फाइल तस्वीर

देश/प्रदेश

हिउँमा फसेका आठ जनाको हेलिकप्टर प्रयोग गरी उद्धार

By खबरहब

March 06, 2024

जुम्ला- जुम्लाको तातोपानी गाउँपालिका– ४ स्थित गिडीदह क्षेत्रमा पर्ने बजेडी पाटनमा जडीबुटी सङ्कलन गर्न गएका सोही गाउँपालिका–७ बाँरागाउँ र मुछालदेउ गाउँका स्थानीयवासी हिउँमा फसेपछि हेलिकप्टरबाट उद्धर गरिएको छ ।

यही फागुन १८ गते पाटनमा सम्पर्कविहीन भएको जानकारी आएपछि हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिए । हिउँमा फसेका आठै जनालाई सकुशल हेलिकप्टरबाट उद्धार गरिएको छ ।

पालिका–४ स्थित गिडिदहको शिरान बजेडी पाटनमा फसेकालाई स्थानीय तह र प्रशासनको पहलमा कर्णाली प्रदेश सरकारको समन्वयमा हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाली सेनाको हेलिकप्टरमा बजेडिपाटनदेखि जुम्ला विमानस्थल तीन चरणमा उद्धार गरेको हो ।

उद्धार गरिएकामध्ये तातोपानी गाउँपालिका–७ का दिया रावत, हरिशोभा रावत, सुशीला रावत, गोरी रावत, जगमती रोकाया र वडा नम्बर ८ का अत रावत, संसार रावत, गोरी रावत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले बताए ।