खेलकुद

पेरिस ओलम्पिकमा कस्तो होला अमेरिकी प्रदर्शन ?

By मनोज घिमिरे

July 06, 2024

अबको तीन सातापछि फ्रान्सको पेरिस ओलम्पिक हुँदैछ। ओलम्पिकमा सहभागी हुने खेलाडीको टुङ्गो लागिसकेको छ। यस पटकको चर्चा जित्नका लागि खेल्नेहरूको हो।

भारतले २८ सदस्सीय एथलेटिक्स टोलीको चयन गरेको छ। सो टोलीको नेतृत्व ज्याभलिन थ्रोका स्टार निरज चोपराले गरेका छन्। विश्व विजेता तथा साबिक ओलम्पिक च्याम्पियन चोपराको प्रदर्शन भारतका लागि मात्र होइन संसारका लागि चासोको विषय हुनसक्छ।

ग्रेस नोटले गत महिना एउटा अनुमान सार्वजनिक गरेको थियो, ओलम्पिककै बारेमा। त्यस अनुसार यस पटक अमेरिका पदक तालिकामा फेरि पहिलो स्थानमा रहने निश्चित छ। ग्रेस नोटको दाबी अनुसार चीन दोस्रो हुने छ। यी दुई देशका बिचमा केही मात्र फरक रहने छ। ग्रेस नोटको दाबी यस्तो भए पनि अमेरिकाका लागि केही चुनौती पक्कै छन्।

लामो समय अमेरिकी प्रभाव रहेको पौडीमा यस पटक त्यो प्रभाव कस्तो रहने भन्ने शङ्का , उपशङ्का धेरै छ। पौडीको कुल स्वर्ण पदक सङ्ख्यामा अमेरिका र चीनका बिचमा विगतमा जस्तो भिन्नता नहुने सम्भावना पछिल्ला प्रदर्शनले देखाइसकेको छ। तथापि गत अमेरिकी छनोट पौडीमा १०० मिटर बटरफ्लाईमा ल्गेटचन वाल्स तथा १०० मिटर ब्याकस्ट्रोकमा रेगन स्मिथले विश्व कीर्तिमान कायम गरेपछि यो अमेरिकी टोलीका लागि सुखद विषय हो।

जिम्न्यास्ट सिमोन वाइल्स फेरि लयमा फर्किएकी छिन्। चोटसँग सङ्घर्ष गरीरहेकी टोकियो ओलम्पिककी अलराउण्ड स्वर्ण विजेता सुनी ली पनि टोलीमा फर्किएकी छिन्। यसै गरी जेड क्यारी जोर्डन चिल्स, जेसिका र इभिटा ग्रीकेन्स टोलीमा छन्। पुरुषतर्फ अमेरिका विगतमा सधैँ कमजोर थियो। यस पटक विगतको भन्दा धेरै कुरामा परिवर्तन भएको अमेरिकी प्रशिक्षण शैलीको कारण पनि यस पटक धेरै राम्रो परिणामको अपेक्षा अमेरिकाको छ। विगतमा धेरै जसो पुरुष जिम्न्यास्टिकमा जापान र चीनको प्रभाव थियो। फाट्टफुट्ट इजरायल लगायत देशको असर पनि नभएको होइन।

विगतमा कमजोर रहेको अमेरिकी पुरुष जिम्न्यास्टिकलाई उकास्ने काम यस पटक मिचिगनका फ्रेड रिचर्डले गर्ने अनुमान गरिएको छ। उनी गत विश्व च्याम्पियनसिपको अलराउण्डका कांस्य पदक विजेता हुन्। अमेरिकाले अहिले गरेको सुधारको असर आउने ओलम्पिकमा रिचर्डमा नै देखिने दाबी गरेको छ।

कुस्तीतर्फ ९७ वर्षीय कायल स्नाइडर, ५७ किलोमा हेलने माउरोलिस तथा ७६ वर्षीय केनेडी ब्लेडलाई धेरैले हेरिरहेका छन्। त्यसो त अमेरिकी दाबी अनुसार सिङ्गो टोली उत्कृष्ट छ।

सबै भन्दा धेरै पदक रहेको एथलेटिक्सको स्प्रिन्ट विधामा अमेरिका फेरि लयमा फर्किएको छ। ४०० मिटर हर्डल्समा सिड्नी म्याकगाउलिनले आफ्नो नाममा रहेको कीर्तिमान भङ्ग गरेकी छिन्। डच स्टार फेम्के बोलको चुनौती पार गर्ने सम्भावना देखाएकी छिन्।

गेबी थोमस र साकारी रिचर्डसन सही लयमा फर्कनुले अमेरिकी एथलेटिक्स टोली आशावादी छ। भलै जम्प र थ्रोमा विगतमा रहेको प्रदर्शन यस पटक नहुने सम्भावना ओलम्पिक छनोटले देखाइ सकेको छ। यस पटक नोह लायसले ३ स्वर्ण पदकको लक्ष्य राखेका छन्। सन् २००८ देखि सन् २०१६ को बिचमा युसेन बोल्टले राखेको प्रभावलाई पार गर्ने सवालमा लायस सक्षम देखिन्छन्।

विगतमा ब्रिटनी गिभर्स अमेरिकी बास्केटबल टोलीकी आकर्षण थिइन्। यस पटक त्यो आकर्षणलाई पार गर्ने काम केल्सी प्लमले गर्ने छिन्। टिम गेमका अमेरिकी उपस्थिति र प्रभाव कस्तो रहने प्रतीक्षाको विषय बनेको छ। बास्केटबलका दुवै स्पर्धामा अमेरिका हाबी हुने कुरा नकार्न मिल्दैन।

गत ओलम्पिकमा भलिबलको महिला स्पर्धामा स्वर्ण पदक जितेको अमेरिका अहिले कुन लयमा हुन्छ भन्ने अनिश्चित छ। थ्रीवाइ थ्री बास्केटबलको पनि प्रतिस्पर्धा हुने भएका कारण अमेरिका यस खेलमा प्रभावशाली हुने अनुमान गरिएको छ। यस पटक थपिएको ब्रेकिङमा पनि अमेरिकाले जित्ने अनुमान गरिएको छ । टोकियो ओलम्पिकबाट थपिएका स्पोर्ट्स क्लाइम्बिङ र स्केट बोर्डिङमा अमेरिकाले पदक जितेको थियो। यस पटक तीन वटै खेलमा स्वर्ण पदकको लक्ष्य अमेरिकाको छ।

एउटा सर्वेक्षणले अमेरिकाले एथलेटिक्समा ८ स्वर्ण पदकको अनुमान गरेको छ। त्यस सर्वेक्षण अनुसार स्प्रिन्टमा २ हर्डल्समा २, रिलेमा ३ र थ्रोमा एक स्वर्ण पदको अनुमान गरिएको छ। तथापि यस पटक प्रिन्टमा अमेरिकी लय हेर्दा विगतको भन्दा पक्कै बलियो देखिएको छ।

यस पटक पनि सुटिङका भिन्सेन हानकक, कोनर प्रिन्स र डानिया भिजालाई अमेरिकाले पेरिस ओलम्पिकमा स्वर्ण पदक जित्न सक्ने खेलाडीको रूपमा सूचीकृत गरेको छ। गत टोकियो ओलम्पिकमा अमेरिकाको सुटिङ टोली कमजोर साबित भएको थियो।

टोकियो ओलम्पिकमा हेर्न लायक खेलाडीको रूपमा सूचीकृत गरिएकी भारतीय सुटर मानु भाकरले कमजोर प्रदर्शन गरेकी थिइन्। उनी यस पटक पनि स्वर्ण पदकको दाबेदारको रूपमा ओलम्पिकमा सहभागिात जनाउँदै छिन्। सम्भावत यस ओलम्पिकमा दक्षिण एसियाकै सबै भन्दा हेर्न लायक र प्रतीक्षा गरेर बसेको खेलाडी चोपरा र भाकर नै हुन्।

सन् १९८४ मा अन्तिम पटक ओलम्पिक खेलकुद बहिस्कार भएको थियो। सन् १९८० को मस्को ओलम्पिक अमेरिका लगायत देशले बहिस्कार गरेका थिए भने सन् १९८४ को ओलम्पिक खेलकुद सोभियत सङ्घ लगायतले बहिस्कार गरेका थिए। सन् १९८८ को सियोल ओलम्पिक तथा सन् १९९२ को बार्सीलोना ओलम्पिकमा सोभियत सङ्घले पहिलो स्थान पाएको थियो। सन् २००८ मा भएको बेइजिङ ओलम्पिकमा चीन पहिलो भएको थियो। यी बाहेक अन्य ओलम्पिकमा अमेरिका पहिलो भएको छ।

अर्थतन्त्रमा, शासनमा, विज्ञानमा र प्रविधिमा झैँ खेलकुदमा पनि अमेरिका नै सर्वोत्कृष्ट रहेको तथ्य विगतका धेरै ओलम्पिकले प्रमाणित गरेका छन्। सायद यस पटकको ओलम्पिकमा पनि अमेरिका उत्कृष्ट हुनेछ। स्रोतः टिम युएसए, टाइम म्यागेजिन एपी न्युज, ओलम्पिक्स