सूचना-प्रविधि

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रूपमा सेवा सुरु

By खबरहब

May 06, 2024

काठमाडौं– ‘इन्ड्राइभ’ विशेष गरी सबैलाई थाहा होला । इन्ड्राइभ धेरैलाई पठाओ भन्दा सस्तो हुने धेरैको मान्यता स्वरूप पनि यसको प्रयोग दिन प्रतिदिन बढ्दै गएको छ ।

राइड सेयरिङ एप इन्ड्राइभले आधिकारिक रूपमा आजबाट सेवा सुरु गरेको छ । आज यहाँ आयोजित शुभारम्भमा इन्ड्राइभ नेपालका निर्देशक रिता पोखरेलले आजबाट औपचारिक रूपमा सेवा सुरु भएको जानकारी दिइन् ।

उनले भनिन्, ‘हामीले केही वर्ष परीक्षणका लागि सेवा सुरु गरेका थियौँ, केही कानूनी प्रक्रिया पूरा गरी आजदेखि औपचारिकरुपमा सेवा सुरु गरेका छौँ’। उनले केही समयपछि चालक र यात्रुको बीमा पनि गरिने बताइन् । उनले राइडरहरुले सेवा उपयोग गरे बापत कम्पनीलाई १० प्रतिशत सेवा शुल्क बुझाउनुपर्ने समेत जानकारी दिइन् ।

कम्पनीले आजै भुक्तानी सेवा प्रदायक आईएमई पेसँग सहकार्य गर्ने घोषणा गरेको छ । इन्ड्राइभले हाल यो सेवा काठमाडौँ, पोखरा, भरतपुर उपलब्ध हुने र आगामी दिनमा अन्य सहरमा पनि सेवा बिस्तार गर्दै जाने कम्पनीको भनाइ छ । कम्पनीले राइड सेयरिङबाहेक, कुरियर, कार्गो सेवा पनि उपलब्ध गराउने निर्देशक पोखरेलको भनाइ छ ।

इन्ड्राइभ एसिया प्यासिफिक कम्युनिकेसन्स लिड पवित नन्दा आनन्दले इन्ड्राइभको सेवा आधिकारिक रूपमा नेपालमा सुरु गर्न पाउँदा हर्षित रहेको बताए । उनले भने, ‘हाम्रो लागि नेपाली बजार अत्यन्तै महत्त्वपूर्ण छ र हाम्रा सेवाहरूले रोजगारी प्रदान गर्नेमा हामी विश्वस्त छौँ ।’