स्टोरी

‘पब्लिक फिगर’ माथि नपखालिने दाग

By सीता न्यौपाने

April 05, 2024

काठमाडौं– नेकपा एमालेका नेता, पूर्वसञ्चारमन्त्री एवं कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राई स्मार्ट युवा नेता हुन् । हाल उनले बिहेबारी र घरजमसमेत गरिसकेका छन् । परिवारसँग खुशीसाथ जीवन बितिरहेको छ ।

विवाह हुनु अघिदेखि नै एमाले नेता राईमाथि एमालेकै एक कार्यकर्ताले यौनजन्य हिंसाको आरोप लगाइन् । अहिलेसम्म उनलाई सामाजिक सञ्जालमा यो आरोपले लखेटिरहन्छ । न यो विषय अदालतबाट छिनोफाने हुने स्थिति छ, न एमाले पार्टीले नै विवादको निरुपण गर्न सकेको छ ।

नेकपा एमालेकै कार्यकर्ता दोलखाकी बालिका खड्काले आधा अंश माग गरेर जिल्ला अदालत काठमाडौंमा ०७६ मा मुद्दासमेत दायर गरिन् । राईले आफूमाथि यौन दुव्र्यवहारको प्रयास गरेको खड्का आरोप छ ।

बालिकाले राईलाई २०७१ सालदेखि चिनेको बताएकी छन् । जतिबेला राई नेकपा एमालेका वैकल्पिक पोलिटब्युरो सदस्य थिए भने बालिका युवा संघ नेपालको केन्द्रीय सदस्य र महिला युथ फोर्सको केन्द्रीय सचिव थिइन् ।

राई सूचना तथा सञ्चारमन्त्री हुँदा आफूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निजी स्वकीय अधिकृतका रूपमा काम गरेको बालिकाले जनाएकी छन् । २०७८ सालमा मुख्यमन्त्री राई सहभागी भएको एमालेको कार्यालय थापाथलीको गेटमै गएर उनले गाली गलौज गरिन् । खड्कालाई मुख छाडेको भन्दै प्रहरीले पक्राउसमेत गरेको थियो ।

पूर्वमुख्यमन्त्री शेरधन राई

शेरधन राईसँग आफू ‘लिभिङ टुगेदर’ मा बसेको बालिकाको दाबी छ । तर, उनको दाबी अदालत या पार्टीको आन्तरिक अनुसन्धानबाट स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

तथापि एमाले नेता राईलाई यो प्रकरणले एक दशकदेखि लखेटिरहेको छ । उनले आफूलाई बिचल्ली बनाएको बालिकाले आरोप लगाउन छाडेकी छैनन् । तर, यो प्रकरणबारे नेकपा एमाले मौन छ । राईले गरेको छानविनको मागसमे पार्टीले सुनुवाई गरेको देखिँदैन । शेरधन र बालिका दुबैले आफूहरु अन्यायमा परेको गुनासो गर्दै आएका छन् ।

महेश बस्नेत र शोभा पाठक

धादिङ, ज्वालामुखी– ७ की शोभा पाठक ‘जानुका’ले आफू एमाले नेता महेश बस्नेतबाट असुरक्षित भएको बताउदै आएकी छन् । नेकपा एमालेका नेता तथा पूर्वउद्योगमन्त्री बस्नेतले आफूलाई मार्ने धम्की दिएको भन्दै उनी मिडियामा रुँदै प्रस्तुत भएकी छन् ।

एमालेकै कार्यकर्ता रहेकी शोभा युवा संघकी केन्द्रीय सदस्य हुन् । महेश युवासंघका पूर्वअध्यक्ष हुन् । महेशले नै आफूलाई केन्द्रीय सदस्य बनाएको उनको दाबी छ । शोभाले पाँच वर्षदेखि बस्नेतसँग सम्बन्धमा रहेको खुलाएकी छन् ।

एमाले नेता महेश बस्नेत

केही समय अगाडि उनीहरुको एउटा टिकटक क्लिप सामाजिक सञ्जालमा भाइरल भएको थियो । तर, त्यसलाई महेशले आफू नभएको र आफूलाई बदनाम गर्ने षड्यन्त्र भएको प्रतिक्रिया दिएका थिए । सोसल मिडियामा देखिने भिडिओ एटिड गरेर अनुहार आफ्नो हालेर दुरुपयोग गरेको महेशको जिकिर छ ।

शोभाले पनि आफू महेशबीच नेता–कार्यकर्ताको सम्बन्ध मात्र भएको बताएकी थिइन् । तर अहिले उनै शोभा आफूलाई महेशले मार्ने धम्की दिएको भन्दै हिँडेकी छन् । शोभाले केही साता पहिले आफूमाथि फ्ल्याटमै आएर केही युवकले कुटपिट गरी मोबाइलसमेत खोसेर लगेको बताएकी छिन् ।

विवाहित रहेका बस्नेतसँग आफू पाँच वर्षदेखि सम्बन्धमा रहेको शोभाले बताएकी छन् । बस्नेतले आफ्रनो घर परिवार सबै जिम्मा लिने भनेर आफू सम्बन्धमा रहेको उनको दाबी छ ।

बस्नेतमाथि यति ठूलो सांस्कृतिक विचलनको आरोप लाग्दा समेत नेकपा एमाले पार्टी मौन छ । पार्टीले शेरधन राईको प्रकरणमा जस्तै यो प्रकरणलाई पनि बेवास्ता गर्दै आएको छ ।

ऐन महरको अर्को प्रकरण

पछिल्लो समय एमालेका युवा नेता ऐन महरले आफूमाथि अन्याय गरेको भन्दै एक महिला रोइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

एमालेका युवा नेता ऐन महर

नेकपा एमालेका केन्द्रीय सदस्य एवं अनेरास्ववियूका पूर्वअध्यक्ष महरसँगको एक संवाद अडियो केही समय अगाडि सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । महर र एकजना विवाहित महिलाका बीचमा भएको भनिएको ‘यौन सम्बन्धी विवाद’ सामाजिक सञ्जालमार्फत बाहिरिएको हो ।

ती महिलाले दुईजनो बीच शारीरिक सम्पर्क भएपछि आवश्यक औषधी किन्न महरले आनाकानी गरेको भन्दै आक्रोश पोखेको अडियोमा सुन्न सकिन्छ । आफूसँग सबन्धमा रहेकी भनिएकी महिलाले ‘बर्बाद पार्छु’ भनेपछि महरले परिस्थितिलाई साम्य बनाउन सो संवाद गरेको देखिन्छ ।

सार्वजनिक भएको अडियोमा महरले ती महिलासँग सम्बन्ध रहेको तर आगामी दिनमा परिवारसँग मिलेर बस्न र आफ्ना पतिसँग ‘डिभोर्स’ नगर्न सुझाएका छन् । संवादको बीचैमा अडियो रेकर्ड गरेकोबारे महिलालाई शंका गरेका महरले ती महिलाले आफूलाई प्रयोग गर्न खोजेको आरोप लगाएको पनि अडियोमा सुनिन्छ ।

एमाले नेता महरले आफ्ना विरुद्ध लागेकाहरूले योजनाबद्ध रूपमा नक्कली अडियो बाहिर ल्याएको भन्दै कानुनी उपचारमा जाने बताएका छन् । सो अडियोमा महिलाले घटना सार्वजनिक गर्न खोजेपछि ऐनले दबाब र धम्की दिएको आरोप लगाइएको छ ।

श्रीमानसँग सम्बन्ध बिग्रिएको समय उनी महरसँग नजिक भएकी थिइन् । आफू विवाहित रहे पनि सुरुमा महर विवाहित भएको कुरा आफूलाई जानकारी नभएको उनको तर्क छ । २०७९ मंसिरमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा बझाङबाट उम्मेद्धार बनेका महर नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशीसँग पराजित भएका नेता हुन् ।

प्रेस काउन्सिलकै अध्यक्षमाथि पनि आरोप

सञ्चारमाध्यमहरुले आचार संहिता पालना गरे, नगरेको अनुगमन गर्ने पत्रकारहरुको नियामक निकाय प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतमाथि समेत एक युवतीले यौन हिंसाजन्य व्यवहार गरेको आरोप लगाइन् । एक किशोरीले बस्नेत विरुद्ध अस्वाभाविक ढंगबाट म्यासेञ्जरमा कल र म्यासेज पठाएको आरोप लगाएकी थिइन् । बस्नेतले आफ्नो फेसबुकमा प्राविधिक समस्याले उक्त म्यासेज गएको स्पष्टीकरण दिएका थिए । किशोरीले नै आफूलाई पहिले कल र म्यासेज गरेको बस्नेतको तर्क थियो । पछि युवतीले गल्ती स्वीकार गरेर माफी मागेको बस्नेतको भनाइ छ ।

प्रेस काउन्सिलका अध्यक्ष बस्नेत यसरी व्यक्तिमाथि कसैले आरोप लगाएको अवस्थामा सत्य हो कि हैन भनेर यकीन नगरी मिडियामा समाचार आउँदा त्यसले व्यक्तिमाथि पुर्ताल नै हुन नसक्ने गरी क्षति हुने बताउँछन् । त्यसैले तथ्यपरक र सन्तुलित भएर मात्रै यस्तो विषयमा समाचार बन्नुपर्ने उनी बताउँछन् ।

समयमै विवाद निरुपण नहुँदा दुबैतर्फ सास्ती

माथिका घटनामा सबै पुरुषहरुले आफूमाथि लागेको आरोप निराधार भएको बताउँदै आएका छन् । आरोप लाग्दैमा कोही व्यक्ति अपराधी भैहाल्ने पनि होइन । तर घटनाबारे पार्टी आरोपितलाई स्पष्टीकरणसम्म नसोध्ने परिपाटीले गर्दा दुबैतर्फका व्यक्तिहरु मारमा परेको देखिन्छ ।

कुनै समय एमाले नैतिकवान पार्टीको रुपमा चिरपरिचत थियो । महिलालाई सम्मान गर्ने पार्टी मानिन्थ्यो । महिलाहरुले उक्त पार्टीमा आफूलाई सुरक्षित पाउँथे । के अहिले पार्टीभित्रै महिला कार्यकर्ताहरु असुरक्षित देखिएका हुन् ? यस्तो प्रश्न पनि एमालेलेभित्र उठ्न थालेको छ ।

एमाले सांसद विद्या भट्टराई

एमाले सांसद विद्या भट्टराई आरोप लागेकाहरुलाई अनुसन्धानको दायरमा ल्याउनुपर्ने बताउछिन् । उनी भन्छिन्, ‘यो विषयमा एक व्यक्तिले बोल्ने भन्दा पनि सम्बन्धित निकायले हेर्ने विषय हो ।’

उनी अगाडि भन्छिन्, ‘एमाले पार्टीको अनुशासन आयोग छ, त्यहाँ उजुरी दर्ता हुन्छ । यो पूर्ण अनुशासनसँग जोडिएको विषय हो । आरोप लागेका व्यक्तिलाई स्पष्टीकरण सोध्ने वा दोषी ठहर भएमा कारवाहीको दायरामा ल्याउने काम आयोग हो ।’

माथि चर्चा गरिएका विवादमा पार्टीको अनुसन्धान आयोगले छानविन गरिरहेको भट्टराईको दाबी छ । ‘आयोगले त्यो काम गरिरहेको छ भन्ने हामीलाई लागेको छ’, उनले खबरहबसँग भनिन्, ‘हामीसँग कानुन छ, आफूमाथि अन्याय भएको छ भने उजुरी गर्न सक्छ । पार्टीभित्र यस्ता घटनालाई छलफलको विषय मात्रै बनाउने भन्दा पनि सम्बन्धित निकायले हेर्ने हो ।’

पार्टीभित्रको व्यक्तिलाई आरोप लाग्दा त्यसले सिङ्गो पार्टीलाई असर गर्ने भट्टराई बताउँछिन् । उनी भन्छिन्, ‘त्यसकारण पार्टीभित्र आचरणको विषय अनुशासन आयोगले अनुसन्धान गर्छ ।’

यौन शोषण वा हिंसा महिलाको मात्रै विषय नभएको बताउँदै उनी भन्छिन्, ‘हिंसा भन्ने बित्तिकै महिलाले बोल्ने र पुरुष चुप लाग्ने होइन, ‘एमालेका पुरुष नेताहरुले पनि आफ्नो पार्टीको नेताको आचरणमाथि प्रश्न उठेपछि त्यसको अनुसन्धानका लागि पहल गर्नुपर्ने कर्तव्य हुन्छ ।’

त्यसैगरी हिंसाको विषय एमाले पार्टीकाले मात्रै उठाउने नभएर यौन शोषणको आरोप लागेको व्यक्तिमाथि छानविनको माग हरेक पार्टीका नेताहरुले गर्नुपर्ने भट्टराइको भनाइ छ । पूर्वमन्त्री डा. विमला राई पौडेलले पछिल्लो समय अन्यायमा को पर्यो भन्ने नै छुट्याउन मुस्किल भएको बताइन् । उनले प्रतिप्रश्न गरिन्, ‘एमालेजस्तो जुझारु पार्टीका कार्यकर्ता आफू अन्यायमा पर्न सक्ने अवस्थाको ज्ञान हुँदैन ?’

पूर्वमन्त्री डा. विमला राई पौडेल

यौन शोषण र हिंसाको सवालमा नेकपा एमाले पार्टीको शुन्य सहनशीतला नीति भएको राई बताउँछिन् । ‘बोल्नै नसक्ने र न्यायका लागि पहल गर्नै नसक्नेहरुका लागि हामी आवाज बनिदिने हो, उनले भनिन्, ‘उहाँहरु पार्टीकै कार्यकर्ता हुनुुहन्छ ।’

पीडितहरु र समाजमा पछि परेकाहरुका लागि काम गर्छु भनेर पार्टीमा आएकाहरु कम्तिमा आफ्नो अन्यायका लागि आफै बोल्न सक्छन् भन्नेमा आफू विश्वस्त रहेको राईले खबरहबलाई बताइन् ।

उनले प्रतिप्रश्न गरिन्, ‘मिडियाले न्याय दिने हो ? न्याय माग्न मिडियामा रुन जाने हो ? न्यायका लागि कहाँ जाने भन्ने कुरामा उहाँहरु स्पष्ट हुनुुहन्छ र पनि सम्बन्धित ठाउँमा नगएर कहाँ जानु भएको हो ?’

अन्यायमा परें भन्ने कार्यकर्तालाई लागेको भए छानविन गर्ने पार्टीको आफ्नै अनुशासन विभाग छ, त्यहाँ जान पौडेलको सुझाव छ ।