अन्य

पालिकाको नामबाट ‘रङ्गेली’ फिल्म बनेकामा मेयर अग्रवाल खुसी

By खबरहब

March 05, 2024

काठमाडौं– मोरङको रङ्गेली नगरपालिकाका मेयर दीलिपकुमार अग्रवालले चलचित्र ‘र‌ङ्गेली’ लाई सफलताको शुभकामना दिएका छन् । सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै उनले आफूले नेतृत्व गरिरहेको नगपालिकाको नामबाट फिल्म बनेकाले खुसी व्यक्त गरेका छन् ।

मेयर अग्रवालले फागुन २५ गते प्रदर्शनमा आउन सो फिल्मलाई सफलताका शुभकामना समेत दिएका छन् । उनले रङ्गेलीलाई फिल्मले चर्चामा ल्याएकाले निर्माण पक्षलाई धन्यवादसमेत दिए ।

केही दिन पहिले सोही नगरपालिकाको स्वीकृती पत्र चाहिने भन्दै केन्द्रीय चलचित्र जाँच समिति सेन्सर बोर्डले प्रमाणपत्र नदिएको खबर मिडियामा सार्वजनिक भएपछि व्यापक विरोध भएको थियो । यद्यपि, बोर्डले पत्र बिना नै आइतबार यो चलचित्रलाई पीजी प्रमाणपत्र प्रदान गरेको छ ।

‘रङ्गेली’ मा अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । यसमा दयाहाङको साथमा मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुजजङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह–निर्माता हुन् ।

यस्तो छ मेयरको भिडियो सन्देश-