समाचार

सञ्चारमन्त्री शर्माले गरिन् पदभार ग्रहण

By खबरहब

March 06, 2024

काठमाडौं- नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शपथलगत्तै सिंदरबारमा पुगेर पदभार ग्रहण गरेकी छिन् ।

उनलाई मन्त्रालयमा कर्मचारीहरुले स्वागत गरेका थिए । सो क्रममा उनले नेपालमा व्याण्डविथ प्लेटफर्म (अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे) को सम्भावना अध्ययनका लागि समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरेकी छिन्  । उनले हाल नेपालमा अन्तर्राष्ट्रिय इन्टरनेट व्याण्डविथको आयात तथा वितरणको अवस्था, नेपालमा व्याण्डविथ प्लेटफर्मको सम्भावना र सान्दर्भिकताको अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन बुझाउने गरी पहिलो निर्णय गरेकी हुन् ।

पदबहालीपछि मन्त्री शर्माले सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्न सबै गम्भीर भएर अघि बढ्नुपर्ने बताइन् । उनले सुशासनको यात्रामा अब कुनै पनि बहानामा काम नगर्ने छूट नरहेको उल्लेख गरिन् ।

यसअघि शर्माले विसं २०७९ माघ ३ गतेदेखि विसं २०८० फागुन २१ गतेसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन् ।