काठमाडौं- संसारकै शक्तिशाली व्यक्तिका लागि निर्वाचन हुन अब केही घण्टा बाँकी छ । यसको नतिजा ६ नोभेम्बरमा आउनेछ ।
यसँगै संसारका शक्तिशाली व्यक्तिको टुंगो लाग्नेछ । संसारकै शक्तिशाली यस अर्थमा, संयुक्त राष्ट्रसंघका अनुसार १९५ देश विश्वमा छन् । जसमा १९३ मा देश राष्ट्रसंघका सदस्य छन् । यीमध्ये १८० देशले आफ्नो मुद्रा चलाउँछन्, त्यसैले यी सबै देशको रिजर्भ मुद्रा हो भनेको अमेरिकन डलर हो ।
यस हिसाबले अहिलेसम्मका लागि अमेरिकन डलर संसारकै सबैभन्दा ठूलो मुद्रा हो । अर्कातिर अमेरिका संसारकै सबैभन्दा ठूलो अर्थव्यवस्था भएको देश हो । अहिले उसलाई चीनले पछ्याइरहेको छ ।
अर्कातिर अमेरिकासँग संसारकै शक्तिशाली परमाणु बम पनि छ। अमेरिकाका विश्वभर सैनिक क्याम्प फैलिएका छन् । त्यहीकारण यस पदमा बस्ने व्यक्ति शक्तिशाली हुन्छन् ।
अमेरिकामा राष्ट्रपतिको चुनावमा करिब डेढ वर्षदेखि चल्ने एक लामो प्रक्रिया हो । अमेरिकामा राष्ट्रपतिका लागि डेमोक्रेटिक र रिपब्लिकन पार्टीबीच प्रतिस्पर्धा हुन्छ । अमेरिकाको नयाँ राष्ट्रपतिमा वर्तमान उपराष्ट्रपति कमला ह्यारिस डेमक्रेटिक पार्टीबाट र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीबाट मैदानमा छन् ।
हुन त अमेरकिामा ग्रीन पार्टी र पिस एन्ड फ्रिडम पार्टी पनि छन् । तर यी नाम मात्रै हुन्, यिनको अमेरिकी राजनीतिमा कुनै प्रभाव छैन ।
कसरी छानिन्छन् उम्मेदवार ?
अमेरिकामा सबैभन्दा पहिले दुई दलले आफ्ना उम्मेदवार चुन्नु पर्छ । जसका लागि दुई चुनावी विधि छन् । पहिलो प्राइमरी र दोस्रो ककस निर्वाचन विधि ।
अमेरिकी राष्ट्रपतिका लागि एउटा पार्टीमा कयौँ दाबेदार हुन्छन् । पार्टीले आफ्नो उम्मेदवार छान्न पहिले प्राइमरी चुनाव गराउँछन् । यो विधिमार्फत प्राय हरकेजसो राज्यमा चुनाव हुन्छ । केहीमा भोटिङ हुन्छ भने केहीमा डिबेट (बहस) बाट पनि उम्मेदवार चयनको प्रक्रिया चलाइन्छ ।
केही राज्यमा प्राइमरी चुनाव खुला हुन्छ । तर केहीमा पार्टीका सदस्यहरूबीच मात्रै मतदान गराइन्छ । पार्टीका सदस्यहरू मात्रै सहभागी हुने विधि जसलाई क्लोज प्राइमरी चुनाव पनि भनिन्छ ।
दोस्रो विधि भनेको ककस हो । जसमार्फत हुने चुनावमा पार्टीका सदस्यमात्रै तोकिएको सार्वजनिक स्थानमा भेला भएर मत हाल्छन् । पार्टीका सदस्यहरूले यस क्रममा आफूलाई मन परेको नेतालाई मत दिन्छन् । जसको पक्षमा धेरै मत जान्छ ऊ उम्मेदवार चुनिन्छ । कहीँ कहीँ चुनावमा नगएर सर्वसम्मत निर्णय पनि हुन्छ ।
यी दुवै प्रक्रिया राजनीतिक दलहरुले आन्तरिक रुपमा गर्छन् । यी आन्तरिक चुनावबाट उम्मेदवारहरूले पार्टीको समर्थन लिन्छन् ।
प्राइमरी र ककस चुनावी प्रक्रिया सकिएपछि ‘नेशनल कन्भेन्सन प्राइमरी’मा लगिन्छ । माथिका दुवै विधि सकिएपछि दलहरूले ‘नेशनल कन्भेन्सन’ गर्छन् ।
जुन बहसका लागि पार्टीका सबै समर्थक र ठूला नेता पनि सहभागी हुन्छन् । जसमा पार्टीका प्रतिनिधि अर्थात् डेलिगेट्सको समर्थनका आधारमा आधिकारिक रुपमा आफ्नो उम्मेदवार घोषणा गरिन्छ ।
यस पटक रिपब्लिकन पार्टीले भिसकन्सिनमा नेशनल कनभेन्सन गरेको थियो । रिपब्लिकन पार्टीका देशभरबाट जम्मा डेलिगेट्स २४ सय २९ जना थिए । यस्तोमा राष्ट्रपतिको उम्मेदवार बन्न बहुमत अर्थात् १२१५ डेलिगेट्सको समर्थन चाहिएको थियो । यस्तोमा डोनाल्ड ट्रम्पले सजिलै बहुमत हाँसिल गरे।
उता डेमोक्रेटिक्स पार्टीको कन्भेन्सन शिकागोमा गरिएको थियो । जसमा तीन हजार ९४९ जना डेलिगेट्स थिए । त्यहाँ बहुमतका लागि एक हजार ९७६ जनाको समर्थन चाहिन्थ्यो ।
यस्तोमा वर्तमान राष्ट्रपति जो बाइडेनलाई ३९ सय डेलिगेट्स अर्थात् करिब शतप्रतिशतको समर्थन मिलेको थियो । तर चुनावी प्रक्रियामा रिपब्लिकनमा डोनाल्ड ट्रम्पसँगको बहसमा पछि परेपछि स्वास्थ्यको कारण देखाउँदै बाइडेन दोस्रो पटकका लागि राष्ट्रपति पदको दौडबाट बाहिरिए।
त्यसबेला आफ्नो समर्थन उनले उपराष्ट्रपति कमला ह्यारिसलाई दिए । तर उनले यसका लागि डेमोक्रेटिकका डेलिगेट्सको समर्थन पनि जुटाउनु परेको थियो ।
चुनावी प्रक्रिया ‘इलेक्टोरल कलेज’
विश्व महाशक्ति अमेरिकामा जम्मा ५० वटा राज्य छन् । यिनमा ४८ राज्य एकअर्काको भूगोलसँग जोडिएका छन् । तर अलास्का र हवाई राज्य भने अमेरिकाको मुख्य भूमिबाट सयौँ किलोमिटर बाहिर छन् ।
अलास्का अमेरिकी राजधानी वासिङ्टन डीसीबाट करिब ६ हजार किलोमिटर टाढा अवस्थित छ । यसलाई अमेरिकाले रुससँग किनेको थियो । यो रसियन मूख्य भूमिबाट नजिकको दूरीमा पनि छ ।
उता हवाई राज्य प्रशान्त महासागरको एक द्वीप हो । यो राजधानी वासिङ्टनबाट ३ हजार किलोमिटर टाढा समुद्रमाथि अवस्थित छ ।
अमेरिकाका यी ५० राज्यबाट दुई प्रकारका सदस्य चुनिएर अमेरिकी कंग्रेसमा जान्छन् । पहिलो सिनेट र दोस्रो हाउस अफ रिप्रिजेन्टेटिभ ।
सिनेटमा हरेक राज्यबाट दुईजना प्रतिनिधि चुनिन्छन्, चाहे राज्य साना हुन् या ठूला । सिनेटमा जानेको संख्या जम्मा १०० हुन्छ ।
हाउस अफ रिप्रिजेन्टेटिभको संख्या ४३५ छ । यसमा तीनजना प्रतिनिधि वासिङ्टनबाट चुनिन्छन्, यो राजधानी सहरबाट राज्यकै दर्जाअनुसार तीन प्रतिनिधि हाउस अफ रिप्रिजेन्टेटिभमा जान्छन् ।
यसरी सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभका सदस्यको संख्या जोड्दा जम्मा ५३८ हुन आउँछ । यी दुवै सदनबाट अमेरिकाको राष्ट्रपति चुनिन बहुमत अर्थात् २७० मत ल्याउनु आवश्यक हुन्छ ।
अमेरिकाका सबै ५० राज्यमा जनसंख्यासहितका आधारमा हाउस अफ रिप्रिजेन्टेटिभ अर्थात् ‘इलेक्टर्स’को संख्या निर्धारित गरिएको हुन्छ।
उदाहरणका लागि जनसंख्यामा सबैभन्दा ठूलो अमेरिकी राज्य क्यालिफोर्निया हो । जसको जनसंख्या करिब ३ करोड ९३ लाख छ । यो राज्यबाट ५५ जना हाउस अफ रिप्रिजेन्टेटिभ अर्थात ‘इलेक्टर्स’ चुनिन्छन् ।
त्यसैगरी टेक्सासबाट ३९, फ्लोरिडाबाट ३८ र नर्थ डकोडा ३ जना चुनिन्छन्, यसरी ५० वटै राज्यबाट चुनिनेहरूई ‘इलेक्टर्स’ कलेज पनि भनिन्छ । यस व्यवस्थालाई सन् १७८७ मा अमेरिकी चुनाव प्रणालीमा जोडिएको थियो ।
यी ‘इलेक्टर्स’ खासमा अमेरिकी राष्ट्रपतिका प्रतिनिधिका रुपमा हुन्छन् । अमेरिकी जनताले यिनलाई चुनेर नयाँ राष्ट्रपति निर्वाचित गराउन पठाउँछन् ।
‘विनर टेक अल’
अमेरिकी चुनावी प्रक्रियामा सबैभन्दा जटिल प्रक्रिया हो ‘विनर टेक अल।’ यसले जुनसुकै बेला पनि राष्ट्रपतिको चुनावमा खेल बदलिदिन सक्छ । किनकि, अमेरिकी राष्ट्रपतिको चुनाव प्रत्यक्ष प्रणालीमा हुँदैन । नेपालमा सांसद चुनेपछि तिनीहरूबाट प्रधानमन्त्री चुने जस्तै प्रक्रिया अमेरिकी राष्ट्रपतिमा पनि लागू हुन्छ ।
अमेरिकी जनताले पहिले हरेक राज्यबाट आफ्ना ‘इलेक्टर्स’ चुन्छन् त्यसपछि ती ‘इलेक्टर्स’ले राष्ट्रपति र उपराष्ट्रपति चयन गर्छन् ।
तर यसमा अझै खेल हुन्छ । यदि ३८ जना ‘इलेक्टर्स’को कोटा रहेको राज्यमा कुनै दलले २० ‘इलेक्टर्स’ जित्यो भने सबै ३८ ‘इलेक्टर्स’ उक्त पार्टीको भएको मानिन्छ ।
यसमा हरेक राज्यबाट छानिएका जम्मा ‘इलेक्टर्स’मध्ये बहुमत संख्या आफ्नो पक्षमा पार्ने दलले सबै ‘इलेक्टर्स’आफ्नो पोल्टामा पार्छ । अर्को दलका लागि उक्त राज्यबाट ‘इलेक्टर्स’संख्याको गणना हुँदैन ।
उदाहरणका लागि फ्लोरिडामा रहेका ३८ ‘इलेक्टर्स’मा रिपब्लिकन पार्टीले आधाभन्दा बढी अर्थात् २० ‘इलेक्टर्स’ जित्यो भने ती सबै ३८ ‘इलेक्टर्स’ डोनाल्ड ट्रम्पको पक्षमा गनिन्छन् ।
यस्तोमा कमला ह्यारिसको पार्टीका ‘इलेक्टर्स’ उक्त राज्यबाट कोही पनि गनिँदैनन् । यही प्रावधानका कारण कयौँ पटक कम भोट पाउने पनि अमेरिकाको राष्ट्रपति भएका छन् । डोनाल्ड ट्रम्प सन् २०१६ मा राष्ट्रपति चुनिँदा पनि यस्तै भएको थियो । तर यो नियम अमेरिकाका ४८ राज्यमा मात्रै लागू हुन्छ ।
‘इलेक्टर्स’ले चुन्छन् राष्ट्रपति
नोभेम्बर ५ मा हुने निर्वाचनको एक महिनापछि डिसेम्बरमा ‘इलेक्टर्स’ले राष्ट्रपतिका लागि भोट हाल्छन् । यसको गणना अमेरिकी कंग्रेसले गर्छ । त्यसका लागि ५३८ ‘इलेक्टर्स’बाट २७० ‘इलेक्टोरल कलेज’ दुईमध्ये एक उम्मेदवारले ल्याउनुपर्छ ।
त्यसपछि जनवरीमा अमेरिकाका दुवै सदनको बैठक बोलाएर विजेता घोषित गरिन्छ । साधरणतया जसले धेरै लोकप्रिय मत ल्याउँछ, त्यही नै राष्ट्रपति हुन्छ । तर अमेरिकाको चुनावमा कयौँ पटक लोकप्रिय मत कम ल्याउने व्यक्ति राष्ट्रपति पदमा पुगेका छन् ।
लोकप्रिय मत धेरै ल्याए पनि २७० इलेक्टोरल ल्याउन नसक्दा राष्ट्रपति नभएको उदाहरण छ । यसरी विजेता ‘अलटेक नियम’मार्फत घोषित गरिन्छ ।
निर्णायक ‘स्विङ स्टेट’
अमेरिकी निर्वाचनमा ४३ वटा राज्यको मत कसलाई कता जान्छ भन्ने करिब टुंगो भइसकेको छ । यी राज्यलाई निलो र रातोमा चित्रित गरेर दुई उम्मेदवारको मतको हिसाब किताब पनि अहिले भइरहेको छ ।
तर यी बाहेकका सात राज्यको मतले ट्रम्प र ह्यारिसको भविष्य निर्धारण गर्दैछन् । अहिले त्यहीकारण सबैको नजर अमेरिकाका सात स्विङ्ग राज्यमा टिकेको छ।
यहाँ कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच कडा टक्कर चलिरहेको छ । यही कारण दुवै प्रत्यासी अहिले आफ्नो पूरा शक्ति यी राज्यमा लगाएका छन् ।
रिपब्लिकन र डेमोक्रेटिक पार्टीले सबैभन्दा शक्ति र मिहिनेत पेन्सिल्भेनिनियामा लगाएका छन् । यो राज्यमा जम्मा १९ इलेक्टोरल सिट छन् ।
यहाँ पछिल्लो २८ वर्षमा केबल एक पटक रिपब्लिकनलाई जित मिलेको छ। उता नार्थ क्यारोलिनाले डेमोक्रेटिक पार्टीको संकट बढाएको छ । अन्तिम पटक सन् २००८ मा ड्रेमोक्रेट उम्मेदवारका रुपमा यहाँ बराक ओबामाले जित निकालेका थिए । त्यसपछिका तीन चुनावमा रिपब्लिकन पार्टीलाई जित मिलेको छ । स्विङ राज्यमा जित्ने नै यस पटक पनि राष्ट्रपतिको कुर्सीमा पुग्नेछन् ।
स्विङ स्टेट
भिस्कन्सिन एरिजोना नेभादा नर्थ क्यारोलिना जर्जिया मिशगन पेन्सिल्भेनिया
को बन्न पाउँछ राष्ट्रपति ?
अमेरिकाको राष्ट्रपति हुन मुख्य तीन शर्त निर्धारण गरिएका हुन्छन् ।
पहिलो, अमेरिकामा जन्मिएको हुनुपर्छ । दोस्रो, उमेर कम्तीमा पनि ३५ वर्ष हुनुपर्छ । तेस्रो, अमेरिकामा कम्तीमा १४ वर्षदेखि बसेको हुनुपर्छ।
अमेरिकी राष्ट्रपति निर्वाचनमा मतदाता हुन पनि निश्चित शर्त तय गरिएको छ ।
पहिलो, अमेरिकाको नागरिक हुनुपर्छ । दोस्रो, उमेर १८ वर्षभन्दा माथि हुनुपर्छ तेस्रो, जुन राज्यमा भोट दिने हो, त्यहाँ दर्ता भएको हुनुपर्छ ।