समाचार

ओलीलाई बालेनको प्रश्न : भोटको राजनीति कहिलेसम्म ?

By खबरहब

July 06, 2024

काठमाडौं – काठमाडौं महानगरका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु प्रकरणबारे पुनः कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै बालेनले बर्षाका कारण काठमाडौं मात्र लगभग दुई हजार परिवार प्रभावित भएको बताउँदै गिरीबन्धु टी स्टेटमा यस्ता १५ हजार परिवारको व्यवस्थापन हुन सक्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘काठमाडौँमा लगभग २००० परिवार खोला छेउमा बस्ने गरेका छन् । तपाईले पचाउँन खोज्नु भएको गिरिबन्धुुमा यस्ता १५००० परिवार व्यवस्थापन हुन सक्छ ।’

बालेनले ३० वर्षसम्म भोटको राजनीति गरेको आरोप लगाउदै अर्को ३० वर्ष पनि झुलाउने सोच बनाउनु भएको छ भन्दै प्रश्न गरेका छन् । उनले लेखेका छन्, ‘अनि ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सँधै गरिरहने हो ? उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० बर्ष झुलाइसक्नु भयो, अझै अर्को ३० बर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ।’