काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरूको ध्यान लोकतन्त्रको रक्षा र संरक्षणमा केन्द्रित रहेको बताएका छन् ।
फत सञ्चार क्लबको १४ औं वार्षिकोत्सवका अवसरमा मंगलबार भक्तपुरमा आयोजित कार्यक्रममा सभापति लामिछानेले देशमा कयौं नेता र दलहरूको जन्म भएपनि आफूहरूको ध्यान भने लोकतन्त्रको रक्षा र संरक्षणमा केन्द्रित रहेको बताएका हुन् । जुनसुकै परिस्थिति आएपनि मुलुकको लोकतन्त्रको हरण नहोस् भनेर काम अघि बढाउने उनले बताए ।
त्यस्तै सभापति लामिछानेले संविधानको रक्षा र परिवर्तनको संस्थागतका साथै सरकारले ल्याउने कानूनहरूलाई ध्यानमा राखेर प्राथमिकताका आधारमा रास्वपाले सदनमा जिम्मेवार भएर भूमिका निर्वाह गर्ने धारणा राखे । उनले आफ्ना बारेमा उठेका बिभिन्न प्रश्नहरूको सामना गर्न आफू तयार रहेको र आफुप्रतिको आरोप र लान्छानाप्रति आक्रोशित नभएको बरु यसले आफूलाई प्रष्ट पार्ने मौका पाएको जिकिर गरे । राजनीतिको सेवा र पत्रकारिताको सेवा एकैपटक सम्भव नहुने भन्दै पत्रकारितालाई राजनीतिबाट पर राख्न उनले सुझाव दिए ।
कार्यक्रममा नेपाल टेलिभिजनका पत्रकार एवं पत्रकार महासंघका पूर्व उपाध्यक्ष दिलिप कुमार थापा मगर, पत्रकार शिव कुमार भट्टराई लगायतलाई सम्मान गरिएको थियो ।