राजनीति

मधेसमा अरू दलले सरकारको दाबी गर्नु सिंहदरबार मेरो हो भन्नु जस्तै हो : मनिस सुमन

By खबरहब

March 05, 2024

काठमाडौं– जनता समाजवादी पार्टी जसपाका प्रवक्ता मनिस सुमनले मधेस प्रदेशमा आफ्नो सरकार सुरक्षित रहेको बताएका छन् ।

उनले वर्तमान सत्ता गठबन्धनका चार दलले नै मधेसमा आफ्नो सरकार सुरक्षित गर्ने सहमति जनाएको समेत दाबी गरे ।

पछिल्लो समय जनमत पार्टी पनि सत्ता गठबन्धनमा गएर केही समय मधेसको मुख्यमन्त्रीको दाबी गरेको कुराहरू बाहिर आएका छन् । यसैबीच सुमनले जो आए पनि आफूहरू सुरक्षित भएको बताउँछन् ।

उनी भन्छन्, ‘मधेसमा अरू दलले सरकारमा दाबी गर्नु सिंहदरबार मेरो हो भन्नु जस्तै हो ।’

मधेसमा जसपाको १९ प्रदेश सांसद छन् । यस्तै जनमतको १३ छन् । त्यहाँ एमालेको २४ सांसद छन् । १०७ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २२, माओवादी केन्द्र र लोसपाका ९–९, एकीकृत समाजवादीका ७ सांसद छन् ।

मधेसमा सत्ता गठबन्धनबाट ५२ सांसद छन् । मधेसको सरकारबाट कांग्रेस बिदा भए मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनुपर्ने हुन्छ ।

लोसपा र एकीकृत समाजवादी सत्ता गठबन्धनमा सामेल नभए यादवले नयाँ सरकार गठन गर्न सक्दैनन् । किनकि यहाँ सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ ।