काठमाडौं- इलाममा बैशाख १५ गते सम्पन्न उपनिर्वाचनको परिणामलाई लिएर रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई विपक्षीहरुले जिस्क्याइरहेका छन् । अब रास्वपाको प्रभाव खस्किन थालेको विश्लेषण इलामको परिणामलाई हेरेर गरिँदैछ ।
इलामको उपचुनावमा ०७९ को भन्दा रास्वपाको भोट केही बढेकै देखिए पनि सन्तोष गर्ने स्थिति नरहेको स्वयं रास्वपाका नेताहरु स्वीकार्छन् । उपचुनावमा खटिएर काठमाडौं फर्किएका रास्वपाका एक नेता भन्छन्,‘ हामीले चाहेको नतिजा यस्तो होइन । मिसन ०८४ का लागि हामीले इलामबाट पाठ सिक्न र समीक्षा गर्न जरुरी छ ।’
हुन त इलाम यसअघि पनि नयाँ दलको प्रभाव खासै विस्तार भएको जिल्ला भने होइन । ०६४ सालमा देशैभरि माओवादीको उभार आउँदा एमाले र कांग्रेसलाई नै रोजेका इलामे मतदाताले हत्तपत्त मत परिवर्तन गर्ने गरेको पाइँदैन । ०७९ को चुनावमा पनि इलामका जनताले रास्पवालाई भन्दा कांग्रेस-एमालेलाई नै रुचाएका थिए । बरु यसपालि मुढा र घण्टीमा भोट बढ्दा कांग्रेस र एमालेले केही कम मत पाएका छन् ।
पूर्वी पहाडमा घण्टीको खासै आवाज दह्रो नसुनिए पनि निर्वाचन क्षेत्र र जनसंख्या समेत बढी रहेका झापा, मोरङ र सुनसरीमा भने रास्वपालाई रोज्ने ‘ट्रेन्ड’ ०७९ मा राम्रैसँग देखिएको थियो । तराईको यो फेरिँदो सन्तुलनले ०८४ को चुनावमा खास अर्थ राख्न सक्छ, नयाँ र पुराना दुबै दलका लागि ।
मतदाता र निर्वाचन क्षेत्रका हिसाबले कोशी प्रदेशका तीन जिल्ला (झापा, मोरङ र सुनसरी) काठमाडौं उपत्यका जत्तिकै महत्वपूर्ण छन् । काठमाडौं उपत्यकाका तीन जिल्लामा १५ निर्वाचन क्षेत्र छन् । झापा, मोरङ र सुनसरीमा पनि १५ वटै निर्वाचन क्षेत्र छन् । कोशी प्रदेशमा समग्र २८ निर्वाचन क्षेत्र छन् ।
गत ०७९ को चुनावमा पूर्वी तराईका तीन जिल्लामा जित निकाल्न नसके पनि रास्वपाले आफ्नो शक्ति ह्वात्तै बढाएको थियो । समानुपातिकतर्फको मत हेर्दा समग्र कोशी प्रदेशमा माओवादी केन्द्रलाई समेत उछिन्दै रास्पवा तेस्रो दल बन्न सफल भएको थियो ।
तर, प्रदेशको चुनावमा भाग नलिने संकीर्ण नीतिका कारण कोशी प्रदेशसभामा ५ सिट जित्ने समानुपातिक मत पाउँदा पनि रास्वपाले जनमतको सदुपयोग गर्न सकेन ।
प्रदेशसभाको चुनावमा भाग लिएको भए अहिले कोशीको सरकार गठनमा रास्वपा निर्णायक दल बन्न सक्थ्यो । तैपनि संविधान मान्ने तर प्रदेशको चुनाव बहिस्कार गर्ने आवेगपूर्ण नीतिका कारण सबै प्रदेशसभामा रास्वपा शून्य अवस्थामा रह्यो ।
समानुपातिकतर्फको मतका आधारमा विश्लेषण गर्दा गत चुनावमा रास्पवाले राम्रो मत पाएको थियो । उसले माओवादीलाई उछिन्दै चौथो दलमा झारिदिएको थियो ।
कोशीमा खसेको करिब साढे १९ लाख मतमध्ये एमालेले ६ लाख ४२ हजार र कांग्रेसले ५ लाख ५५ हजार मत पाउँदा रास्पवा २ लाख १४ हजार मतका साथ तेस्रो दल बनेको थियो ।
कोशीमा माओवादीले १ लाख ८८ हजार र राप्रपाले १ लाख ३० हजार समानुपातिक मत पाएका थिए ।
जसपा, एकीकृत समाजवादी र अन्य साना दलले पाएको कुल मत २ लाखको हाराहारीमा थियो ।
समानुपातिकमा रास्वपाले बटुलेको यो मत प्रदेशसभामा रुपान्तरण हुन पाएको भए अहिले कोशी प्रदेशसभामा राप्रपाको भन्दा बढी सिट रास्वपाको हुने थियो ।
सवा २ लाख मत, १० स्थानमा तेस्रो
गत संसदीय चुनावमा धरान बजारसमेत समेटिएको सुनसरी क्षेत्र नम्बर १ बाट रास्वपा उम्मेदवार गोमा तामाङ दोस्रो स्थानमा आइन् । माओवादी र कांग्रेसका साझा उम्मेद्वारलाई पछि पार्दै गोमाले १६ हजार ६०६ मत ल्याइन् । तर, उनले एमाले–जसपाका साझा उम्मेदवार अशोक राईलाई ४५३ मतले उछिन्न नसक्दा जित निकाल्न सकिनन् । अलिकति मिहेनत पुगेको भए अहिले धरान रास्पवाको कब्जा हुने थियो ।
कोशी प्रदेशका कुल २८ सिटमध्ये रास्वपा दोस्रो भएको यही एउटा सिट हो । तर, भर्खरै खुलेको पार्टीले जित निकाल्न नसके पनि १० निर्वाचन क्षेत्रमा राम्रो मतका साथ तेस्रो बन्न पुगेको थियो ।
रास्वपाले सुनसरी १ मा दोस्रो स्थान पाएको थियो भने सुनसरी २ र ३ मा तेस्रो स्थान हासिल गरेको थियो । सुनसरी ४ मा भने कांग्रेस, एमाले, राप्रपा र माओवादीभन्दा पछाडि पाँचौं स्थानमा थियो ।
मोरङका ६ वटा निर्वाचन क्षेत्रमध्ये रास्वपाले तीनवटा क्षेत्रमा राम्रो मतका साथ तेस्रो स्थान पाएको थियो । मोरङ १, २ र ६ नम्बर क्षेत्रमा रास्वपा तेस्रो बनेको थियो ।
समग्र कोशी प्रदेशका २८ सिटमध्ये रास्वपा १० स्थानमा तेस्रो बनेको थियो भने एउटामा दोस्रो बनेको थियो ।
हेर्नुहोस् सूची–
कोशी प्रदेशका २८ सिटमा पहिलो, दोस्रो र तेस्रो दल
क्रसं | निर्वाचन क्षेत्र | पहिलो दल | दोस्रो दल | तेस्रो दल |
१ | ताप्लेजुङ | एमाले | माओवादी | लिम्बुवान |
२ | पाँचथर | एमाले | कांग्रेस | राप्रपा |
३ | इलाम १ | एमाले | ए समाजवादी | मंगोल नेशनल |
४ | इलाम २ | एमाले | कांग्रेस | पहिचानवादी |
५ | झापा १ | कांग्रेस | एमाले | रास्वपा |
६ | झापा २ | एमाले | स्वतन्त्र | माओवादी |
७ | झापा ३ | राप्रपा | कांग्रेस | रास्वपा |
८ | झापा ४ | एमाले | कांग्रेस | रास्वपा |
९ | झापा ५ | एमाले | कांग्रेस | रास्वपा |
१० | मोरङ १ | कांग्रेस | एमाले | रास्वपा |
११ | मोरङ २ | एमाले | कांग्रेस | रास्वपा |
१२ | मोरङ ३ | कांग्रेस | एमाले | राप्रपा |
१३ | मोरङ ४ | माओवादी | एमाले | राप्रपा |
१४ | मोरङ ५ | स्वतन्त्र | माओवादी | जसपा |
१५ | मोरङ ६ | कांग्रेस | एमाले | रास्वपा |
१६ | सुनसरी १ | जसपा | रास्वपा | माओवादी |
१७ | सुनसरी २ | एमाले | कांग्रेस | रास्वपा |
१८ | सुनसरी ३ | एमाले | कांग्रेस | रास्वपा |
१९ | सुनसरी ४ | कांग्रेस | एमाले | राप्रपा |
२० | धनकुटा | एमाले | कांग्रेस | स्वतन्त्र |
२१ | तेह्रथुम | कांग्रेस | एमाले | लिम्बुवान |
२२ | संखुवासभा | कांग्रेस | एमाले | रास्वपा |
२३ | भोजपुर | माओवादी | एमाले | नेपालका लागि नेपाली |
२४ | सोलुखुम्बु | माओवादी | कांग्रेस | जसपा |
२५ | खोटाङ | माओवादी | एमाले | जसपा |
२६ | ओखलढुंगा | कांग्रेस | एमाले | जसपा |
२७ | उदयपुर १ | कांग्रेस | एमाले | राप्रपा |
२८ | उदयपुर २ | एमाले | कांग्रेस | स्वतन्त्र |
माओवादीबाट पाठ सिक्न जरुरी
जनताले मन पराए पनि भोट ह्वारह्वारी खन्याउँछन् तर काम राम्रो भएन भने उपियाँले छाडे जसरी जनताले छाड्छन् भन्ने दृष्टान्त रास्वपाले माओवादीबाट सिक्न सक्छ ।
पहिलो संविधानसभाको चुनाव ०६४ मा पूर्वी नेपालमा माओवादीको उभार नै आएको थियो । धनकुटाका दुबै क्षेत्र माओवादीले जितेको थियो ।
पहिलो संविधानसभा चुनावमा झापाबाट केपी शर्मा ओली र कृष्ण सिटौलाजस्ता ठूला नेताहरु माओवादीका सामान्य उम्मेदवारसँग हारेका थिए । मोरङमा भरतमोहनको निर्वाचन क्षेत्रमा समेत माओवादीले जित निकालेको थियो । सुनसरीको धरानजस्तो एमालेको गढबाट पनि ०६४ मा माओवादीले जितेको थियो । तर, ०७० को दोस्रो संविधानसभामा माओवादीको प्रभाव खहरे सुकेजसरी माओवादीको प्रभाव सुक्यो ।
गत ०७९ मा झापा, मोरङ, सुनसरीबाट जित निकाल्न नसके पनि रास्वपाले जुन उत्साहजनक मत पाएको थियो, अब त्यसलाई बचाउँदै ०८४ मा जित निकाल्ने या माओवादीजस्तै सुकेर सानो हुने ? यो चुनौतीपूर्ण मोडमा उभिएको छ रास्वपा ।
भर्खरै उपनिर्वाचन सकिएको कोशी प्रदेशमा मात्र होइन, काठमाडौं र समग्र देशभरि नै रास्वपा एउटा चुनौतीपूर्ण परीक्षाको घडीमा उभिएको प्रतीत हुन्छ । नेताहरुले अलिकति खेलाँची गरे पनि विगतमा साझा विवेकशीलको प्रभाव सेलाएजस्तै नहोला भन्ने अवस्था छैन ।
कोशी प्रदेश रास्वपाका लागि एउटा ‘केस स्टडी’ हुन सक्छ ।