फाइल फोटो

समाचार

हेटौँडा-काठमाडौँ-दक्षिणकाली सडक खुल्यो

By खबरहब

July 06, 2024

बागमती– अविरल वर्षाका कारण पहिरो खस्दा अवरुद्ध बनेको हेटौँडा–काठमाडौँ जोड्ने मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–२ छेपारेस्थित दक्षिणकाली सडक खण्डमा यातायात खुलेको छ ।

वर्षासँगै खसेको पहिरो हटाएपछि पछि सडकमा यातायात पुनःसञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए। पहिरो खस्दा गएरातीदेखि सो सडक अवरुद्ध भएको थियो । 

शुक्रबारदेखिको अविरल वर्षाका कारण हेटौँडा–काठमाडौँ जोड्ने अधिकांश सडक अवरुद्ध बनेका छन् । अविरल वर्षाकै कारण पहिरो खस्दा अवरुद्ध कान्ति लोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ प्रतापडाँडास्थित खण्डमा पहिरो हटाउने काम भइरहेको उनले जानकारी दिए।

 त्यस्तै पहिरो जाँदा अवरुद्ध भएको मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–५ महालक्ष्मी खोला नजिक मातातीर्थ, चखेल र देउराली जाने सडकखण्डमा पनि पहिरो हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । प्रहरी चौकी फाकेलबाट खटिएको टोलीले पहिरो हटाउने कार्य गरिरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए। 

अविरल वर्षाकै कारण अवरुद्ध रहेको भिमफेदी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–४ रातोमाटेस्थित सडकमा पनि पहिलो हटाउने काम भइरहेको छ । इलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको टोलीले सडक विभागको समन्वयमा पहिरो हटाउने कार्य गर्दै आएको उनको भनाइ छ । 

कान्ति लोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका ८ महादेवटार, प्रतापडाडा, बकैया गाउँपालिका–१२ आले, सिमात घुम्ती सडकखण्डमा पहिरो खसेर पूर्णरुपमा अवरुद्ध भएको र खुलाउने प्रयास भइरहेको प्रहरी उपरीक्षक भण्डारीले बताए। 

यसैबीच पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीओडारमा आज बिहान पहिरा खसेर अवरुद्ध थर्पु–खैरेनीटार सडकखण्डमा यातायात सेवा पुनःसञ्चालनमा आएको छ । शुक्रबारदेखि परेको वर्षाका कारण मौरीओडारमा पहिरा खस्दा उक्त खण्ड अवरुद्ध भएको थियो ।

पहिरो हटाएर राजमार्ग खुलाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । मुग्लिन पोखरा सडकखण्ड विस्तारका लागि काटिएको डाँडाबाट सडकमा पहिरा खस्दा यो खण्ड पानी परेपछि जोखिममा छ ।

वर्षाका कारण सडक हिलाम्य हुँदा थर्पु–खैरेनी खण्डमा सवारी साधन सञ्चालनमा समस्या भएको छ । केही ठाउँमा सवारी साधन नै अवरुद्ध हुँदा आवतजावतमा समस्या भएको छ । जिल्लाका अन्य ठाउँमा भने हालसम्म सडक पूर्ण रुपमा खुला रहेको प्रहरीले जनाएको छ । –