अन्तर्राष्ट्रिय

अमेरिकाको जर्जियामा १४ वर्षीय बालकबाट गोली प्रहार, चारजनाको मृत्यु 

By खबरहब

September 05, 2024

काठमाडौं– अमेरिकाको जर्जिया राज्यको एक विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु भएको छ । सिएनएनका अनुसार घटनामा ९ जना घाइते भएका छन् ।

एटलान्टाको लगभग ८० किलोमिटर उत्तरपूर्वमा रहेको ब्यारो काउन्टीको अपलाची हाई स्कूलमा १४ वर्षीय बालकले गोली चलाएको मिडिया रिपोर्टमा उल्लेख छ ।

गोली चलाउने बालक पनि सोही विद्यालयको नै भएको स्थानीय प्रहरीले बताएको छ । गोली चल्दा दुई शिक्षक र दुई विद्यार्थीको मृत्यु भएको छ भने ८ विद्यार्थी र एक शिक्षक गरी ९ जना घाइते भएका छन् । प्रहरीले गोली चलाउने विद्यार्थीलाई पक्राउ गरेको बताएको छ ।

अमेरिकामा विद्यालयमा गोली चल्ने घटना पटक पटक हुने गरेका छन् । सन् २०२४ मा मात्र अमेरिकाको विद्यालयमा गोली चलेको यो ४५औँ घटना हो । यस अघि सन् २०२३ मा ८२ विद्यालयमा गोली चलेको थियो भने २०२२ मा ७९ र २०२१ मा ७३ विद्यालयमा गोली चलेको थियो ।

राष्ट्रपति जो बाइडेनले विद्यालयमा भएको गोलीकाण्डमा दुःख व्यक्त गरेका छन् ।