काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले विदेशी शक्तिको इशारामा नेपालबाट हिन्दु राष्ट्र हटाइएको आरोप लगाएका छन् ।
मंगलबार विराटनगरमा राप्रपा नेपाल मोरङले आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा नेपालका अध्यक्ष थापाले राजासंग संवैधानिक राजसंस्था राख्ने सहमति भएपनि तत्कालीन सात दलले सम्झौता उल्लंघन गरेको र विदेशी शक्तिको इशारामा नेपालबाट हिन्दु राष्ट्र र राजसंस्था हटाइएको आरोप लगाएका हुन् ।
मुलुकलाई सनातन हिन्दु राष्ट्र बनाउन र संवैधानिक राजसंस्था कायम गर्न आफूहरूले आन्दोलन गर्नुपर्ने अवस्था आएको उनले बताए । थापाले राजनीतिक दलहरूको अकर्मण्यताका कारण मुलुकको अर्थतन्त्र धराशायी बन्दै गएकाले जनताले अवस्था र व्यवस्था परिवर्तन चाहेको धारणा राखे ।
उनले सत्ताको खेलको नियम परिर्वतन नभए सम्म भ्रष्ट व्यवस्था र भ्रष्ट शासनबाट जनताले मुक्ति नपाउने जिकिर गरे ।