समाचार

ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट दीपक मनाङे दोषी ठहर, पाँच वर्ष कैद

By खबरहब

November 05, 2024

काठमाडौं- गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) लाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ ।

गुण्डा नाइने चक्रे मिलनको ज्यान मार्ने उद्योग गरेको अभियोगमा गुरूङ दोषी ठहर भएका हुन् ।

उच्च अदालत पाटनबाट भएको फैसलालाई सर्वोच्चका न्यायाधीशद्धय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले सदर गरिदिएको हो ।

उच्च अदालत पाटनले मनाङेलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि उच्चको उक्त फैसलालाई सदर गर्दै पाँच वर्ष कैद सजाय कायम गरेको हो ।

के थियो मुद्दा ?

मनाङे नेतृत्वको गुण्डागर्दीमा संलग्न समूहले ०६१ सालमा अर्का गुण्डा नाइके चक्रे मिलन (मिलन गुरुङ)लाई बागबजारमा खुकुरी हानेको अभियोग लागेको थियो।

त्यस घटनामा प्रहरीले मनाङेविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो। तर जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभएर कुटपिट ठहर गर्दै मनाङेलाई दुई वर्ष जेल सजाय सुनाएको थियो ।

उक्त घटनामा अहिले कांग्रेस नेता रहेका गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामाले जिल्लाबाटै सफाइ पाएका थिए । तर उच्च अदालत पाटनले ०६९ सालमा उक्त फैसला उल्टाइदियो । त्यसबेला उच्चले उक्त घटना ज्यान मार्ने उद्योग नै ठहरसहित मनाङेलाई पाँच वर्ष जेल सजाय सुनाएको थियो । त्यसपछि मनाङे प्रहरीले फरार सूचीमा थिए ।

तर त्यति हुँदा पनि उनी २०७४ को संसदीय निर्वाचनबाट मनाङबाट गण्डकी प्रदेशसभामा निर्वाचित भए । उच्चको फैसलाअनुसार उनी २०७५ वैशाखमा पाटन उच्च अदालतमा उपस्थित हुँदै डिल्लीबजार कारागार चलान भए ।

उनले त्यसबेलै उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्चमा रिट हालेका थिए । त्यसबेला उनी २०७४ को फौजदारी संहिताको परिभाषाको फाइदा उठाउँदै रिहा भए । उक्त फौजदारी आचारसंहितमा उल्लेखित १० वर्षभन्दा कम सजाय हुने मुद्दामा जेल नबसी मुद्दाको पुनरावेदन गर्न पाउने सुविधा उपयोग गर्दै ८ महिनामै रिहा भए ।

उनी रिहा भएर गण्डकी प्रदेशसभाको सदस्यका रुपमा निर्वाचनको एक वर्षपछि शपथ लिन पुगे । उनले सर्वोच्चमा ज्यान मार्ने उद्योगको मुद्दाको पेसी सरेको फाइदा उठाएका थिए । त्यहीकारण उनी दुई पटक निर्वाचित भएर ६ पटक मन्त्री भइसकेका छन् ।

६ पटक मन्त्री

२०७४ र २०७९ को निर्वाचनमा मनाङबाट गण्डकी प्रदेश सभामा विजयी उनी त्यसयता ६ पटक मन्त्री भए ।

२०७४ मा स्वतन्त्र सांसदका रुपमा चुनाव जितेका उनी त्यसको दुई वर्षपछि नेकपा छिरेर खेलकुद मन्त्री बने। उनलाई एमाले नेता पृथ्वीसुब्बा गुरूङ मुख्यमन्त्री हुँदा सरकारमा जाने मौका मिल्यो । गुरूङको सरकार जोगाउन मनाङे मुख्य खेलाडी बने ।

२०७८ मा सालमा एमाले नेतृत्वको सरकार ढलेपछि नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारमा पनि मनाङे गए। त्यसबेला पनि उनी सरकारको बहुमतका लागि खेलाडी सावित भए ।

२०७९ मंसिरको चुनावपछि एमाले संसदीय दल नेता खगराज अधिकारी नेतृत्वमा सरकार हुँदा उनी बाहिरै बसे। त्यसबेला पुस २४ गते मनाङे माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरे ।

उता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन फेरेपछि खगराज अधिकारी नेतृत्वको सरकार ढल्दा गण्डकीमा सुरेन्द्र पाण्डे नेतृत्वको सरकार बन्यो। मनाङेले मन्त्री हुनकै लागि एकीकृत समाजवादीमा छाडेर स्वतन्त्र हैसियतमा रहेको जानकारी प्रदेश सभामा गराए ।

एकीकृत समाजवादी छाडे पनि उनले सरकार बनाउन मुख्य खेलाडीको भूमिका खेले । खगराज अधिकारी नेतृत्वको सरकारमा दोहोर्‍याएर मन्त्री बनेका उनी कांग्रेस नेतृत्वको सरकारमा पनि अहिले मन्त्रीकै रुपमा थिए ।