देश/प्रदेश

सयको नोटमा चुच्चे नक्साबारे भारतको असन्तुष्टि

By खबरहब

May 05, 2024

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा राख्ने निर्णय गरेपछि भारतका विदेशमन्त्री एस जयशंकरले असन्तुष्टि व्यक्त गरेका छन् । ।

भारतीय मिडियाहरूका अनुसार विदेशमन्त्री जयशङ्करले सीमा विवादको विषयमा वार्ता गरिरहेको बेलामा एकपक्षीय रूपमा प्रक्रिया अगाडि बढाएर धरातलीय यथार्थ परिवर्तन नहुने टिप्पणी गरेका छन् ।

इण्डियन एक्सप्रेसले जयशङ्करलाई उदृत गर्दै लेखेको छ– ‘मैले त्यो रिपोर्ट देखेँ । यसलाई मैले विस्तृत रूपमा हेरिनँ । मलाई लाग्छ हाम्रो अडान धेरै प्रष्ट छ । नेपालसँग हाम्रो सीमाबारेमा हामी स्थापित मान्यताअनुसार कुरा गरिरहेका छौँ । यसको बीचमा एकतर्फी रूपमा केही प्रक्रिया अघि बढाएका छन् । तर, उनीहरूको तर्फबाट गरिने कामले हामीबीचको धरातलको यथार्थ र हामीबीचको अवस्थालाई परिवर्तन गर्दैन ।’

गत विहीबार बसेको मन्त्रिपरिषद बैठकले एक सय रुपैयाँको नोटमा चुच्चे नक्साको तस्बिर राख्ने निर्णय गरको थियो ।

२०७७ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायतका भूभाग समेटिएको राजनीतिक तथा प्रशासनिक नयाँ नक्सा जारी गरेको थियो ।