खेलकुद

घरेलु मैदानमा क्रिकेट : परिणाम कम, सिकाइ बढी

By खबरहब

March 05, 2024

काठमाडौं– माघ अन्तिम साता नेपाली क्रिकेट टिमले क्यानडासँग तीन अन्तर्राष्ट्रिय एक दिवसीय श्रृङ्खला क्लिनस्वीप गर्यो । सन् २०२७ को एक दिवसीय विश्वकप क्रिकेट छनोटको रोडम्याप रहेको आईसीसी लिग–२ को तयारी स्वरुप भएको श्रृङ्खला क्लिनस्वीपले नेपाली टोलीको मनोबल उच्च थियो ।

यो मात्र होइन् सन् २०२२ नोभेम्बर यता नेपाल त्रिवि क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय एक दिवसीयमा पराजित भएको थिएन । त्यसमा आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतका अन्तिम १० खेल पनि समावेश थिए ।

घरेलु मैदानमा लिग–२ को औपचारिक शुभारम्भ गर्दै गर्दा नेपाली क्रिकेट टिमको लक्ष्य बलिया प्रतिद्वन्द्वीहरु नेदरल्याण्ड्स र नामिबियासँग अघिल्ला खेलकोजस्तै नतिजा दोहोर्‍याउने थियो । प्रशिक्षक मोन्टी देसाईले पनि लिग–२ मा नेपालले उत्कृष्ट सुरुवात गर्न चाहेको बताउँदै आएका थिए । नतिजा भने नेपालले सोचेको भन्दा फरक आयो ।

लिग-२ को त्रिदेशीय सिरिजमा ४ खेल खेलेको नेपालले नतिजा भने एक खेल मात्र आफ्नो पक्षमा पार्न सफल भयो । नेपालले नेदरल्याण्ड्ससँग एक खेलमा शानदार जित निकाले पनि नामिबियासँगका दुई र नेदरल्याण्ड्ससँगको अर्को एक खेलको नतिजा विपक्षी टिमलाई सुम्पियो । नेपालका तीनै हारमा ब्याटिङ चलेन ।

लिग-२ का तीन खेल गुमाएपछि नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले योजना अनुसार नतिजा पक्षमा पार्न नसकेको बताए । प्रशिक्षक मोन्टी देसाई उत्कृष्ट खेलका बाबजुद पनि नतिजा पक्षमा पार्न नसकेको भन्दै आउँदा खेलमा अनुकूल नतिजा निकाल्ने गरी तयारी गर्ने प्रतिक्रिया दिए ।

लिग-२ को पहिलो सिरिजमा नेपालले ब्याटिङ लाइनमा धेरै प्रयोग गर्‍यो भने बलिङमा पनि केही नयाँ खेलाडीलाई अवसर प्रदान गरेको थियो ।  घरेलु मैदानमा तुलनात्मक कमजोर टिम क्यानडासँगको जितले लिग-२ मा प्रभावशाली नतिजा निकाल्न नेपाल असफल भयो । क्यानडासँगको सिरिज अघि नेपालले प्रभावकारी तयारी गर्न सकेको थिएन ।

झण्डै एक महिना चलेको प्रधानमन्त्री कपको प्रदर्शनका आधारमा खेलाडीको छनौट गरिएको थियो । लिग-२ अघि नेपालका मुख्य प्रशिक्षक देसाईले लिग-२ मा नामिबियासँगको खेल छाडेर दीपेन्द्रसिंह ऐरीलाई टी-२० विश्वकप तयारीको लागि भन्दै यूएई क्रिकेट बोर्डले आयोजना गर्ने इन्टरनेशनल लिग खेल्न पठाएका थिए ।

खराब ब्याटिङ, भद्रगोल लाइनअप

नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपको औपचारिक तयारीस्वरुप नेदरल्याण्ड्स र नामिबियासँग त्रिदेशीय सिरिज खेल्यो । नेपाल, नामिबिया र नेदरल्याण्ड्सबीचको टी-२० सिरिज नेदरल्याण्ड्सले जितेको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनल भिडन्तमा नेदरल्यान्ड्सले नेपाललाई ४ विकेटले पराजित गर्‍यो।

लगातारको हारलाई छाडेर नेपालले उत्कृष्ट पुनरागमन गर्दै नामिबिया र नेदरल्याण्ड्समाथि जित निकाल्यो र सिरिजको फाइनल पुग्ने पहिलो टिम बन्यो । फाइनलमा भने सोचे अनुरुप प्रदर्शन नहुँदा नेपालले घरेलु मैदानको सिरिज नेदरल्याण्ड्सलाई सुम्पियो ।

फाइनलमा पराजित भएपछि नेपालका प्रशिक्षक देसाईले पहिलो इनिङ्ग्सको मिडल अडरमा लगातार विकेट गुमाएकाले २ सय रन कटाउने लक्ष्य पूरा गर्न नसकेको बताए । आफ्नो योजना मैदानमा लागू गर्न नसक्दा टिम दबाबमा परेको मोन्टीको भनाइ थियो ।

नतिजालाई लिएर देसाई असन्तुष्ट भने देखिएनन् । उनले भने, ‘अब हामीलाई आफ्नो योजना मैदानमा लागू गर्न यो अनुभवले सहयोग गर्छ, हामीले नेदरल्याण्ड्ससँग राम्रै प्रतिस्पर्धा गर्‍यौं। नेदरल्याण्ड्स पनि ठूला टिमलाई हराएको टिम हो ।’

१०-१५ रन कम हुँदा अनुकूल नतिजा नआएको कप्तान पौडेलको प्रतिक्रिया थियो । नामिबिया र नेदरल्याण्ड्सविरूद्धको सुरूवाती दुई खेलमा राम्रो ब्याटिङ गरे पनि फिनिसिङ गर्न चुकेजस्तै मंगलबार पनि नेपालले त्यस्तै खेलेको उनले बताए । सिरिजमा पावर प्ले र डेथ ओभरमा नेपालले राम्रो बलिङ गर्न नसकेको बताउँदै यसबाट अनुभव मिलेको उनको भनाइ थियो ।

नेपाली क्रिकेट टिममा डेथ ओभरमा राम्रो बलिङ गर्ने अविनास बोहरा यो सिरिजमा चल्न नसकेनन् । १७ औं ओभरमा गरेको महँगो बलिङका कारण नेपालले सिरिज गुमाउन पुगेको थियो ।

त्यसो त यो सिरिजमा पनि नेपालको ब्याटिङ र बलिङमा धेरै प्रयोग भएको थियो । जसले टिमको नतिजामा प्रभाव पारेको स्पष्ट देखिएको छ । लिग-२ देखि टी-२० सिरिजसम्म नामिबियाले टिममा कुनै परिवर्तन गरेको थिएन । नेदरल्याण्ड्सले केही खेलाडी परिवर्तन गर्दा नेपालको टिममा भने व्यापक परिवर्तन गरिएको थियो ।

व्यस्त तालिका

नेपालले आईसीसी विश्वकप २०२४ को तयारी स्वरूप हङकङमा त्रिकोणात्मक सिरिज खेल्दैछ। मार्च १० देखि १३ सम्म टि-२० आई त्रिकोणात्मक सिरिजको खेल हुनेछ । नेपाल र हङकङले मार्च १० मा खेल्दा मार्च १२ मा पीएनजीले नेपाल र हङकङ दुवैसँग खेल्नेछ । मार्च १३ मा फाइनल हुनेछ । लिग तालिकामा तेस्रो हुने टोलीले हङकङ ए सँग टि-२० खेल खेल्नेछ ।

त्यसपछि नेपालको सिनियर टोलीले घरेलु मैदानमा आयरल्यान्ड वल्भ्ससँग २ खेल खेल्नेछ । त्यसपछि नेपाल ‘ए’ ले ३-३ टि २० र एकदिवसीय खेल्नेछ । सिनियर टोली त्यसपछि भारतमा गुजरात र बरोडासँग त्रिकोणात्मक सिरिज खेल्न जानेछ । लगत्तै ओमानमा एसीसी मेन्स प्रिमियर कप आयोजना हुनेछ ।

जुनमा भने नेपाल विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज जानेछ । आईसीसी टी-२० विश्वकप २०२४ मा नेपाल समूह ‘डी’ मा परेको छ । यो समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्यान्ड्स, नेपाल रहेका छन् । विश्वकपको पहिलो खेलमा नेपालले जुन ४ मा नेदरल्याण्ड्ससँग खेल्नेछ । नेपालले श्रीलंकाविरूद्ध जुन ११, दक्षिण अफ्रिकीविरूद्ध जुन १५ मा र बंगलादेशविरूद्ध जुन १६ मा खेल्नेछ ।