ब्रेकिङ स्टोरी

तीजको माहोलले उठाएको प्रश्न : खानपान र नाचगानमा किन मनपरी ?

By पवन मुडभरी

September 05, 2024

नेपाली नारीले मनाउने एउटा महत्वपूर्ण चाड हरितालिका तिज अन्तर्गत आज दर खाने दिन । घरपरिवार दिदीबहिनीहरू एकै ठाउँ बसेर रमाइलो गर्दै दर खाएर मनाउने प्रचलन छ । 

यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाउने विधि विधान भए पनि महिना दिनअघिबाट आमोदप्रमोदसहित तिज मनाउने गरिन्छ ।  तिजमा भगवान् शिवको पूजा आराधना गरिन्छ । यो पर्व मुख्यरूपले नेपालभर र भारतका कुनैकुनै प्रान्तमा हर्षोल्लासपूर्वक मनाइन्छ ।

बदलिँदो समय र परिवेशसँगै तिज मनाउने शैलीमा परिवर्तन आएको छ । यसमा सबैको आ आफ्नै धारणा छ । दरका नाममा तडकभडक र विकृति बढ्दै गएको गुनासो कतिपयको छ भने कतिले यसलाई महिला अधिकार र सशक्तिकरणको दृष्टिले पनि हेरेका छन् । 

दरका नाममा खाइने परिकारहरू कति स्वस्थकर छन् ?कति मात्रामा कसरी खानुपर्छ ? भन्ने कुराहरूमा ध्यान दिएर दर खान पनि पोषणविदहरु सुझाउँछन् । तर तुलनात्मक रुपमा पहिलेकै तिज मनाउने शैली राम्रो थियो भन्ने धेरैको धारणा छ । 

 त्यो तिज, यो तिज कैलालीको टीकापुरकी बैजन्ती रावल विगतको तिज सम्झिँदै भन्छिन् हामी सानो छँदा गाउँघरमा मादलको तालमा सुखदुःख समेटिएका गीत गाउँदै नाचेर तीज मनाइन्थ्यो तर, आजभोलि तीजका गीतमा तिजको भाव नै भेटिँदैन । 

विगतका दिनमा गाउँघरमा साथी सहेली, दिदीबहिनी सबै एकै ठाउँमा जम्मा भई दुःखसुखका गीत गाएर, नाचेर वर्षभरिका पीडा भुल्ने गरेको उनको भनाइ छ । आजभोलि त हामीले मनाउने जस्तो लाग्दैन, तडकभडक र देखासिखीको चाडजस्तो लाग्छ ।’

दिन प्रतिदिन परम्परागत संस्कार र संस्कृतिअनुसारको नेपाली मौलिकपन नहुँदा बैजन्ती मात्रै होइन पुरानो पुस्ताका प्रायः सबै महिलाका साथै नयाँ पिँढीका महिलाहरू पनि चिन्तित छन् । बुढानिलकण्ठ सुन्दरबस्तीकी शोभा खड्का पनि चाडपर्वको नाममा पछिल्लो समय विकृति आएको बताउँछिन् । 

खड्का थप्छिन, तिजमा छोरीचेलीलाई घरमा बोलाएर मिठोमसिनो खुवाउने, वर्षभरिको दुःखसुख साटासाट गर्ने पर्व भए पनि अहिले पश्चिमी संस्कारले विकृति ल्याएको छ । घरमा पकाएको पोषिलो र स्वस्थकर खानाभन्दा विभिन्न होटेल तथा पार्टीप्यालेसमा गएर अस्वस्थकर खाना खाने प्रवृत्ति बढेको उनले बताइन् । 

 तर यसविषयमा कामकाजी महिलाहरूको भने फरक धारणा छ । बैंकमा कार्यरत तुलसी शाही भन्छिन् , पहिले हाम्रा आमा हजुरआमाहरू घरमै बस्थे । अहिलेको जस्तो बिहानैदेखि बेलुकासम्म अफिसमा बस्नुपर्दैनथ्यो दर खानकै लागि भनेर फुर्सद निकाल्नु पर्दैनथ्यो । तर अहिले जमाना फेरिएको छ जागिरे आमा दिदीबहिनीहरुलाई विदा पाइने भनेको त्यहीँ एकदिन तिजमा मात्रै हो । त्यसैले घरमा चेलीबेटी बोलाएर दर खुवाउने फुर्सद नहुने भएकाले पनि बाहिर गएर दर खुवाउने प्रवृत्ति बढेको उनी बताउँछिन् । 

‘पहिला महिलाहरूको हातमा खर्च थिएन, घरको कामबाट कहिल्यै मुक्ति पाउँदैनथे, अहिले उनीहरु काम गर्छन् र दुई चार पैसा कमाउँछन् ।’ अब उनीहरुले आफ्नो हिसाबले खर्च गर्न र रमाइलो गर्न पाउनुपर्ने अगुवा महिलाहरूको भनाइ छ । 

 बदलिँदो दर स्वास्थ्य 

पोषणविद् विनिता पन्त भन्छिन् , भोलिपल्ट तिजको निराहार ब्रतबस्ने भएपछि आडिलो रहन र चिसो सोस्नका निम्ति घ्युमा चामललाई भुटेर बनाइएको दरले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पहिले पहिले तिजको अघिल्लो दिन दर खाने चलन थियो । 

त्यसमा घरमै बनाएका ढकने, चाम्रे, खीर, तरकारी लगायतका स्वस्थकर परिकार हुन्थे जसले स्वास्थ्यलाई पनि फाइदा पुग्थ्यो । तर अहिले तिजभन्दा धेरै समय अगाडि देखि नै दैनिक होटेलका परिकारहरु खाँदा स्वास्थ्यमा असर गर्ने उनको भनाई छ । 

दर भनेको दर खाने दिनमा मात्रै खाने हो । धेरैसमय अगाडि देखि नै होटलहरुमा गएर चिल्लो मसालेदार खानाले हाम्रो स्वास्थ्य लगायत विभिन्न कुरामा नकारात्मक असर मात्रै गर्ने हो । त्यसैले त्यो पैसाले बरु पढ्न नसक्ने बालबालिका तथा आर्थिक रुपमा कमजोर हुनेहरुलाई सहयोग गर्दा राम्रो हुने उनको सुझाव छ । 

जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती भन्छिन् पहिले पहिले माइतीले बोलाउँदा मात्रै दर खान पाइन्थ्यो । अहिले समाज रुपान्तरण भएको छ । महिलाहरु आफैं आफ्नो तरिकाले दर खानसक्ने भएका छन् । 

पार्टीप्यालेसमा दर खाँदैमा नराम्रो हुन्छ अस्वस्थकर हुन्छ भन्ने हुँदैन । तर खाने तरिका र परिकार स्वस्थकर हुनुपर्छ खान पाएँ भन्दैमा चिल्लो पिरो, माछा मासु, मदिराहरु खाँदा स्वास्थ्यमा असर पर्न सक्छ । त्यसैले ठिक्क मात्रामा आफूलाई पच्ने गरी खान उनको सुझाव छ ।