आर्थिक

मेहनती नवराज- विदेशमा हात गुमाए, स्वदेश फर्केर उद्यमी बने

By खबरहब

August 06, 2024

विराटनगर– मोरङ्ग मिक्लाजुङ–८, मावा तोरीबारीका नवराज श्रेष्ठ सुन्दर सपना बोकेर विदेशिए । रोजगारीका लागि गन्तव्य मुलुक मलेसिया हानिएका नवराजले धन कमाउने सपना त पूरा गर्न सकेनन् नै ! भएको हात पनि गुमाएर फर्किनुपर्‍यो ।

सन्‌ २००९मा मलेसिया गएका ३६ वर्षीय नवराज फर्निचर कम्पनीमा काम गर्ने क्रममा दुर्घटना परे । काम गर्ने क्रममा मेसिनको तार चुँडिएर दाहिने हात गुम्यो ।

हात गुमेपछि पनि केही वर्ष वर्ष त्यही कम्पनीमा काम गरे । त्यसपछि सन् २०१४ मा उनी स्वदेश फर्किए । स्वदेश फर्किएपछि केही सयम उनी बेरोजगार बने । गाउँमै केही गर्ने हुटहुटी भयो । उनले तीन वर्षअघि भाइको सहयोगमा व्यवसायिक तरकारी खेती थाले ।

नवराजले तरकारी खेतीसँगै पशुपालन पनि गरिरहेका छन् । मलेसियामा हात गुमाउँदाको पीडा लिएर स्वदेश फर्किएका नवराज यतिबेला आफनै गाउँमा कृषि कर्ममा रमाइ रहेका छन् । कृषि र पशुपालनमा लगाव र परिश्रमका कारण अहिले नवराजलाई नाम र दाम दुबै मिलेको छ ।

नवराज भन्छन, ‘ठूलो सपना बोकेर विदेश गएँ, हात समेत गुमाउनुपर्‍यो, अहिले कृषिमा लागेर आत्मसन्तुष्टिसँगै मनग्गे आम्दानी गरिरहेको छु ’ उनले अहिले १० कट्ठा क्षेत्रफलमा तरकारी खेती गरिरहेका छन् । गोठमा उन्नत जातका पाँचवटा गाई र बाख्रा छन् । उनको बारीभरि बेमौसमी बोडी, फर्सीको मुन्टा, टमाटर र काँक्रालगायत फलेका छन् ।

विदेशको जस्तो श्रम नेपालमै गर्ने हो भने मनग्ये आम्दानी गर्ने सकिने नवराजको अनुभव छ । तरकारीमा १ लाख ५० हजार रुपैयाँसम्म लगानी गर्दा ४ देखि ५ लाख रुपैयाँसम्म कमाइ हुने गरेको नवराज बताउँछन् ।

‘एक वर्षमा करिब ७ लाख रुपैयाँको त दूधमात्रै बिक्री गरेँ, तरकारी बिक्रीबाट उत्तिकै आम्दानी लिएँ,’ उनले भने, ‘विदेशको दुःख भन्दा यो कमाइ दोब्बर छ ।’

अपाङ्गता भएपनि नवराजको कृषि कर्ममा देखिएको लगाव र परिश्रमका कारण स्थानीय सरकारले अनुदान सहयोग समेत गर्दै आएको छ । त्यसपछिका दिनमा उनलाई कृषि कर्ममा लाग्न थप हौसला मिलेको नवराज बताउँछन् ।

कृषि तथा पशुपालनमा लगानी गरे विदेश जानै नपर्ने नवराज सुनाउँछन् । कर्म गरे नेपालमै कमाउन सकिने अनुभव श्रेष्ठसँग छ । उनी आफ्नो फर्म अझै विस्तार गर्ने तयारीमा छन् । तर, उत्पादित तरकारीले उचित मुल्य नपाउँदा भने हैरानी खेप्नुपरेको उनी बताउँछन् ।

‘बिचौलियाका कारण कृषिक र पशुपालक किसान तथा उपभोक्ता मर्कामा परेका छन,’ उनले भने, ‘सरकारले बिचौलियाको अन्त्य गरी देशका युवालाई देशमै रोजगारी र उत्पादित बस्तुको उचित बजार प्रवर्द्धन गर्नुपर्छ  ।’

उनले आफनो कृषि फार्ममा हालसम्म २० लाख रुपैयाँभन्दा बढी लगानी गरिसकेका छन् । कृषि र पशुपालनामा लगानी गरे विदेश जानै नपर्ने उनी सुनाउँछन् । उनी फर्मलाई अझै विस्तार गर्ने तयारीमा छन् ।

मिक्लाजुङ्ग गाउँपालिकाले नगरभित्रका पशुपालन फार्ममा गोठ सुधार र तरकारी खेतीका लागि निःशुल्क तालिम र बीउ अनुदान दिने गरेको छ ।

मिक्लाजुङ्ग–८ वडाध्यक्ष प्रवेश कुँवरले विदेश भएर हात गुमाएका नवराजले कृषिमा गरेको प्रयास र मेहनतले उनी सफल कृषक बनेको बताए ।

‘अपाङ्गता भएपनि कृषि कर्मप्रतिको उनको लगाव र परिश्रमका कारण यही क्षेत्रमा उनले भविष्य खोज्दैछन् भनेर बुझन गाह्रो छैन,’ कुवँर भन्छन्, ‘कृषिमा पनि अथक मेहनत र परिश्रम गरे परिवारका साथ बसे पनि विदेश भन्दा राम्रो आम्दानी लिन सकिने उदाहरणका पात्र यतिखेर नवराज बनेका छन् ।’

नवराजलाई सहयोग गर्न स्थानीय सरकार सधैँ तयार रहेको वडाअध्यक्ष कुँवर बताउँछन् ।