ज्याेतिष

ज्योतिषको नजरमा नयाँ वर्ष- राजनीतिमा युवाको हस्तक्षेप बढ्छ

By सीता न्यौपाने

January 05, 2024

काठमाडौं – सबैथोक सकिए पनि सधै बाँकी रहने एउटा चीज हो– भविष्य। राजनीतिले हरसमयं आत्मसात गर्ने भनेको ‘बहुजन हिताय र बहुजन सुखाय’को मूलमन्त्र नै हो। तर तीन करोड जनताको व्यवस्थापकीय जिम्मेवारी लिएको राजनीतिक नेतृत्वले दशकौंदेखि नाना, खाना र छानाको आश्वासन पूरा नहुँदा जनगुनासोको मात्रा बढ्नु स्वाभाविकै हो। पात्रोले सन् २०२४ को फड्को मारिरहँदा हामीले ज्योतिषलाई सोध्यौं- नयाँ वर्षमा नेपाल र नेपालीका ग्रह दशा कस्ता छन् ? समृद्धिको सपना कहिले पूरा हुन्छ ? अधिकांश ज्योतिषले वातावरणीय क्षेत्रमा आउने प्रतिकूलतासँग विश्वका मानव जाति जुध्न तयार हुनुपर्ने बताए। ज्योतिष रुद्रप्रसाद शर्मा भण्डारी, चुडामणि गौतम, बिक्रम घिमिरे र टीकाप्रसाद ‘चौरासीबाजे’सँगको संक्षिप्त कुराकानीको निष्कर्ष छ- विश्व राजनीतिमै युवाको हस्तक्षेप बढ्छ।

२०२३ को तुलनामा नयाँ वर्षमा राजनीतिक पक्ष राम्रो हुने संकेत देखिन्छ। यो वर्ष अस्थिरता कम हुँदै जानेछ। ठूला अप्रिय घटना हुने सम्भावना छैन।

राजनीतिक पक्ष राम्रो हुने संकेत छ : रुद्रप्रसाद शर्मा भण्डारी २०२३ को तुलनामा नयाँ वर्षमा राजनीतिक पक्ष राम्रो हुने संकेत देखिन्छ। यो वर्ष अस्थिरता कम हुँदै जानेछ। ठूला अप्रिय घटना हुने सम्भावना छैन। गत वर्ष विकास र राजनीतिक क्षेत्रमा खासै केही हुन सकेन। नयाँ वर्षसँगै यस क्षेत्रले केही गति लिने देखिएको छ। योग्य व्यक्ति राजनीतिमा प्रवेश गर्ने छन्। तर विश्वमा राजनीतिमा खिचातानी हुने देखिन्छ।

वायुमण्डलमा भएको प्रदूषणले क्षति बढाउँछ। द्वन्द्व, बाढी, पहिरो जस्ता घटनाले निरन्तरता पाउने छ। विश्वमै १० प्रतिशत मानिसको भाग्यमा सुखभोग देखिन्छ। बाँकीले विभिन्न समस्या झेल्नुपर्ने स्थिति छ। पसिनाको कमाइमा विश्वास गर्नेका लागि समय सजिलो छैन।

छिमेक सम्बन्ध सकारात्मक बन्नेछ : चुडामणि गौतम राज्य व्यवस्थादेखि लिएर सबै क्षेत्रमा नयाँ परिस्थिति सिर्जना हुने देखिन्छ। धेरै युवाहरु विदेश गइरहेका छन्। क्रमश : यो दर घट्दै जाने देखिन्छ। युवामा राष्ट्रभक्तिको भाव बढ्ने देखिन्छ। तर पशुपन्छी र चौपायाको कारोबार र व्यवसायमा हानीनोक्सानी हुनेछ। आयातीत सामानाको मूल्य बढ्नेछ।

युवामा राष्ट्रभक्तिको भाव बढ्ने देखिन्छ। तर पशुपन्छी र चौपायाको कारोबार र व्यवसायमा हानीनोक्सानी हुनेछ।

लामो समयदेखि घाटामा रहेको शेयर बजार विस्तारै सुधार हुँदै जाने छ। छिमेकी देशसँगको सम्बन्ध वर्षभर नै सकारात्मक रहिरहने छ। कला तथा साहित्यका क्षेत्रमा क्रमिक रुपमा सुधार हुँदै जानेछ।

प्राकृतिक प्रकोपको सामना गर्नुपर्छ : बिक्रम घिमिरे २०२४ मा अत्यधिक गर्मी बढ्छ। अहिले हिउँदे वर्षा नहुनुको लक्षण पनि त्यही हो। तर बेमौसमी वर्षाले बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपको सामना गर्नुपर्छ। बेमौसमी वर्षा, अतिवृष्टि, अनावृष्टि आदि प्रकोपका कारण देशको दक्षिणी भागमा फलफूल र बालीनालीमा नोक्सानी हुने सम्भावना छ।

कृषि तथा पर्यटनबाट देशले सहयोग पाउने छ। बाह्य पर्यटनको उल्लेख्य रुपमा उपस्थिति र कृषिमा आधुनिकीकरण हुने योग परेकाले आर्थिक रुपमा सुधार आउने योग छ। आमजनता हर्ष, आनन्द र खुसीको जीवनमा रमाउन पाउने सम्भावना छ।

राजनीतिक अवस्था अझै अस्थिर हुने देखिन्छ। नेतृत्वमा युवा अग्रसर हुने सम्भावना छ।

सानातिना भूकम्पका धक्का झेलिरहनु पर्ला। राजनीतिक अवस्था अझै अस्थिर हुने देखिन्छ। नेतृत्वमा युवा अग्रसर हुने सम्भावना छ। गत वर्षको तुलनामा सवारी दुर्घटना कम हुन्छ।

युद्धको जोखिम देखिन्छ : ‘चौरासीबाजे’ विश्वमा झैझगडा हुने स्थिति छ। रातो चन्द्रमा देखिन्छ। यसले युद्ध गराउँछ। प्राकृतिक विध्वंश भन्दा धेरै मानवीय लडाइँ हुने देखिन्छ। सत्ताधारीमा बेमेल देखिए पनि समग्रमा यो वर्ष आमजनताका लागि सकारात्मक नै रहने देखिन्छ।

आममानिस पूजापाठ, धर्मकर्म र परोपकारका मार्गमा लाग्नेछन्। मंगल शुभ भावमा रहनाले शान्ति सुरक्षाको स्थितिमा सुधार आउनेछ। नेपाली जनताले शान्तिको सास फेर्न पाउने छन्। आर्थिक संकट राजा शनिका कारण विस्तारै सुधार हुँदै जाने छ। बाह्य देशको सहयोग पूर्णरूपमा प्राप्तिको योग वर्षभर नै बनिरहनेछ।