प्रतिकात्मक तस्बिर

समाचार

स्वास्थ्य शिविर सञ्चालन

By खबरहब

January 06, 2024

सिरहा– चिसोका कारण बालबालिका र ज्येष्ठ नागरिक बिरामी पर्न थालेपछि सिरहाको गोलबजार नगरपालिका–४ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । वडा कार्यालयले उक्त स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

स्थानीय निजी अस्पताल, चिकित्सक र औषधि कम्पनीसँग समन्वय गरेर स्वास्थ्य शिविर आयोजना गरिएको वडाध्यक्ष सकलदेव यादवले जानकारी दिए । स्वास्थ्य शिविरमा एक सय ४० बालबालिकाको स्वास्थ्य परीक्षण गरी औषधिसमेत वितरण गरिएको छ ।

त्यसैगरी स्वास्थ्य शिविरमा दाँतका बिरामी तथा दमका रोगी ज्येष्ठ नागरिकको पनि स्वास्थ्य परीक्षण गरिएको थियो । चिसोले बालबालिका र ज्येष्ठ नागरिक प्रभावित हुन थालेपछि त्यसबाट जोगाउन शिविर सञ्चालन गरिएको वडाध्यक्ष यादवले बताए ।

उनले भने, ‘नियमित बजेट र कार्यक्रम थिएन । तर पनि सहयोग जुटाएर शिविर आयोजना गरेको हुँ । यसबाट गरिब/विपन्न नागरिकलाई लाभ पुगेको छ ।’

स्वास्थ्य शिविरमा डा. विनोद साह र डा. सोनी गुप्ताले स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा उपचार गराउन आउने बिरामीलाई निःशुल्क औषधी वितरण गरिएको वडाध्यक्ष यादवले जानकारी दिए ।