समाचार

म्याग्दे खोलाको बाढीले घुम्तीका घर डुबानमा

By खबरहब

July 06, 2024

दमौली– अविरल वर्षासँगै म्याग्दे खोलामा आएको बाढीले जिल्लाको म्याग्दे गाउँपालिका–४ स्थित घुम्ती बजारका घर डुबानमा परेका छन् । शुक्रबारदेखि परेको वर्षाका कारण म्याग्दे खोलामा आएको बाढीले यहाँका घरहरू डुबानमा परेका हुन् । 

शुक्रबारसम्म सामान्य रहे पनि आज बिहानदेखि खोलामा जलसहत निकै बढेको जिल्लास्थित उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष भीमलाल श्रेष्ठले जानकारी दिनुभयो । खोलामा आएको बाढीले यहाँका १४ घर डुबानमा परेका छन् । 

उनले भने, ‘प्रत्येक वर्षको वर्षाका समयमा यहाँ बाढी र डुबानको समस्या हुन्छ, यसको समाधान हुन नसक्दा प्रत्येक वर्ष घर डुबानमा पर्ने तथा स्थानीय विस्थापित हुने गरेका छन् ।’

जिल्ला प्रशासन कार्यालयले भारी वर्षा भइरहेकाले नदी तटीय र पहिरोको जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले वर्षाका कारण हुन सक्ने क्षति न्यूनीकरणका लागि सबैलाई आग्रह गरेका छन् ।