राजनीति

केन्द्रीय कमिटी अधुरै छाडेर एकीकृत समाजवादीमा शपथ (तस्बिरहरू)

By खबरहब

July 05, 2024

काठमाडौं- नेकपा एकीकृत समाजवादीको जारी दशौँ महाधिवेशनमा तीनजना पदाधिकारीसहित चयन भएका ९३ जना मात्रै केन्द्रीय कमिटी सदस्यहरूले मात्रै शपथ लिएका छन् ।

प्रज्ञा भवन कमलादीमा जारी १०औँ राष्ट्रिय महाधिवेशन हलमा ९३  जनाक नयाँ कमिटी घोषणा गरेर उनीहरूलाई शपथ पनि खुवाइएको हो ।

अध्यक्षमा माधवकुमार नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत भएका छन् । त्यस्तै ९३ जना केन्द्रीय सदस्य पनि तय गरिएको छ ।

तर एकीकृत समाजवादीको विधानमा २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी गठन गर्ने व्यवस्था छ । यद्यपि दशौँ महाधिवेशनमा केन्द्रीय कमिटी ३९९ सदस्यीय र पदाधिकारी २९ पुर्‍याउने गरी संशोधन प्रस्ताव राखिएको छ ।

नेताहरूबीच सहमति नजुटेपछि विधानअनुसारको बाँकी १८ पदाधिकारी चयन भएन । नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक शनिबार बसेर बाँकी नेताहरू छानेर केन्द्रीय कमिटीलाई पूर्णता दिने तयारी छ ।