२०७९ मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनपछिको १८ महिनाबीचमा धेरै राजनीतिक उतारचढाव आइसकेका छन् । संसद्भित्रको समीकरण फेरबदल भएको छ । त्यसका बाछिटाका रुपमा एकपछि अर्को गर्दै अस्थिरताका सङ्केतहरू सबै प्रदेशमा देखिएका छन् । राजनीतिक स्थिरताका लागि समृद्धिका नारा लगाउँदै राजनीतिक नेतृत्वले हरेक कालखण्डमा समीकरण फेर्ने, आफूअनुकूल सरकार बनाउने क्रम जारी छ । त्यही राजनीतिक परम्पराबाट गुज्रिएको शृङ्खलाको अर्को अध्याय अहिलेको नयाँ समीकरण हो । सत्ता समीकरणमा तलमाथि हुँदा त्यसको असर प्रदेशमा लगातार परिरहेको छ । उता एमाले–माओवादी समीकरण भत्काएर नेपाली कांग्रेस नयाँ सरकार गठनको कसरत गर्दै छ । यीसहितका विषयमा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य सञ्जयकुमार गौतमसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :
नेपाली कांग्रेस अहिलेको समीकरणविरुद्ध सत्ताको नयाँ ढोक्सा थापिरहेको छ । उपेन्द्र यादवलाई प्रधानमन्त्रीको ललिपप देखाउँदा जनता समाजवादी पार्टी नेपाल फुट्यो । अहिले माधव नेपाललाई त्यही देखाउँदै छ भन्ने छ । फेरि सत्ता समीकरणको ढोक्सा थापेर हिँड्नु भएको हो ?
यस्तो कुरा अरुले काम नपाएर, आफूतिरको विरोधलाई पन्छाउन गरेको हल्ला हो । कांग्रेसले सत्ताको ढोक्सा थाप्नु पर्ने आवश्यकता छैन । अहिले मतलब पनि छैन, हामी बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्दैछौँ ।
पछिल्लो समयमा संसद्को गतिरोध हटेको छ । सहकारी प्रकरणमा संसदीय छानबिन समितिले काम पनि थालेको छ । त्यसको नतिजा प्रतिक्षाको विषय बनेको छ । अब
कांग्रेसले माधव नेपाललाई बोलाएर प्रधानमन्त्रीको प्रलोभन देखाउन किन लागेको ?
दलगत राजनीतिमा पुष्पकमल दाहाल प्रचण्डले कोर्स करेक्सन गरेर नयाँ गठबन्धन निर्माण गर्नु भएको हो । हामीले त पहिला गठबन्धनबाट चुनाव नै लडेका हौँ । तर बीचमा पार्टी टुट्यो । पछि एमाले र माओवादीको नयाँ समीकरण बन्यो । यसले राजनीतिलाई अस्थिरतामा लगेको देखियो ।
यो गठबन्धनले नयाँ चमत्कार गर्छ भन्नेमा हामी छैनौँ । यो अस्वाभाविक छ, अप्राकृतिक छ । हामीलाई यो धेरै टिक्दैन भन्ने लाग्छ । यो आफ्नै कारणले नासिने, मासिने र सिद्धिने बाटोमा जान्छ । ठूलो पार्टीको हैसियतले कांग्रेसले मुलुकलाई नेतृत्व गर्नुपर्ने अवसर चाडै आउँछ ।
सिंगो राजनीति सत्ता समीकरण फेरबदल र सरकार परिवर्तनमा मात्रै केन्द्रित भयो होइन त ?
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल गत वैशाख २३ गते विभाजित भइसकेको छ । त्यसको मार अध्यक्ष उपेन्द्र यादवलाई परेको छ । ठूलो राजनीतिक मारमा परेका उनी सरकारबाट पनि बाहिरिएका छन् । जसपा जस्तै तनाव नेकपा एकीकृत समाजवादी पनि छ । यसलाई फुटाउन हरसम्भव प्रयास भइरहेको चर्चा छ । त्यसको पछाडि एमालेको ठूलो पार्टी बन्ने दाउ रहेको छ । ठूलो दल बन्ने ध्येयले समाजवादी फुटाउने भित्री अभिष्ट एमालेमा देखिन्छ । त्यसैले माधवकुमार नेपालले अहिलेको समीकरणमा ढुक्क भएर बस्न मुस्किल छ । उहाँले आफूलाई सुरक्षित राख्न खोज्नु गलत छैन । त्यसलाई कांग्रेससँग जोड्नु हुँदैन । प्रचण्डजी अहिले यति आत्तिनुपर्ने अवस्था थिएन, तर उहाँले आत्तिएर आफूकेन्द्रित राजनीति गर्नुभयो ।
अहिलेको प्रणालीलाई व्यवस्थित बनाउन हामीले समय कहिले खर्च गर्ने ?
अहिले यो सबै नास भएको छ । नेपाली जनता निराश छन् । सुशासनको प्रत्याभूति पाएका छैनन् । खाली कुर्सी मात्रै केन्द्रित, जनताको मतलब छैन । देश राम्रो बाटोमा हिँडेको छैन ।
अहिलेकै प्रतिनिधि सभाबाट संविधानको धारा ७६ को ५ सम्म मुलुकले राजनीतिक अभ्यास गर्दै जान सक्ला ?
यो संविधान निर्माण गर्ने शक्तिहरू आज एक ठाउँमा छैनन् । तिनीहरू नै यो संविधानको हुलमुलमा सामेल भएका छन् । यसको उदाहरण कोशीमा हेर्न सकिन्छ । सन्तान जन्माएर मात्र हुँदैन । पालन पोषण गर्नुप¥यो । सडकमा लावारिस छोडिदिने हो भने आवारा हुन्छ । संविधानलाई पनि लावारिस छोडेका छौँ । कमी कमजोरी सुधार्ने, करेक्सन गर्ने सोचेका छैनौँ । को प्रधानमन्त्री हुने के हुने भन्ने मात्रै छ, त्यसैले अब हामीलाई पशुपतिनाथले मात्रै बचाउलान् ।
कांग्रेसले देश बिगार्छ भनेर वामपन्थीहरूले आरोप लगाइरहेका छन्, कांग्रेसले मुलुक जोगाउने कि आफू जोगिने ?
कम्युनिस्टले राज गर्ने, सत्ता चलाउने, एक ठाउँ बस्ने, कहिले गठबन्धन गरेर चलाउने, दोष चाहिँ कांग्रेसको थाप्लोमा दिने गरेका छन् । कांग्रेस चोखो भन्ने होइन, केही गल्ती गरेको छ । अहिले राज्य उहाँहरूले चलाएर जोगाउने हो, सबै दोष कांग्रेसलाई दिनु हुँदैन ।
यो प्रणाली जोगाउन प्रजातान्त्रिक विचारकहरूको रणनीति के त ?
हामी यो प्रणाली बचाउन चाहन्छौँ । यो प्रणालीको बेथिति हटाउन संविधान संशोधन आवश्यक छ । हामीले उहाँहरूलाई यो स्वरूपको संघीयता थाम्न सक्दैनौँ भनेर बुझाउँदै छौँ ।
हामीले संविधान त बनायौँ । यो आमजनताको हो । यसमा समयसापेक्ष संशोधन आवश्यक छ । तर, हामी संशोधनतिर नगएर अर्को बाटो हिँडेका छौँ ।
सबैभन्दा पहिला संघीयता र प्रदेशको समीक्षा गर्नु पर्ला होइन ?
अहिल्यै हुँदैन, केन्द्रमा समीकरण बदलिँदा सातै प्रदेश अस्थिर छन् । पार्टी फुटाउनेतिर मात्रै दलहरू लाग्यौँ । व्यक्तिगत रूपमा यो आवश्यक छैन । तर संस्थागत रूपले संघीयतामा गइसकेपछि त्यतिकै हटाउन सकिँदैन । त्यसैले यसलाई पुनःस्थापित गर्नु आवश्यक छ । हाम्रो चालु खर्च धेरै भयो । थेग्न सकेका छैनौँ । राजनीति गर्दा गल्ती हुन्छ तर समयमा करेक्सन गर्नु पर्छ । सबैले देशलाई केन्द्रबिन्दुमा राख्नु पर्छ । नत्र हिजो राजाले, राणाबाट जोगाएको देश हामीले जानी नजानी बिगार्दै छौँ ।
निर्वाचन प्रणालीको समीक्षा गर्ने कि सिंगो गणतन्त्रको ?
निर्वाचन प्रणालीको समीक्षा गर्नु पर्छ । समानुपातिक निर्वाचन प्रणाली आफैँमा खराब होइन रहेछ । हाम्रो देशमा यो प्रणाली सफल देखिएन, त्यसैले प्रतिनिधि सभालाई पूर्ण प्रत्यक्ष निर्वाचित बनाएर राष्ट्रिय सभालाई पूर्ण समानुपातिकमा लानुपर्छ । संघीयता राख्ने हो भने सानो बनाउनु पर्छ । सबै प्रदेशमा योजना आयोग चाहिँदैन । हामीले विचार पुर्याएर समयानुकूल संविधान संशोधन गरेनौँ । निर्वाचन प्रणाली संशोधन गरेनौँ । यही रूपले गयौँ भने अफगानिस्तानको बाटोमा पुग्छौँ । त्यसैले संविधान, देश र प्रणाली जोगाउनु पर्छ । संविधान नजोगिए देश कहाँ पुग्छ थाहा छैन ।