अन्तर्राष्ट्रिय

भारतीय र मंगोलियन सेनाको संयुक्त सैन्य अभ्यास शुरु

By खबरहब

July 06, 2024

काठमाडौं – भारतीय र मंगोलियन सेनाको संयुक्त सैन्य अभ्यास शुरु भएको छ । भारतको मेघालय राज्यस्थित उमरोईमा जुलाई ३ देखि ‘नोमाडिक एलिफेन्ट’ नामक सैन्य अभ्यास सञ्चालनमा आएको हो ।

यो अभ्यास १६ जुलाईसम्म जारी रहने भारतीय समाचार संस्था एएनआईले जनाएको छ । दुई मुलुकबीच रक्षा सहकार्य अभिवृद्धि गर्ने उद्देश्यअनुसार ‘नोमाडिक एलिफेन्ट’ संयुक्त सैन्य अभ्यास सञ्चालन हुँदै आएको छ । 

एएनआईका अनुसार दुई मुलुकबीच सञ्चालित यो १६ औँ संस्करणको ‘नोमाडिक एलिफेन्ट’ संयुक्त सैन्य अभ्यास हो । गत वर्ष १५ औँ संस्करणको अभ्यास मंगोलियाको उलानबटारमा सञ्चालन गरिएको थियो ।

पछिल्लो अभ्यासका क्रममा दुबै मुलुकका सैनिकलाई सहरी–पहाडी युद्धकलाबारे प्रशिक्षण दिइने भारतीय सेनाको जनसूचना निर्देशनालयले जनाएको छ ।