अन्तर्वार्ता

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

By ज्ञानु घिमिरे

May 05, 2024

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ । विभाजनको पक्षमा रहेका ७ जना संसद् र ३० जना केन्द्रीय सदस्यहरू आइतबार निर्वाचन आयोग पुगेका छन् । उनीहरूले जनता समाजवादी पार्टी दर्ताका लागि निवेदन दिएका छन् । यसै सन्दर्भमा नयाँ पार्टीको पक्षमा उभिएका वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीसँग खबरहबले कुराकानी गरेको छ ।

एक्कासि पार्टी विभाजन गर्नुभयो त ? सबैलाई सरप्राइज दिनुभयो नि ?

यस्तै भयो । पार्टीमा एकलौटी र अस्थिरताको खेल सुरु भएपछि जनताको पक्षमा रहेका नेताहरू चुप लागेर बस्न सकेनौँ । हतार-हतार देखिए पनि तयारीमा थियौँ । हामीलाई यो कदमबाट कुनै पछुतो छैन ।

किन पार्टी विभाजन गर्नुभएको ?

हामीले पटक–पटक सरकारको स्थायित्वबारे कुरा गरेका थियौँ तर नेतृत्वले त्यता ध्यान नदिएपछि हामीसँग अर्को विकल्प थिएन । हामीले निर्वाचन आयोगमामा दल दर्ताका लागि निवेदन दिइसकेका छौँ ।

उपेन्द्र यादव विदेश हुनुहुन्छ, यहीबेला किन पार्टी विभाजन गर्नु भएको ?

आजको दुनियाँ साँघुरो भएको छ । संसारबाट पनि एक मिनेटमा कुरा हुन्छ र सबै कुरा जानकारी हुन्छ । सरकारलाई स्थिरता दिन हामीले पार्टी विभाजन गरेका छौँ । उहाँहरूसँग हाम्रो कुरा मिलेन । उहाँको राजनीति चरित्रबाट असन्तुष्ट भएर हामी ७ जना साथीहरूले छुट्टै जसपा पार्टी बनाएका हौँ ।

उपेन्द्र यादव सरकारको विरोधमा ठूलो षडयन्त्र गर्दै हुनुहुन्थो । त्यो षडयन्त्रमा हामीलाई फस्नु थिएन । केही मान्छेहरूसँग मिलेर षडयन्त्रको तयारी थियो- मन्त्री साह

मन्त्री उपेन्द्र यादवचाहिँ वर्तमान सरकारको विपक्षमा हुनुहुन्थ्यो ?

हो , उहाँ सरकारको विरोधमा ठूलो षडयन्त्र गर्दै हुनुहुन्थो । त्यो षडयन्त्रमा हामीलाई फस्नु थिएन । केही मान्छेहरूसँग मिलेर षडयन्त्रको तयारी थियो ।

यहाँले केही मान्छे भनेको माधव नेपाल हो ?

त्यो कुरा म अहिले गर्न सक्दिनँ । हामीले छुट्टै पार्टी बनायौँ । अब के भन्नु र यहाँहरूलाई थाहा नै छ ।

यहाँहरू एमाले र माओवादीको पक्षमा हो ?

होइन, हामी जनताले दु:ख पाएकाले स्थायी सरकारको पक्षमा हो । अशोककुमार राईको अध्यक्षतामा म, हसिना खान, रञ्जु ठाकुर, प्रदीप यादव, वीरेन्द्र महतो र सुशीला श्रेष्ठले विद्रोह गरेका हौँ । अन्य साथीहरू पनि थपिनुहुन्छ । हामी पार्टी निर्माण प्रक्रियामामा छौँ ।

यहाँहरूको पक्षमा कति केन्द्रीय सदस्यहरू हुनुहुन्छ ?

हाम्रो पक्षमा ७० प्रतिशत पुर्‍याएका छौँ । सबै साथीहरू अडानमा हुनुहुन्छ । प्रलोभनमा लाग्नु हुन्न । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमानसिंह पनि नयाँ पार्टीमा हुनुहुन्छ ।

संख्या पनि दिनु न ?

अहिले सबै संख्या दिन मिल्दैन । आज ३० जना छौँ । अरू साथीहरू पनि हुनुहुन्छ । अरू साथीको छिट्टै नामसहित सार्वजनिक गर्छौं । निर्वाचन आयोगमा पनि बुझाउँछौँ । हेर्दै जानु, हाम्रो पार्टी कत्रो होला । विभाजनपछि निर्वाचन आयोगमा केन्द्रीय कमिटीका ३० जनाले निवेदन दिएका छौँ, जुन कुरा विज्ञप्तिमा पनि छ ।

विभाजन गर्नुअघि अध्यक्ष उपेन्द्र यादवलाई जानकारी दिनु भयो त ?

हामीले जरुरी ठानेका छैनौँ । पार्टी विभाजनका सयौँ कारण छन् । हामीलाई कमजोर ठानेपछि यसो गर्नुको विकल्प थिएन । नेतृत्वले एकलौटी निर्णय गरेपछि सहन सकिएन । समय भएपछि म सबैतिर भन्छु ।

प्रतिनिधि सभाका सबै सांसदलाई यसबारे जानकारी थियो ?

केहीले वास्ता गरेनन् । केहीले थाहा पाएर पनि नपाएझैँ गरे ।

विदेशमा रहेका उपेन्द्र यादवसँग अशोक राईको अन्तिम पटक कहिले कुरा भयो ?

यो थाहा भएन । मलाई लाग्छ यसको जानकारी उहाँलाई थियो । उहाँले हामीलाई कमजोर ठानेपछि आफैँ फस्नुभयो ।