देश/प्रदेश

पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

By खबरहब

July 06, 2024

बैतडी – अविरल वर्षापछि खसेको पहिरोका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत बैतडीको सिगास गाउँपालिका–९ आलुगैरामा आज बेलुका पौने ७ बजेतिर पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको हो ।

पहिरोसँगै रुख खसेर राजमार्ग अवरुद्ध बनेको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । सडक अवरुद्ध हुँदा राजमार्गमा सञ्चालन हुने सवारी आवागमन पूर्ण रूपमा रोकिएको र यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् । अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको भए पनि निरन्तरको वर्षाका कारण समस्या भएको जनाएको छ ।

यस्तै करेन्ट लागेर जिल्लाको शिवनाथ गाउँपालिका–६ का हरिसिंह धनाडीको एक बाख्रा मरेको छ । घर नजिकै रहेको विद्युत्को खम्बामा करेन्ट लागेर बाख्रा मरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।

बिहीबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित भएको छ । लगातार वर्षा भइरहेको सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ । जलवायु तथा मौसम विज्ञान विभागले बैतडीमा आइतबारसम्म भारी वर्षा हुने भन्दै रेडजोनमा राखेको छ ।