काठमाडौं– कात्तिक २ गते शुक्रबार पार्टी कार्यालय चमतीबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तेस्रो पटक म्याद थप्न अदालत उपस्थित गराइएको छ ।
उनलाई पहिलो पटक ४ गते सात दिनको म्याद लिएर कास्की जिल्ला अदालतले हिरासतमा राख्न अनुमति दिएको थियो । यस्तै कात्तिक ७ गते रविलाई थप सात दिनको म्याद थप गर्न दोस्रो पटक कास्की जिल्ला अदालत उपस्थित गराइएको थियो ।
त्यसपछि ७ दिनको १५ गतेसम्मलाई म्याद थपिएको थियो । तर, उक्त दिन सार्वजनिक बिदा परेकाले उनलाई थप ५ दिन म्याद नथपी हिरासतमा राखेर आज अदालत उपस्थित गराइएको हो ।
उनी १९ दिन हिरासतमा बसेका छन् । तर, सार्वजनिक बिदा काटेर उनको हिरासत बसाइ १४ दिन हुन आउँछ ।
अहिले ५ दिन थप हिरासतमा बसेको समय जोडिन्छ कि जोडिन्न भन्ने बहस भइरहेको छ । कास्की जिल्ला सरकारी वकिलका अनुसार उनको ५ दिने हिरासत बसाइ अब म्याद थप हुँदा जोडिने छ ।
‘५ दिनको थप हिरासत बसाइ अर्को म्याद थपिँदा जोडिन्छ । अब ७ दिनको म्याद थपिएर १२ दिन जोडिन सक्छ’ । ती वकिलले खबरहबसँग भने, ‘आज कति दिन थपिन्छ पुरानो बसाइसँग सबै जोडिन्छ ।’
कात्तिक २ गते रवि पक्राउ पर्दा पनि शुक्रबार परेकाले ३ गते शनिबारसहित जोडिएर ४ गते आइतबार सात दिनको म्याद राखिएको थियो । त्यसपछि सो म्याद ७ गते सकिएको हो ।
सहकारी ठगी र संगठित अपराधमा कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई आज छठ पछिसम्मको म्याद थपेर बुटवल लाने तयारी गरेको छ ।
लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धान गर्न प्रहरीले बुटवल लाने तयारी गरेको हो । बुटवलको रूपन्देहीमा रहेको सुप्रिम सहकारीको रकम ठगीमा अनुसन्धान गर्ने प्रहरीको भनाइ छ ।