राजनीति

बालेन्द्रले यसरी गरे हर्क साम्पाङ र धरानबासीको प्रशंसा

By खबरहब

January 06, 2024

धरान- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले धरानका मेयर हर्क साम्पाङ र धरानबासीहरुको मुक्तकण्ठले प्रशंसा गरेका छन् । शाहले हर्क साम्पाङबाट सांसदहरुले सिक्न जरुरी रहेको बताएका छन् ।

धरान नगरपालिकाको वार्षिकोत्सवमा शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई अतिथि बनाउने प्रयास असफल भएपछि मेयर साम्पाङले बालेन्द्रलाई निम्त्याएका थिए । हर्कको निम्तो मान्न धरान पुगेका शाहले मञ्चको राम्रोसँग उपयोग गर्दै धरानेहरुको खुलेर प्रशंसा गरे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल भने धरान नगएका कारण यो अवसरबाट चुके ।

बालेन्द्र शाहले गरेको धरानेहरुको प्रशंसा उनकै शब्दमा–

हामी सानो हुँदाखेरि नै धरान एकदमै चर्चित, एकदमै फेमस, एकदमै पपुलर सहर रहेको कुरा मलाई सम्झना छ । पहिला धरान घोपा क्याम्पका लागि एकदमै फेमस थियो २० वर्ष अगाडि । त्यो पछाडि धरान सफा बाटोघाटोका लागि एकदमै फेमस थियो । त्यो पछाडि धरानमा सरकारले पैसा दिन पर्दैन, यहीँका मान्छेले पैसा लगाएर बाटो बनाउँछन्, फुटपाथ बनाउँछन् भन्ने कुराका लागि एकदमै चर्चित थियो । आज २० वर्ष अगाडि आएर हेर्दाखेरि धरान एकदमै चर्चित छ । देशमा मात्रै नभएर विदेशमा पनि एकदमै चर्चित छ । यहाँका जनप्रतिनिधिले गर्दा । यहाँका उपमेयरसा’पले गर्दा । वडाध्यक्षज्यूहरुले गर्दा । र, तपाईहरुले गर्दा ।

तपाईहरुले श्रम संस्कृतिलाई देशमा मात्रै नभएर विदेशमा पनि चर्चित बनाउनुभएको छ । सरकारले पैसा देओस् नदेओस् म आफ्नो काम गर्छु भन्ने एकदमै ठूलो उदारहण दिनुभएको छ, यसमा तपाईहरु सबैलाई शुभकामना ।

जसरी हामीले अहिले यो पोडियममा भाषण दिइरहेका छौं, तर ऊ त्यहाँ बच्चाहरु खेलिरहेका छन्, उनीहरुलाई मतलब छैन, पोडियममा कसले बोल्दैछ, के गर्दैछ । धरान पनि यस्तै शहर हो । देशमा जसले जेसुकै गरोस्, धरानलाई मतलब छैन, आफ्नो काम गरेको छ । सरकार जोसुकैको आओस् । प्रदेश सरकार जोसुकैको आओस्, धरानलाई केही फरक पर्दैन, धरानले आफैं धरान बनाउँछ ।

अघि उपप्रमुखजीले भन्नुभो, काठमाडौं पछाडि दुई–तीनवटा कुरामा धरान पर्छ भनेर । तर, काठमाडौंभन्दा अगाडि छ दुई–तीनवटा कुरामा धरान । त्यो श्रम संस्कृति होस्, त्यो यहाँको सुशासन होस्, यहाँको अनुशासन होस् । अझै धरान त फेसनका लागि पनि एकदमै फेमस छ । धरानमा जत्तिको फेसनेबल मान्छेहरु काठमाडौंमा पाइँदैनन् । विशेषतः धरान एकदमै चर्चित ठाउँ हो ।

यो देशमा मात्रै नभएर विदेशभरि अहिले लोप हुँदै गएको श्रम संस्कृति अगाडि बढाउन सक्नुभएको छ । त्यति टाढाबाट आफैंले स्रोत साधन जुटाएर पानी ल्याउन सफल हुनुभो, त्यो एउटा उदाहरण मात्रै हो । त्यो उदाहरणबाट सबैले सिक्नुपर्छ । ७५३ वटै पालिकाले सिक्नुपर्ने उदाहरण हो । प्रदेशले सिक्नुपर्ने, संघ सरकारले सिक्नुपर्ने उदाहरण हो ।

अचेल भनिन्छ, सांसदले केही काम गर्न सक्दैन, मेयर भनेको कार्यकारी हो, उसले पो गर्न सक्छ । उहाँ (हर्क)ले गर्नुभएको काममा मेयर पनि हुनुपर्दैन, सांसद पनि हुनुपर्दैन । उहाँले त्यत्तिकै पनि गर्न सक्नुहुन्थ्यो । यो कुराचाहिँ सांसदहरुले सिक्न जरुरी छ । देशको कुन सांसदलाई हर्क साम्पाङले गरेजस्तो काम गर्न रोक्छ ? कुनै पनि पावर चाहिँदैन, कुनै पनि स्रोत चाहिँदैनरहेछ । मान्छेले ईच्छाशक्ति देखाए त सबै काम गर्न सक्दोरहेछ भन्ने कुरा उदाहरण देखाउनुभएको छ, यो कुरा सांसदहरुले सिक्न जरुरी छ उहाँबाट ।