खेलकुद

फिफा विश्वकप छनोट : युएईसँग नेपालको लज्जास्पद हार

By खबरहब

June 06, 2024

काठमाडौं – फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत युएईसँगको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।

बिहीबार राति साउदी अरबस्थित प्रिन्स मोहमद बिन फाहद स्टेडियममा सम्पन्न खेलमा नेपाल ४–० ले पराजित भएको हो ।

पहिलो हाफमा दुई गोल गरेको युएईले दोस्रो हाफमा पनि दुई गोल थप्यो । युएईका लागि रिब अब्दल्लाले दुई गोल गरे । उनले खेलको १२ औं र १४ औं मिनेटमा गोल गरेका थिए ।

त्यस्तै खेलको ५४ औं मिनेटमा अली सालेहले गोल गरेका थिए । युएईका लागि खेलको ७५ औं मिनेटमा हाजेम मोहम्मद अब्दुल्लाह अब्बासले गोल गरे ।

घरेलु मैदानमा हुनुपर्ने यो खेल दशरथ रंगशाला खेलका लागि योग्य नरहेका कारण (न्यूट्रल भेन्यू) साउदी अरबमा खेलाइएको हो ।

समूह ‘एच’ मा रहेको नेपालले यसअघि चारै खेलमा पराजय भोगेको थियो । नेपाल युएईसँगको पहिलो खेलमा ४–०ले पराजित भएको थियो ।

त्यस्तै यमनसँग २–० ले पराजित भएको नेपाल बहराइसँगको पहिलो खेल ५–० र दोस्रो खेल ३–० ले हारेको थियो ।

प्रतियोगितामा अहिलेसम्म नेपालले खेलका पाँच खेलमा एक गोल पनि गर्न सकेको छैन । भने नेपालको पोष्टमा विपक्षी टोलीले १८ गोल गरेका छन् ।

यो समूहबाट युएईले शीर्ष स्थानमा रहँदै विश्वकपको तेस्रो चरणमा स्थान बनाइसकेको छ। अंकविहीन रहेको नेपालले भने एसियन कपका लागि क्वालिफायर खेल्ने छ।