खेलकुद

एन्फा महिला लिग : कोशी र बागमती युवा तथा कर्णाली र वालिङ भिड्ने

By खबरहब

September 05, 2024

काठमाडौं– एन्फा महिला लिग फुटबलमा आजबाट दोस्रो चरणका खेल हुँदैछन् । दोस्रो चरण अन्तर्गत आज कोशी प्रदेश र बागमती युवा क्लब तथा कर्णाली प्रदेश र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ ।

दुवै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछन् । कोशी प्रदेश र बागमती युवाबीचको खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ ।

दुवै टोली दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् । यसअघिको खेलमा कोशीले वालिङ तथा बागमतीले सुदूरपश्चिमलाई हराएका थिए । 

यस्तै, कर्णाली प्रदेश र वालिङ नगरपालिकाबीचको खेल अराह्न सवा ४ बजे सुरु हुनेछ । दुवै टोली पहिलो जित निकाल्ने योजनामा छन् । यसअघिको खेलमा कर्णालीले चन्द्रपुर नगरपालिकासँग बराबरी खेलेको थियो भने वालिङ नगरपालिका कोशी प्रदेशसँग पराजित भएको थियो ।

१० टोली सहभागी लिगको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, उत्कृष्ट खेलाडी तथा फेयर प्ले टिमले एक–एक लाख तथा उत्कृष्ट गोलकिपर र उच्च गोलकर्ताले समान ५० हजार रुपैयाँ पाउने छन् ।