अन्तर्राष्ट्रिय

शेख हसिना : पिताले स्वतन्त्रता दिलाएको देशबाट भाग्न बाध्य छोरी

By खबरहब

August 05, 2024

ढाका- बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलनकाबीच पदबाट राजीनामा दिएर प्रधानमन्त्री शेख हसिना विदेश भागेकी छन् ।

हसिनाले सोमबार दिउँसो राजधानी ढाका छोडेपछि प्रदर्शनकारीले उनको सरकारी निवास नियन्त्रणमा लिएका छन् ।

शेख हसिनाले विपक्षीहरूलाई जेलमा कोचेर विगत १५ वर्षदेखि (सन २००९) बंगलादेशको शासन सत्ता चलाउँदै आएकी थिइन् । उनीमाथि विपक्षीहरूलाई ‘कुल्चिएको’आरोपसमेत लागिसकेको छ । उनले प्रतिस्पर्धी नेतृ खालिदा जियालाई लामो समयदेखि विभिन्न आरोपमा जेलमा कोचेकी छन् ।

गत महिनादेखि सुरु भएको सरकार विरोधी आन्दोलनका क्रममा अहिलेसम्म झण्डै तीन सय मानिसको मृत्यु भइसकेको छ ।

विद्यार्थीहरूले सरकारी सेवामा विद्यमान आरक्षण (कोटा) प्रणाली खारेज गर्नुपर्ने मागसहित आन्दोलन सुरु गरेका थिए ।

तर, त्यसमा चर्को दमन भएपछि सरकारविरोधी आन्दोलनको रुप लिँदै हिंसात्मक बनेको थियो । उनीहरूले हसिनाले पदबाट राजीनमा दिनुपर्ने माग राख्दै आएका थिए । त्यहीक्रममा आइतबार मात्रै ९३ जना आन्दोलनकारी मारिएपछि शेख हसिना सत्ताच्युत हुँदै देश छाडेर भागेकी छन् ।

शेख हसिना : बंगलादेशकी लौह महिला

शेख हसिना बंगलादेशकी लौह महिलाका रुपमा चिनिन्छिन् । उनले १५ वर्ष प्रधनमन्त्रीका रुपमा शासन सत्ता सम्हालिन् ।

हसिनाको शासनकालमा बंगलादेशमा तीव्र विकास भएको छ भने देशको अर्थव्यवस्थाले पाकिस्तानलाई पनि पछि पारेको थियो । बंगलादेश पाकिस्तानबाटै फुटेर १९७१ मा नयाँ देश बनेको हो।

शेख हसिनाले प्रधानमन्त्री बनेपछि कट्टरपन्थलाई कम गरेकी थिइन् भने देशलाई विकासको बाटोमा डेर्‍याएकी थिइन् । उनले विश्वका ती देशहरूको सहयोग लिइन्, जसको आवश्यकता बंगलादेशलाई थियो ।

जसकारण बंगलादेशले चीनसँग पनि मजबुत सम्बन्ध बनायो भने भारतलाई पनि नजिकको मिज्ञ राष्ट्रका रुपमा राखिरह्यो । हसिनाको सुरुवाती कार्यकालमा अमेरिकासँग बंगलादेशको सम्बन्ध मजबुत थियो । यद्यपि समयक्रमसँगै त्यो सम्बन्ध कमजोर बन्दै गयो ।

पिताले बनाएको देशबाटै भागिन्

शेख हसिनाका पिता शेख मुजिबर्रहमानलाई बंगलादेशका नागरिक राष्ट्रपिताका रुपमा सम्मान गर्दछन् ।

मुजिबर्रहमानले नै भारतसँग मिलेर बंगलादेशलाई पाकिस्तानबाट स्वतन्त्र गराएका थिए । त्यहीकारण मुजिबर्रहमान भारतमा बंगबन्धुको नामबाट पनि पुकारिन्छन् ।

स्थापनाको समयमा बंगलादेशको अवस्था राम्रो थिएन । त्यहीकारण शेख मुजीबर्रहमानले छोरी शेख हसिनालाई भारतमा राखेका थिए । शेख हसिना र भारतको सम्बन्ध पुरानै हो । उनको बाल्यकालसँग अध्ययन पनि भारतमै भएको थियो ।

विरोधीलाई ‘कुल्चिन’ माहिर

शेख हसिना आफूविरुद्ध उठ्ने आवाज ‘कुल्चिन’ माहिर थिइन् । उनले सत्तामा आउनेबित्तिकै विपक्षी बंगलादेशी नेशनलिस्ट पार्टी (बीएनपी) र जमात–ए–इस्लामीमाथि दबाब बढाइन् ।

अवस्था यस्तोसम्म भयो कि विपक्षी दलका कयौं शीर्ष नेता देश छोड्न बाध्य भए । कयौं नेतामाथि आक्रमण, आपराधिक मुद्दामा फसाउने र अन्य रुपमा प्रताडिन गर्नेसम्मका गतिविधि भए ।

यतिमात्रै नभएर शेख हसिनामाथि निर्वाचन प्रभावित गर्ने गरेको आरोप पनि लाग्यो । त्यहीकारण मुख्य विपक्षी दल बीएनपीले पछिल्ला निर्वाचन नै बहिष्कार गरिरहेको थियो । बीएनपीले निर्वाचन बहिष्कार गरेकाले शेख हसिनाले दुईवटा निर्वाचन एकलौटी जितेकी थिइन् ।

युवाको आक्रोश बुझिनन्

शेख हसिना आफ्नो कार्यकालको सुरुवाती चरणमा युवामाझ लोकप्रिय थिइन् । समयक्रमसँगै तल्लो तहसँग उनको सम्बन्ध टुट्दै गयो । हसिनाले लिने राजनीतिक निर्णयको असर युवामाझ देखिन सुरु भयो ।

पछिल्लो ५ वर्षयता बंगलादेशको अर्थव्यवस्था कमजोर हुने क्रमले तीव्रता पायो । जसको प्रत्यक्ष असर सरकारी जागिर, तलब र निजी क्षेत्रमा प्रष्ट रुपमै देखिन थाल्यो । आर्थिक अवस्थाका कारण बंगलादेशका युवाका लागि अवसरको संख्या सीमित हुँदै गयो ।

विदेशी कम्पनीहरूले पनि बंगलादेशमा लगानी गर्न छाडे । यसैकारण हसिनाले आफ्नो भोट बैंक सुरक्षित गर्न सरकारी जागिरमा बंगलादेश मुक्ति संग्राममा भाग लिएका नागरिकका छोराछोरीका लागि आरक्षण घोषणा गरिन् ।

हसिनाको उक्त निर्णयले युवामा आक्रोश फैलिन सुरु गर्‍यो, तर उनले यसलाई सामान्य रुपमा लिएर ठूलो भुल गरिन् । अन्तत: उनी बाल्यकालमा शरण लिएको भारतमै अर्को शरण लिन पुगेकी छन् ।