अन्तर्राष्ट्रिय

लेबनानको त्रिपोलीमा हमासका प्रमुख नेता मारिए

By खबरहब

October 05, 2024

काठमाडौं– लेबनानको त्रिपोली सहरमा हमासको सशस्त्र दलका एक नेताको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सले हमाससँग निकट मिडियालाई उद्धृत गर्दै त्रिपोली सहरमा रहेको बेदावी शरणार्थी शिविरमा भएको इजरायली आक्रमणमा ती नेताको मृत्यु बारे जानकारी दिएको हो । 

प्यालेस्टाइनी शरणार्थी शिविरमा इजरायलले गरेको आक्रमणमा परिवारका तीन सदस्यका साथ हमास नेता सईद अताल्लाहको मृत्यु भएको समाचारमा उल्लेख छ । इजरायली सेनाका तर्फबट भने यसबारे कुनै प्रतिक्रिया सार्वजनिक भइनसकेको बीबीसीले जनाएको छ । 

लेबनानी अखबार ‘अन नहार’ ले इजरायली आक्रमणमा अताल्लाहकी पत्नी र उनका दुई बच्चाको मृत्यु भएको जनाएको छ । हमासले अहिलेसम्म घटनाको पुष्टि गरेको छैन । 

यद्यपि, हमासको सहयोगी चरमपन्थी गुट प्यालेस्टाइन इस्लामिक जिहाद (पीआईजे) ले भने नेता अताल्लाहको पत्नी र दुई छोरीका साथ मृत्यु भएको जनाएको छ ।