हुँदाहुँदै पनि उनीमाथि अर्को आक्षेप लाग्यो, ‘विदेशी विशेष डा. ल्याएर प्रत्यारोपण सफल भएको हो, यहाँ त सम्भव छैन।’
नेपाली विशेषज्ञको टोलीले ११ औँ प्रत्यारोपण आफैं गर्यो । अहिले डा. भण्डारीको टिम १६ औँ कलेजो प्रत्यारोपणको तयारीमा छ । उनलाई लाग्छ, ‘अब हामी कलेजो प्रत्यारोपणमा आत्मनिर्भर भयौं ।’
अझै पनि टिचिङ अस्पतालमा कलेजो प्रत्यारोपणको छुट्टै राम्रो ल्याब छैन । छुट्टै भवन छैन । कलेजो प्रत्यारोपण गर्नुपर्ने बिरामीका लागि नेपाल सरकारको विशेष सहुलियत छैन । यो सबै प्रवन्ध मिलाउने भण्डारीको अबको सपना हो ।
‘रहरले कलेजो प्रत्यारोपणका लागि विदेश जानेहरूलाई यहाँ मात्रै होइन, विश्वमा कहीँ पनि रोक्न सकिँदैन’ डा. भण्डारी भन्छन्, ‘बाध्यताले उपचारका लागि अन्य मुलुक जानुपर्ने बिरामीको नेपालमै उपचार गर्न पाउँदा खुशी छु।’