भोजपुरमा जन्मिएका कवि श्रवण मुकारुङले शैलुङको बखान गाएर आजभन्दा अढाई दशक अघि गीत कसरी लेखे होलान् ? यो संयोग थियो कि काकताली ? हो, त्यो संयोग थियो । उनलाई त्यही गीतले स्थापित गराउनु, राजधानी नजिकैको पर्यटकीय गन्तव्य शैलुङको चर्चा चुलिनु चाहिँ अचम्मको संयोग हो । गीत लेखेको धेरै वर्षपछि त्यही गीतको स्वामित्व लिन पनि उनी शैलुङ पुगे । त्यसो त कवि मुकारुङ आफैँ पनि ट्याम्केको फेदमा हुर्किएका हुन् ।
गोठालो, खेतालो, खर्क, शैलुङ उनको जीवन पद्धति हुन् । खर्कसँग जोडिने तामाङ, शेर्पा बस्तीसँग उनको भलिभाँती परिचय छ । त्यही परिचय गीतमा उतार्दा त्यसले कहिल्यै पुरानो नहुने सुनजस्तै जीवन पायो । प्ले ग्रुपका विद्यार्थीदेखि बिहे, बनभोज सर्वत्र यही गीतमा छमछमी नाचेको देख्न पाइन्छ । शैलुङको भूगोल समेटिएको यो गीतसँग अर्को पनि रोचक संयोग छ । समाजले नै स्वीकृति दिएपछि शैलुङ मात्र हैन, उनको अर्को गीतमा उनिएको ‘तारेभीर’को प्रसंग पनि भावात्मक भएर जोडिन थालेको छ ।
त्यतिबेला श्रवण मैतिदेवीमा बस्थे । संगीतकार शिलाबहादुर मोक्तान उनको डेरामा आएर एउटा गीत लैजाने अड्डी कसे । अलि अलि खेस्रा गरेको ‘माथि माथि शैलुङेमा….’ गीत थियो । तर त्यो गीत पूरा नभएको र त्यो गीतले आफ्नो साख नबढ्ने खालको भन्दै दिन इन्कार गरे । शिलाबहादुरको करबलका अघि उनको केही लागेन । त्यही गीत माइलस्टोन भयो ।
देशभरकै शैलुङको एकाधिकार बोकेको त्यही गीतमार्फत ‘पाडो किन्दा भैंसी उपहार’का रुपमा श्रवणले प्राप्त गरे । हुन त श्रवणले गीत लेख्दा शैलुङ पर्यटकीय गन्तव्य नभएर दुःख र पीडा बोकेको एउटा थुम्कोमा सीमित थियो ।
शैलुङ फेरिएको छ । प्रकृतिको लालिमाले मात्र हैन, मानिसको आकर्षणले शैलुङको आत्मामा प्राण भर्ने काम गरेको छ । सांस्कृतिक, धार्मिक, साहसिकदेखि कृषि पर्यटनका बहुआयामिक क्षेत्रमा शैलुङको वर्चस्व छ । सडक यातायातको सर्वत्र पहुँच छ । प्रचारप्रसार उतिकै छ । शैलुङको दुःख झेल्न नसकेर बसाइँ गएकाहरू पनि गाउँको मुहार फेरिएसँगै घर फर्किन थालेका छन् । शैलुङका हरेक घरबाट देखिने हिमालय पर्वतमालाले ३ सय ६४ दिन स्वागत गरिरहेका हुन्छन् । चिसो मौसम भएर पनि वर्षमा तीन बाली लाग्ने अनौठो प्रकृति छ यहाँ । दोलखाको मुढे आलुको लागि प्रख्यात छ । तर मुढेमा आउने आलुको प्रमुख श्रोत भनेकै शैलुङ हो । यहाँ फल्ने आलु, काउलीले सिजनमा काठमाडौंको तरकारी बजारमा उल्लेख्य उपस्थिति जनाउने गरेको छ ।
बसन्त ऋतु र शैलुङ यतिबेला शैलुङका भीरपाखामा प्रकृति फुलेको छ । चुत्रो, लालीगुराँस, लोक्तादेखि सामान्यभन्दा सामान्य वनस्पति फुलेर फैलिएका छन् । तपाईं लालीगुराँस रातो मात्र हुन्छ भन्नेमा ढुक्क हुनुहुन्छ भने त्यहाँ पुगेपछि गुलावी, सेता लालीगुराँस तपाईंको स्वागतमा कलश भएर उभिएको पाउनुहुनेछ । हिउँदमा सेतो हिउँले बेरेर राख्ने शैलुङङ हरियालीमा रमाएको छ । कवि शिरोमणिले ऋतुविचारमा बसन्तु ऋतुको बखान गर्दै लेखेका थिए– बेगिन्ती पुष्पका भेद बेगिन्ती रुप वासना । एकै प्रवाहमा चल्छन् धन्य हो विधि कल्पना ।। लिई सौन्दर्य माधुर्य सौकुमार्य थपी वहाँ । पुष्पको सिर्जना गर्ने विधाता धन्य हो अहा ।।
कविको कलमले मात्र हैन, भगवान श्रीकृष्णले गीतामा ऋतुहरूमा बसन्त ऋतु आफू रहेको बताएका छन् । प्रकृति नै सुन्दर देखिएपछि त्यसको प्रभाव मानिसको अंगप्रत्यंगमा पर्ने नै भयो । यसबेला प्रकृतिले काँचुली फेर्छ । न जाडो, न गर्मीको यसबेला वनस्पतिमा नयाँ पात पलाउँछ, पुराना पात झर्छ । पग्लिएको हिउँलाई फुलेका फूलले विश्राम दिन्छन् । पारखीहरू भन्छन्– यो मनमोहक ऋतु हो, अझ प्रकृतिको यौवनावस्था हो । यौवनावस्था सबैको प्रियकर हुन्छ ।
आध्यात्मिक भाषामा बसन्त ऋतुमा पञ्चतत्व (पृथ्वी, वायु, जल, आकास र अग्नि)ले प्राकृत रूप धारण गर्छन् । यसबेला आकास स्वच्छ, सन्तुलित वायु, सूर्यको ताप मलिन र जल सङ्लो हुन्छ ।
प्राचीनकालमा कसैप्रति आफ्नो प्रेम र आकर्षणको भाव व्यक्त गर्न यो ऋतु राजा मानिथ्यो । राजमहल र राजकीय रेखदेखमा रमाइलो गर्ने प्रचलन थियो । रामायणमा उल्लेखित एउटा प्रसंगअनुसार श्रीरामले वसन्त ऋतुमै शबरीलाई भेटेका थिए । रावणद्वारा सीता हरण भइसकेपछि राम उनको खोजीमा दक्षिणतर्फ बढे । उनी विभिन्न स्थान चाहार्ने क्रममा दण्डकारण्य पुगे । त्यही शबरी बस्थिन् । राम उनको कुटीमा पुगे । शबरीले रामलाई देखेपछि प्रेमवश आफ्नो होस, हवास गुमाइन् र मीठा बयर आफूले चाख्दै रामलाई ख्वाउन थालिन् । प्रेमले भरिएको यस घटनालाई रामकथाको गायन गर्ने सबैले आआफ्ना ढंगले प्रस्तुत गरेका छन् । त्यसैले राग, रंग र उत्सका दृष्टिले यो ऋतुको बखान गरिन्छ । शैलुङको तीरदेखि शिरसम्म धार्मिक मान्यतासँग सम्बन्धित थुप्रै थलो भेटिन्छ ।
सडक सुविधा जोडिएपछि शैलुङ अब दुर्गम रहेन । शैलुङ डाँडाको बेसक्याम्प रहेको कालापानीसम्म सडक सुविधा छ । काठमाडौँबाट करिब १२० किलोमिटरको दूरीमा रहेको यो ठाउँ अनुपम दृश्यको शृंखला छ । दोलखा र रामेछापको पानीढलोका रुपमा रहेको शैलुङ डाँडाभित्र १ सय ८ थुम्का रहेका छन् । ती थुम्का प्रकृतिले छिनोले तयार गरेको रोमाञ्चक आकारमा छन् ।
महाभारत पर्वत शृङ्खलाको अग्लो ठाउँको रूपमा चिनिएको शैलुङको मौसमको पूर्वानुमान गर्न अलिक कठिन नै छ । जाडो याममा दिउँसो पारिलो घाम लागिरहँदा भोलिपल्ट हिउँसँग पौँठेजोरी खेल्नुपर्ने अवस्था पनि आउन सक्छ ।
अझ यहाँका बासिन्दाका अनुसार शैलुङले समय अनुसार आफ्नो रूप परिवर्तन गरिरहन्छ । बिहानसम्म देखिएको धौलागिरि, अन्नपूर्ण, मनास्लु, गणेश, लाङ्टाङ, गौरीशङ्कर हिमाल कति बेला बादलको घुम्टो ओढ्छन् र कतिबेला मुस्कुराउँछन् भन्ने पत्तो नै पाइँदैन ।
कालापानीसम्मको गाडीको यात्रापछि सुरु हुने मिनी ग्रेटवालको उकालो र प्राकृतिक वायुले सबैको मनमा उत्साह जगाउँछ । यसलगत्तै शैलुङको पहिलो थुम्कोले जोकोहीलाई पनि आफ्नो मनमोहक दृश्यले स्वागत गर्छ । धार्मिक कथन अनुसार कलियुग सुरु हुनै लाग्दा तपस्या गरिरहेका ऋषिमुनिहरु पाप देख्न नपरोस् भन्नको लागि नै विलीन भएको र ऋषितपोभूमिमा थुम्का उत्पन्न भएको मानिन्छ ।
शैलुङ नाम तामाङ भाषाबाट राखिएको हो । ‘शै’ भनेका सय र ‘लुङ’ भनेको थुम्का हो । यहाँबाट मनमोहक गौरीशंकर, सगरमाथा, माछापुच्छ्रे, गणेश हिमाल लगायत काठमाडौँ उपत्यका र तराईका केही भागहरू समेत देखिने भएकाले यो स्थान अझ रमणीय पर्यटकीय स्थल बन्न सफल भएको हो ।
यहाँ शैलुङ्गेश्वर महादेवको मन्दिर, १२ वर्षमा एकपटक खुल्ने गदौरी जस्ता धार्मिक रूपले चर्चित गुफा पनि अवस्थित छ । चारैतिर देखिने मनोरम हिमशिखर, वनैभरि नाच्ने डाँफे–मुनाल, चौँरी र विभिन्न जातजातिका चराचुरुङ्गी एवं जंगली जनावरहरूले शैलुङ डाँडा धार्मिक एवं पर्यटकीय महत्व बोकेको स्थानको रूपमा चिरपरिचित रहँदै आएको छ ।
जसले देखे ग्रेटवालको सपना काठमाडौँमा बसेर पढेका भरत दुलाल विद्यार्थी राजनीति गरेर खारिएका व्यक्ति हुन् । पार्टीले टिकट दिएपछि आफ्नै थातथलो शैलुङमा गाउँपालिकाको नेतृत्व लिने अवसर पाए । जनताको अभूतपूर्व समर्थन पाएपछि उनलाई नियमित भन्दा केही फरक काम गर्ने भोक जागिरहन्थ्यो । विकासको पहिलो सर्त सडक यातायात हो भन्ने बुझाइ छँदै थियो । चारैतिर सडक यातायातको विकासमा जुटे । गाउँलाई कृषि र पर्यटनको हब बनाउने महत्वाकांक्षी योजना लिएर उनी सर्वत्र चाहार्न थाले । इच्छाले मात्र विकास नहुने भएपछि श्रोत जुटाउन चुनौतीपूर्ण थियो । बाटोको अवस्था यति जीर्ण थियो कि शैलुङबाट मुढेसम्म आलु ल्याउन किसानले प्रतिकिलो १० रुपियाँ ढुवानी वापत व्यहोर्नुपथ्र्यो ।
गाउँको नेतृत्वमा पुगेपछि भरतले संसारमा ख्याति कमाएको चीनको ग्रेटवाल सम्झिए । आफैंलाई सोधे– ‘शैलुङलाई मिनी ग्रेटवाल बनाएर जोड्न सम्भव छ ?’ उनको अन्तरआत्माले हरियो बत्ती बाल्यो । संयोगवश त्यतिबेलै संघीय सरकारले देशभरिबाट पर्यटन प्रवर्द्धनमा सघाउने खालका सयवटा आकर्षक प्रस्ताव माग्यो । भरतलाई सरकारको यो प्रस्ताव आफ्नै लागि हो जस्तो लाग्यो । कति पनि ढिला नगरी उनले गाउँपालिकामार्फत ७ करोडको प्रस्ताव तयार गरे । ‘अलि बढी पैसा प्रस्ताव गरियो भने मन्त्रालयले घटाउँदा पनि राम्रै रकम पाइन्छ भन्ने लागेर स्थानीय निकायले ३० प्रतिशत व्यहोर्ने गरी प्रस्ताव पठाइयो । संयोगवश त्यो परियोजनाका लागि धेरै प्रस्ताव गएन । सरदर पाँच करोडमा स्वीकृत भयो ।
चीनको ग्रेटवाल पुग्न नसकेकाहरूले शैलुङमा रहेको ग्रेटवालमार्फत आफ्नो सोख पूरा गर्ने गरेका छन् । त्यहाँ खिचिएका फोटो चीनको ग्रेटवालभन्दा कम छैन । अहिले त हरेक उमेर समूह यहाँ पुगेर ‘वाह’ उच्चारण गर्छ ।
प्रसिद्ध पर्यटकीय गन्तव्यको रूपमा रहेको शैलुङ क्षेत्रमा पर्यटकलाई आकर्षणको मेनु थप्नकै लागि मिनी ग्रेटवालको अवधारणा ल्याइएको पूर्वअध्यक्ष भरत दुलाल बताउँछन् । पाँच सय मिटर लामो ग्रेटवाल अझै विस्तार गर्न सकिए त्यसले पर्यटकको बसाइ थप्ने उनको विश्लेषण छ । यस्तै कामको उच्च कदर गर्दै उनले नेतृत्व गरेको पालिका त्यतिबेला पुरस्कृत पनि भयो ।
यही अवधारणा पूरा गर्न गाउँपालिकाले ११ सय मिटर लामो ग्रेटवाल निर्माण गर्ने योजना बनाएको थियो । तर बजेट अभावले पहिलो चरणमा पाँच सय मिटर मात्रै बनाइएको हो ।
अनुपम काम गरेर लोकप्रिय बनेका दुलाल अहिले कुनै कार्यकारी पदमा छैनन् । न दलले गाउँपालिकामा दोहोर्याउन आवश्यक ठान्यो, न त्यो भन्दा माथिल्लो पदमै पत्यायो । यद्यपि जनताको मनमा बस्न सकेकोमा भने उनलाई आत्मगौरव छ ।