समाचार

१५ हजार घुस लिएका वडाध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी, एक महिना कैद सजाय

By खबरहब

June 06, 2024

काठमाडौं- कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतका न्यायाधीशत्रय रामबहादुर थापा, खुशीप्रसाद थारु र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले बिहीबार अलीलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको हो ।

२०८० चैत १८ गते १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाख १७ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलाएको थियो ।

सेवाग्राहीको घरबाटो सिफारिस दिने नाममा घुस मागेको सूचनाका आधारमा खटिएको टोलीले वडाध्यक्ष अलीलाई रंगेहात समातेको थियो ।

अख्तियारले अलीलाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कैद सजाय तथा बिगो जरिवाना माग गरेको थियो। अख्तियारको माग अनुसार विशेषले उनलाई १५ हजार जरिवाना गराउँदै १ महिना कैद सजाय पनि सुनाएको हो ।