समाचार

अस्पतालहरूलाई काठमाडौं महानगरको निर्देशन – आफ्नै औषधि पसल चलाउनू

By खबरहब

June 05, 2024

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रमा सञ्चालित सबै अस्पताललाई १५ दिनभित्र आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको छ ।

महानगरपालिकाको स्वास्थ्य विभागले आज एक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र सञ्चालित सबै अस्पतालहरूलाई अनिवार्य रुपमा आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको हो । हाल महानगर क्षेत्रभित्र सञ्चालित अधिकांश अस्पतालहरूले आफ्नो स्वामित्वमा औषधि पसल सञ्चालन गरेका छैनन् ।

अस्पतालहरूले अन्य व्यक्तिहरूलाई औषधि पसल सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ताहरू गुणस्तरीय फार्मेसी सेवाबाट बञ्चित भइरहेको महानगरपालिकाले ठहर गरेको छ ।

साथै महानगरले २०७४ सालमा सर्वोच्च अदालतले अस्पतालहरूलाई आफ्नो स्वामित्वमा अनिवार्यरूपमा फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने भनेर गरेको आदेशको पनि स्मरण गराएको छ ।