समाचार

बाढीपीडित जलविद्युतका माग पुरा गरिदिन मन्त्रालयलाई इप्पानको आग्रह 

By खबरहब

September 05, 2024

काठमाडौं – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयलाई बाढी पीडित जलविद्युतका माग पुरा गर्ने भए छिटो पुरा गरिदिन अन्यथा सक्दिनँ भनेर हात उठाउन आग्रह गरेका छन् ।

बिहीवार मन्त्रालयमा भएको छलफलमा अध्यक्ष कार्कीले सरकारले आश्वासन मात्र दिएकाले पीडित आयोजना थप पीडामा पिल्सिनु परेको भन्दै माग पुरा नगर्ने हो भने सक्दिनँ भनेर हात उठाउनुपर्ने बताएका हुन् ।

‘बाढी प्रभावित आयोजनाले फोटो भिडियो सहितका प्रमाण ल्याएर मन्त्रालयमा पेश गरे, मन्त्रालयले दुई चार ठाउँमा सिफारिस पनि गर्‍यो । तर, राहत कसैले पाएनन्, कतैबाट केही पनि काम भएन ।’ कार्कीले भने । ‘२ वर्षअघिसम्म आयोजनाको मर्मत सम्भारमा भन्सार छुट पाउथ्यौ, अहिले त्यो व्यवस्था पनि अर्थमन्त्रालयले हटाइदियो । यसले गर्दा धेरै आयोजना प्रभावित भएका छन् । उनीहरूले २८ प्रतिशत अतिरिक्त रकम स्पेयर पार्टसमा खर्च गर्नुपरेपछि आयोजनाको वित्तीय अवस्था के हुन्छ ? खासगरी यसबाट बाढी प्रभावित आयोजना धेरै नै प्रभावित भएका छन् । उनीहरूले आयोजना पुनर्निर्माण नै गर्न सकेका छैनन् ।’

उनले बाढीपीडित आयोजनाका विषय मात्र नभएर ऊर्जा क्षेत्रमा देखिएका विभिन्न समस्याहरू लिएर मन्त्रालयका मन्त्री, सचिव र सहसचिवहरुसम्म पटक पटक निवेदन गर्दा पनि माग पुरा नगरिदिएकोमा आक्रोश व्यक्त गरे ।

दैवी प्रकोप, विस्फोटक पदार्थ अभाव, रुस युक्रेन युद्धका कारण सामान आयातमा भएको अवरोध, वन तथा भूमिसँग सम्बन्धित समस्याका कारण तोकिएको समयमा कुनै पनि जलविद्युत आयोजना पुरा हुन नसकिरहेकोले सबै आयोजनाको आरसीओडी (व्यापारिक विद्युत उत्पादन सुरु गर्नुपर्ने मिति) को म्याद २ वर्ष थप गर्न पटक पटक सबै निकायमा पहल गर्दा पनि काम नभएको बताए ।

‘एकातिर आरसीओडीको म्याद थप भएको छैन, अर्कोतर्फ आर्थिक वर्ष (आव) २०८४-८५ सम्म विद्युत उत्पादन गर्न सकेन भने उक्त आयोजनाको बिजुली नेपाल विद्युत प्राधिकरणले टेक एण्ड पे (लिएपछि मात्रै पैसा तिर्ने) व्यवस्था अन्तर्गत खरिद गर्ने उल्लेख गरिएको छ ।

अध्यक्ष कार्कीले ४ वर्षदेखि रोकिएका करिब १३ हजार मेगावाट क्षमताका आयोजनाको पीपीए (विद्युत खरिद बिक्री सम्झौता) खुलाउनु पर्ने, जलवायु परिवर्तनका कारण हाइड्रोलोजीको समस्या बढ्दै गएकाले सबै आयोजनाको हाइड्रोलोजी पेनाल्टी खारेज गर्नुपर्ने, वन र भूमि सुधारका समस्या समाधान गर्नुपर्ने, २८ हजार ५०० मेगावाटको मार्गचित्र अघि बढाउनुपर्ने र विद्युत विधेयकमा निजी क्षेत्रले उठाइरहेका प्रश्नहरुको उत्तर नखोजी विधेयक ल्याउन नहुने लगायतका विषयमा ऊर्जा मन्त्री दीपक खड्का, सचिव गोपालप्रसाद सिग्देल र वरिष्ठ ऊर्जा विज्ञ प्रवल अधिकारीको ध्यानाकर्षण गराएका छन् । 

 यस्तै ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले इप्पानले उठाएका सबै विषयवस्तुमा मन्त्रालय गम्भीर रहेको बताए ।

विद्युत विधेयकमा निजी क्षेत्रको कुरा सुनेर नै अहिलेसम्म छलफलमै रहेको पनि उनले जानकारी गराए । भारतमा १० हजार मेगावाट बेच्ने सम्झौता भइसकेको, बंगलादेशमा ५ हजार मेगावाट निर्यातको कुरा पक्का पक्की जस्तै भएको र चीनमा पनि केही विद्युत बेच्न सकिन्छ कि भनेर अध्ययन भइरहेको र सबै गरेर २० हजार मेगावाट विद्युत बेच्न सकिने खड्काले बताए । 

मर्मत सम्भारमा प्रयोग हुने मेसिनरी उपकरणहरूमा भन्सार छुट नदिएपछि एउटै आयोजना २९ प्रतिशत महँगो हुँदा आर्थिक रुपमा सम्भाव्य नहुने पनि मन्त्री खड्काले बताए ।

अनुमतिपत्रको अवधि ३०-३५ वर्ष भने पनि एउटा प्रवर्द्धकले मुस्किलले २७-२८ वर्ष मात्रै आयोजना चलाउन पाउने पनि खड्काले बताए ।

ऊर्जा सचिव गोपाल प्रसाद सिग्देलले बाढी पीडित आयोजनाले भन्सार छुट लगायतका सुविधा पाउने विषय अर्थ मन्त्रालयसँग जोडिएका कारण ऊर्जा मन्त्रालयले सिफारिस गर्दा पनि अर्थ मन्त्रालयले सहमति नदिएको बताए । मर्मत सम्भारमा भन्सार छुट दिने विषय समावेश गर्न ऊर्जा मन्त्रालयबाट यो वर्षा पनि बजेटमा सुझाव दिएको तर अर्थमन्त्रालयले नराखेको पनि सिग्देलले दावी गरे ।

उनले विगतमा आरसीओडीको म्याद थप गर्ने विषय आफूले नै सिफारिस गरेको भन्दै यसलाई निकास दिने प्रतिवद्धता पनि जनाए ।

छलफलको क्रममा वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीले जलविद्युत आयोजनाहरु विस्फोटक पदार्थको अभाव, वित्तीय व्यवस्थापनमा ढिलाई, वित्तीय व्यवस्थापन भएपनि पैसा निकासा हुन नसकेका लगायतका कारणले पनि निर्माणमा ढिलाइ भएको बताए । उनले सरकार पेनाल्टी लिएर धनी नहुने भन्दै आरसीओडीको म्याद थप गर्ने विषयमा मन्त्रालय सकारात्मक नै रहेको बताए ।

त्यस्तै उनले २०७२ को ऊर्जा संकट निवारण कार्ययोजना अनुसार २०८४-८५ सम्म विद्युत उत्पादन नगरे टेक एण्ड पे हुने प्रावधान राखिएको भन्दै त्यहीँ प्रावधानका कारणले बैकले पैसा नहाल्ने जोखिम रहेको स्वीकारे । त्यसका लागि निजी क्षेत्रका त्यस्ता आयोजनाले छुट्टाछुट्टै निवेदन दिएर त्यो प्रावधानलाई २०८९-९० सम्म बनाउने प्रयास गर्ने अधिकारीले बताए ।