खेलकुद

काभा भलिबल : आज नेपाल र माल्दिभ्स भिड्ने

By खबरहब

August 05, 2024

काठमाडौँ– सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगको अन्तिम खेलमा आज नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा दिउँसो सवा ३ बजे सुरु हुनेछ ।

नेपालले जारी प्रतियोगितामा ३ खेलबाट २ मा जित र एकमा हारसहित ६ अंक जोडेको छ । माल्दिभ्स भने यसअघिका तीनवटै खेलमा पराजित हुँदै उपाधि होडबाट बाहिरिसकेको छ ।

नेपाल र माल्दिभ्सको खेलअघि भारत र श्रीलंकाबीच पहिलो खेल हुँदैछ। प्रतियोगिताको सेमिफाइनलमा आयोजक नेपालसहित भारत, इरान र श्रीलंका पुगिसकेका छन् भने आजका खेलले सेमिफाइनलको समीकरण तय गर्नेछ ।

आज नेपालले जितेर भारतले हारेको अवस्थामा नेपाल शीर्षस्थानमा पुग्नेछ । जारी लिगमा इरान ७ अंकसहित शीर्ष स्थानमा छ । ७ अंक नै भएको भारत दोस्रो, ६ अंकसहित नेपाल तेस्रो र चार अंक भएको श्रीलंका चौथो स्थानमा छ ।