शिक्षा

तीन दिनभित्र छात्रवृत्ति विवरण पेस गर्न निजी विद्यालयलाई अनुरोध

By खबरहब

June 06, 2024

काठमाडौं– काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरुलाई अनिवार्यरुपमा कम्तीमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएको छ ।

महानगरपालिकाको शिक्षा विभागले आज एक सूचना जारी गर्दै महानगरपालिका भित्र सञ्चालित सबै निजी विद्यालयले कक्षा १० सम्मका कक्षाहरुमा कम्तीमा १० प्रतिशत छात्रवृत्ति रीतपूर्वक वितरण गर्नुपर्ने जनाएको छ ।

महानगरका अनुसार बुधबारसम्म महानगर क्षेत्रका ४७३ संस्थागत विद्यालयले छात्रवृत्तिको विवरण उपलव्ध गराएका छन् । महानगरले विवरण उपलव्ध गराउने विद्यालयहरुको विवरण सार्वजनिक गरेको छ ।

छात्रवृत्ति विवरण पेस गर्न बाँकी विद्यालयहरुले महानगपालिका शिक्षा विभागको लिंक https://datacollection.kathmandu.gov.np/#/auth/basic मा तीन दिनभित्र उपलब्ध गराउन अनुरोध गरिएकाे छ ।

यस अवधिभित्र पनि माग भएको विवरण पेस नगर्ने विद्यालयहरुलाई शैक्षिक सत्र २०८१ मा सञ्चालनमा नरही बन्द विद्यालयको रुपमा अभिलेखीकरण गरी यस्ता विद्यालयहरुमा विद्यार्थी भर्ना नगर्न/नगराउन र गराएको भए अन्यत्र स्थानान्तरण गर्न समेत अभिभावहरुलाई सूचित गरिने उल्लेख छ ।

महानगरले रीतपूर्वक १० प्रतिशत छात्रवृत्ति उपलव्ध नगराउने निजी विद्यालयहरुलाई प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही हुने चेतावनीसमेत दिएको छ ।