देश/प्रदेश

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

By खबरहब

January 06, 2024

दिनभर आजमा कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक स्थगित, माइतीघरबाट डा. गोविन्द केसीसहित ९ जना पक्राउ, नेकपा एकीकृतको बैठक सकियो, राष्ट्रियसभा उम्मेदवार छान्ने जिम्मा तीन नेतालाई, हेटौँडाको सडक विस्तारमा सहयोग गर्न मुख्यमन्त्री जम्कट्टेलको आग्रह, अस्पतालबाट छुट पाएपछि दुर्गाप्रसाद घर फर्किएलगायतका समाचारले प्रमुख स्थान पाए । 

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक स्थगित नेपाली कांग्रेसले आजका लागि बोलाएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनबारे छलफल गर्न दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश भोलि दिउँसो १ बजेका लागि सारिएको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

माइतीघरबाट डा. गोविन्द केसीसहित ९ जना पक्राउ स्वास्थ्य र शिक्षामा सबै नेपालीको समान पहुँचलगायतका माग राख्दै माइतीघरमा प्रदर्शनमा उत्रिएका डा। गोविन्द केसीसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर र सिंहदरबार वृत्तबाट खटिएको टोलीले माइतीघरबाट पक्राउ गरेको हो।

नेकपा एकीकृतको बैठक सकियो, राष्ट्रियसभा उम्मेदवार छान्ने जिम्मा तीन नेतालाई नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सकिएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टी सचिवालय बैठकले तीन जना नेतालाई राष्ट्रियसभा उम्मेदवार छान्ने जिम्मा दिएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनका अनुसार अध्यक्ष माधवकुमार नेपाल, पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डे र पार्टी महासचिव घनश्याम भुसाललाई जिम्मेवारी दिइएको हो ।

अर्थतन्त्रमा सुधार हुँदै गएको छ: अर्थमन्त्री अर्थमन्त्री डा। प्रकाशशरण महतले अर्थतन्त्रमा सुधार हुँदै गएकाले उद्योग–व्यवसायमा लागेकाहरूले नकारात्मक सोचबाट मुक्त भएर अघि बढ्नुपर्ने बताएका छन् ।

चितवन उद्योग वाणिज्य सङ्घको ५७औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै अर्थमन्त्रीले देशको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएकाले उद्योगी(व्यवसायीले नकारात्मक सोचबाट मुक्त भई व्यवसाय गर्नुपर्नेमा जोड दिए ।

हेटौँडाको सडक विस्तारमा सहयोग गर्न मुख्यमन्त्री जम्कट्टेलको आग्रह बागमती प्रदेश मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हेटौँडा बजार क्षेत्रका सडक विस्तारमा सहयोग गर्न आग्रह गरेका छन् ।

मकवानपुर उद्योग वाणिज्य सङ्घको ५७औँ वार्षिक साधारणसभामा मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारको अधिकारभित्र नपरे पनि प्रदेश राजधानी क्षेत्रका सडक विस्तार गर्नुपर्नेमा जोड दिए ।

कार्यान्वयन हुने योजना मात्रै पञ्चवर्षीय योजनामा समेट्छौँ : मुख्यमन्त्री पाण्डे गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यान्वयन गर्न सकिने योजनालाई मात्रै पञ्चवर्षीय योजनामा समेटिने बताएका छन् ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगले आज तनहुँको बन्दीपुर गाउँपालिका–५ मा आयोजना गरेको दोस्रो पञ्चवर्षीय योजनासम्बन्धी अन्तरक्रियामा मुख्यमन्त्री पाण्डेले कार्यान्वयन गर्न सकिने योजनालाई मात्रै समेट्न सके त्यो प्रभावकारी हुने उल्लेख गरे ।

अस्पतालबाट छुट पाएपछि दुर्गाप्रसाद घर फर्किए उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना घर फर्किएका छन् ।

बिना सुनुवाइ भारतीय जेलमा चार दशक बिताएपछि २०७७ सालमा घर फर्काइएका उनलाई गत वर्ष परिवारले चितवनको खैरहनी नगरपालिका–११ स्थित ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ साइक्याट्रीमा उपचारका लागि भर्ना गराएका थिए ।

कञ्चनपुरमा जलपन्छी गणना सुरु यहाँ आजदेखि जलपन्छी गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अगुवाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पन्छी संरक्षण सङ्घ, हिमालयन नेचरगाइड, शुक्लाफाँटा नेचर गाइड एसोसिएसनलगायत सङ्घसंस्थाले जलपन्छी गणना थालेका हुन् ।