समाचार

संसदीय गतिविधिलाई प्रभावकारी र व्यवस्थित बनाउने प्रण गर्न जरुरी : सभामुख घिमिरे

By खबरहब

February 05, 2024

काठमाडौं – सभामुख देवराज घिमिरेले संसदको चालू अधिवेशनबाट मुलुकलाई आवश्यक कानून निर्माण गर्ने कुराको प्रण गर्न जरुरी देखेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण थलो भएका कारण संसदीय गतिविधिहरुलाई थप प्रभावकारी र व्यवस्थित बनाउने प्रण गर्न जरुरी देखेको बताएका हुन् ।

विगतका दुई अधिवेशनमा संसद नियमावलीको निर्माण तथा विषयगत समितिहरुले पूर्णता पाएसँगै संसदीय गतिविधिहरु क्रियाशील र जीवन्त हुँदै गएको महसुस गरेको भन्दै उनले ऐन निर्माणमा संख्यात्मक नतिजा प्राप्त हुन नसके पनि एक वर्षको बीचमा पर्याप्त गृहकार्य भएको बताए ।

चालू अधिवेशनमा मुलुकलाई आवश्यक कानून निर्माण गर्ने र संसदीय गतिविधिहरुलाई थप प्रभावकारी र व्यवस्थित बनाउने प्रण गर्न जरुरी देखेको र राष्ट्रका साझा मुद्दाहरुमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको एकतालाई निरन्तरता दिनुपर्ने सभामुखको भनाई छ ।