काठमाडौं– नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरानो गठबन्धन तोडेर नयाँ गठबन्धन बनाउनु सामान्य नभएको बताएका छन् । उनले सोमबारको घटनामा असन्तुष्टि जनाएका छन् ।
राजनीतिमा गठबन्धन बन्नु, तोडिनु र फेरि बन्नु सामान्य भएतापनि हिजोको घटना सामान्य नभएको बताए। उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै कमजोर, अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन नेपाली कांग्रेसलाई महङ्गो सावित भएको बताए।
उनले लेखेका छन् ‘राजनीतिमा गठबन्धन बन्नु, तोडिनु र फेरि बन्नु सामान्य हो तर हिजोको घटना सामान्य होइन। कमजोर, अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन आज नेपाली कांग्रेसलाई महङ्गो सावित भयो। यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि ? भविष्यको लागि सजग बनौँ ।’