समाचार

‘विह्वल’ को मिथिला मिथक प्रकाशित

By खबरहब

October 05, 2024

काठमाडौं– धेरैलाई थाहा नहुन सक्छ वरिष्ठ पत्रकार धर्मेन्द्र झा र साहित्यकार धर्मेन्द्र ‘विह्वल’ एकैजना हुन् । पत्रकारका रूपमा ख्याति आर्जन गरेका झा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुन् ।

उनी अहिले राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष छन् । थुप्रै अनेकौँ पुस्तक प्रकाशित छन् । यो भयो प्रायः सबैले चिन्ने उनको पाटो । तर, अर्को पाटो पनि छ झाको, जसका बारेमा जानकारीको अभाव छ । नहोस् पनि कसरी ? उनी आफ्नो यो पाटोका बारेमा प्रायः प्रचार रुचाउँदैनन् ।

सामान्यतया अरूसँग कुरा पनि गर्दैनन् । तर, बुझ्नुपर्ने कुरा त के हो भने पत्रकार झाको तुलनामा कुनै पनि अर्थमा साहित्यकार ‘विह्वल’ को पाटो कमजोर छैन । बरू बलियो नै हुन सक्छ ।

उनै ‘विह्वल’ को मैथिली भाषामा एक अनुसन्धानात्मक कृति ‘मिथिला मिथक’ प्रकाशित भएको छ । विमोचन हुनुअघि नै चर्चामा आएको यो कृतिभन्दा पहिला ‘विह्वल’ का नेपाली र मैथिली भाषामा एक दर्जनको हाराहारीमा साहित्यिक कृति प्रकाशित छन् ।

मैथिली साहित्यमा मूलतः कवि र नियात्राकारको परिचय बनाएका ‘विह्वल’ यस पटक फरक रूप र शैलीमा प्रस्तुत भएका छन् । उनको  यो नवीनतम कृति ‘मिथिला मिथक’ अनुसन्धानमा आधारित छ ।

नेपाली भाषामा पनि मिथकबारे खासै काम हुन नसकेको पृष्ठभूमिमा प्रकाशित यो पुस्तक यस विषयमा मैथिलीमा भने पहिलो नै मानिएको छ ।

यसअघि नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली मिथक कोषका रूपमा नेपालका केही भाषामा प्रचलित मिथकको सङ्कलन प्रकाशित गरेको थियो । ‘विह्वल’ उक्त कोषका पनि एक सम्पादक हुन् ।

इतिहासका रूपमा प्रमाणित हुन सकेका भए पनि मैथिलीभाषी समाजमा किम्वदन्ती र विश्वासका रूपमा जीवित मान्यताहरू पुस्तकमार्फत प्रस्तुत गरिएका छन् ।

मिथिला र मिथक, मिथिला, सीतायण र महाभारत, मिथिला विभूति, चाडपर्व, मन्दिर, देवदेवी र पोखरी तथा जनश्रुति तथा जनविश्वास गरी ६ अध्यायमा विभाजित पुस्तकमा १११ वटा मिथक सङ्कलित छन् ।

मिथिला क्षेत्रमा विश्वासका रूपमा यस्ता थुप्रै सन्दर्भ छन् जसको खोजी र अध्ययन हुनु जरूरी छ ।

यस्ता सन्दर्भहरूको अध्ययनले सम्बद्ध समाजको इतिहास, सभ्यता र परम्परा बुझ्न सघाउने कुरा यसै पुस्तकका भूमिका लेखक मैथिली साहित्यका अनुसन्धानकर्ता लेखक विद्वान डा. रमानन्द झा ‘रमण’ ले उल्लेख गरेका छन् ।

भारतलाई कर्मभूमि बनाएका विद्वान रमणले मैथिली भाषामा सङ्कलन गरिएका यस्ता, उदाहरण भारतमा पनि उपलब्ध नभएको बताएका छन् ।

यस्तै अर्का भूमिका लेखक त्रिभुवन विश्वविद्यालयमा नेपालीका उपप्राध्यापक राजेश यादव ‘विद्रोही’ ले कुनै पनि समाज र सभ्यता बुझ्न मिथक सहयोगी हुने बताउँदै ‘विह्वल’ को यो कार्य अत्यन्त महत्वपूर्ण ठहरिने विश्वास व्यक्त गरेका छन् ।

अध्ययन प्रक्रियाका दृष्टिले निकै जटिल मानिने मिथक स्वयंमा इतिहास मानिँदैन तर यीनले इतिहासको अध्ययन प्रक्रियालाई भने आधार प्रदान गर्ने विश्वास गरिन्छ । पुस्तक प्रस्तुतकर्ता ‘विह्वल’ ले यसमा सङ्कलित सबै सामग्री मिथक नै हुन् भन्ने दाबी गरेका छैनन् ।

उनलाई जे मिथक भन्नेजस्तो लागेको छ ती सामग्री प्रस्तुत गरेका छन् । ‘विह्वल’ भन्छन्, ‘तर, यो कृतिले मिथक अध्ययनका बारेमा बहस भने प्रारम्भ गर्नेछ ।’

कूल एक सय १२ (कभरसमेत) पृष्ठको यो पुस्तक मुन्नीकुमारी मिश्रले प्रकाशित गरेकी हुन् । पुस्तकमा समेटिएका सामग्रीहरूको प्रतिनिधित्व हुने गरी कलाकार आकांक्षा झाले आवरण कला तयार गरेकी छन् ।