देश/प्रदेश

‘जल समाधि लिँदैछु’ भन्दै घरबाट हिँडेका प्राध्यापक तिम्सिना दुई दिनदेखि बेपत्ता

By खबरहब

July 05, 2024

सुनसरी : प्राध्यापक एवम् समालोचक डा. रामजी तिम्सिना दुई दिनदेखि बेपत्ता भएका छन् ।

सुनसरीको इटहरी निवासी डा. रामजी तिम्सिना बुधबार बिहान घरबाट अचानक निस्किएयता अवस्था खुल्न सकेको छैन ।

उनी त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक थिए । बुधबार बिहान घरबाट निस्किनुअघि छाडेको सन्देशअनुसार उनी तनावमा रहेको देखिन्छ ।

‘म बराहक्षेत्रमा जलसमाधि लिदैँछु । अलबिदा !’ उनले घरमा परिवारका सदस्यलाई एउटा पानामा यति सन्देश लेखेर हिँडेका थिए । तिम्सिनले उक्त पानामा ‘मिति २०८१-०३-१९ बुधबार बिहान ४:१८ बजे’ पनि लेखेका भेटिएको छ ।

तिम्सिनाले चिन्तामा पार्ने सन्देश लेखेर बेपत्ता भएपछि उनको परिवारले इलाका प्रहरी कार्यालय इटहरीमा खोजीका लागि निवेदन पनि दिएको छ ।

पारिवारिक श्रोतका अनुसार उनी घरका अन्य सदस्य उठ्नुअघि नै बुधबार बिहान सवा ४ बजेको समयमा निस्किएका थिए ।

आफूले कुनै पनि साधन नचलाउने उनी सार्वजनिक सवारी प्रयोग गरेर गन्तव्यमा आउने जाने गर्थे । उज्यालो नभई घरबाट हिँडेकाले उनी कहाँ पुगे, कता गए भन्ने अहिलेसम्म परिवारका सदस्यले जानकारी पाउन सकेका छैनन् ।

सह-प्राध्यापक तिम्सिना धरानस्थित महेन्द्र बहुमुखी क्याम्पस र इटहरीको कोशी कलेजमा पढाउने गर्थे । समालोचकका रुपमा राम्रो छवि बनाएका उनी बेपत्ता भएपछि साहित्य क्षेत्रका सर्जकले पनि चिन्ता व्यक्त गरेका छन् ।

उनी कोशी प्रदेशमा हुने साहित्यिकसहितका कार्यक्रममा भाग लिइरहन्थे । उनले विभिन्न समयमा प्रकाशित पुस्तक र अन्य विषयमा समालोचना गर्दै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले परिवारका सदस्यको निवेदन आएसँगै तिम्सिनाको खोजी भइरहेको बताएका छन् ।

बुधबार बेलुकासम्म उनी नफर्किएपछि प्रहरीले खोजी तीव्र बनाएको छ । रेग्मीका अनुसार उनको अवस्था अहिलेसम्म खुल्न सकेको छैन ।

उनले आफू जाने भनेको बराहक्षेत्र मन्दिर आसपासको सप्तकोसी क्षेत्रमा पनि खोजिएको प्रहरीले जनाएको छ । प्रहरीले उनी जाने भनिएको रुटको सीसीटीभी फुटेजको पनि अध्ययन गरिरहेको छ ।

तर अहिलेसम्म प्रहरीले तिम्सिनाबारे खास क्लु भेट्टाउन सकेको छैन । प्रहरी उपरीक्षक रेग्मीले सबै उपाय र प्रविधिको प्रयोग गरेर तिम्सिनाको अवस्था पत्ता लगाइने बताए ।