कपिलवस्तु– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) आलु रोप्ने कार्यमा व्यस्त रहेका छन् । पार्टीले सञ्चालन गरेको सामूहिक कृषि तथा जनकम्युनको अवधारणा अनुसार कपिलवस्तुको शिवराज नगरपालिका– ९ अञ्चलपुरमा रहेको केन्द्रीय कार्यालय नजिकै ५ बिघा क्षेत्रफलमा निरन्तर आलु लगाइँदै आएको छ ।
मेसिनको प्रयोग गरी विप्लवसँगै सचिवालय, स्थानीय नेता, कार्यकर्ता र जनताको सहभागितामा आलु लगाइएको नेकपा प्रचार विभागका सदस्य प्रकाश डुम्रेले बताए ।
नेकपाले कपिलवस्तुमा मात्रै करिब ५ बिघा क्षेत्रफलमा आलु लगाउने तयारी गरेको छ भने चितवन, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कैलालीमा करिव ५० बिघामा आलु रोप्ने तयारी गरेको छ ।
पार्टीद्वारा सञ्चालित जनश्रम कृषि सहकारी संस्था लिमिटेडसँग न्यूनतम ४ लाख केजी आलु र सिजी फुड्स नेपाल लिमिटेड सानेपाले उत्पादित आलु खरिद गर्ने सम्झौता भएको छ । गतहप्ता मात्र नेपाल कम्युनिस्ट पार्टी महासचिव विप्लव सी लगायतको टोलीले कपिलवस्तुमा रहेको केन्द्रीय कार्यलयमा १६ टन बिउ आलु भित्र्याएको छ ।
विप्लवले सञ्चालन गरेको जनकम्युनमा दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट पनि सोमबार आलु रोप्न पुगेका छन् । अध्यक्ष विष्टले देशको आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउनका साथै आलु र धानमा आत्मनिर्भर बनाउने विप्लवको अभियानलाई सबैले साथ दिनुपर्ने बताए ।