अन्तर्राष्ट्रिय

खालिदा जिया र शेख हसिना : कट्टर दुस्मन बङ्गलादेशी बेगम

By खबरहब

August 06, 2024

काठमाडौं– विगत १५ वर्षदेखि सत्ताको बागडोर सम्हाल्दै आएकी बंगलादेशकी (निवर्तमान) प्रधानमन्त्री शेख हसिना देश छाडेर भागिसकेकी छन् ।

हसिना देश छाडेर भागेसँगै उनको शासनकालमा भ्रष्टाचारको मुद्दा लगाएर १० वर्षको जेल सजाय काटिरहेकी बंगलादेशकी पहिलो जननिर्वाचित प्रधानमन्त्री बेगम खालिदा जिया मंगलबार रिहा भएकी छन् ।

हसिनाले बंगलादेश छाडेपछि राष्ट्रपति मोहम्मद शाहबुद्दिनले जेलमा रहेकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई रिहा गर्न सोमबार नै आदेश दिइसकेका थिए ।

राष्ट्रपति शाहबुद्दिनको नेतृत्वमा भएको बैठकमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष खालिदा जियालाई तत्काल रिहा गर्ने सर्वसम्मत निर्णय भएको राष्ट्रपतिको प्रेस विभागले जानकारी दिएको छ ।

बंगलादेशको स्थापना सन् १९७१ मा भारत–पाकिस्तानको युद्धबाट भएको थियो । स्थापनाकालदेखि नै बंगलादेशले कयौं ठूला नेताहरूको हत्या देख्दै आएको छ । लामो समय चलेको तानाशाही शासनपछि बंगलादेशमा सन् १९९१ मा संसदीय लोकतान्त्रिक प्रणाली आएको थियो ।

लोकतान्त्रिक व्यवस्था बहालीपछि प्रधानमन्त्रीको कुर्सीमा दुई बेगमको हालिमुहाली रहँदै आएको छ । पहिलो बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की बेगम खालिदा जिया र दोस्रो आवामी लिगकी शेख हसिना ।

बंगलादेशका बंगबन्धु शेख मुजिब उर रहमानको सन १९७५ अगस्ट १५ मा हत्या भयो । १९७५ को भएको ‘कू’ मा मुजिबकी पत्नी, तीन छोरासहित १८ जनाको हत्या गरिएको थियो । उक्त समयमा २८ वर्षीया शेख हसिना आफ्ना पति र शहिनी शेख रेहानाका साथ जर्मनीमा थिइन् ।

जियाउर रहमानको सैन्य सरकारले शेख हसिनालाई बंगलादेश प्रवेशमा प्रतिबन्ध लगाएको थियो । त्यही कारण उनी भारतमा शरण लिन पुगेकी थिइन् । हसिना ६ वर्षसम्म नयाँ दिल्लीको पन्डारा हाउसमा बसिन् । सन् १९८१ मा आवामी लिगको अध्यक्षमा चुनिएपछिमात्रै उनी स्वदेश फर्किएकी थिइन् ।

उनी अध्यक्षमा हुनुअघि बंगलादेशको चटगाउँ सर्किट हाउसमा सेनाका केही वद्रोही अधिकारीहरूले बंगलादेशका तत्कालीन राष्ट्रपति जियाउर रहमानको हत्या गरेका थिए । रहमानको हत्यापछि राजनीतिमा खालिदाको ‘इन्ट्री’ सम्भव भएको थियो ।

बंगलादेशका पहिलो राष्ट्रपति शेख मुजिबुर रहमानकी छोरी शेख हसिना र सन् १९७५ देखि १९८१ सम्म राष्ट्रपति रहिसकेका जियाउर रहमानकी पत्नी खालिदा जिया एकसाथ राजनीतिमा आएका थिए । उनीहरूबीचको शत्रुताको बंगलादेशसँगै विश्वभर चर्चा हुने गरेको छ ।

तर, एकपल्ट दुवैले एक अर्काकाप्रतिको शत्रुता भुलेर आपसी दूरी कम पनि गरेका थिए । कारण थिए– समान दुस्मनी ।

सन् १९७७ मा खालिदा जियाका पति जियाउर रहमान राष्ट्रपति बनेका थिए । राष्ट्रपति भएपछि उनले इरशादलाई सैन्य प्रमुखको जिम्मेवारी दिएका थिए । तर, १९८१ मा राष्ट्रपति रहमानको हत्या गरेर अब्दुस सत्तार बंगलादेशका नयाँ राष्ट्रपति बने ।

तर, इरशादले केही समयमै सैन्य ‘कू’ गरेर एहसानुद्दिन चौधरीलाई राष्ट्रपति बनाए । त्यस एक वर्ष नबित्दै उनले आफैंलाई राष्ट्रपति घोषणा गरे । तर, उनको काम गर्ने शैली तानाशाहको जस्तै थियो । उनले हेर्दाहेर्दै बंगलादेशमा ‘मार्शल ल’ लागु गरे ।

सन् १९९१ : दुई महिला, लक्ष्य एक

राष्ट्रपति इरशादले लागु गरेको ‘मार्शल ल’ शेख हसिना र खालिदा जियालाई एक ठाउँमा उभ्याउन सफल भयो । दुवैले एकआपसको तिक्तता भुलेर हात मिलाए । दुवै महिलाहरुले लोकतन्त्रको समर्थनमा प्रदर्शन गरे । जसका कारण बंगलादेशका सैन्य तानाशाह जनरल इरशादले सत्ता परित्याग गर्नु परेको थियो ।

जुन गतिमा बंगलादेशबाट मार्शल ल हटाइयो, त्यही गतिमा हसिना र खालिदाले पनि एकआपसमा मिलाएको हातको दूरी पनि बढाउँदै लगे । उनीहरू आ–आफ्नो पार्टीको कमान सम्हाल्दै वर्चश्वको लडाईं जित्ने प्रयासमा देखिए । सन् १९९१ मा सम्पन्न निर्वाचनबाट खालिदा बंगलादेशकी पहिलो जननिर्वाचित महिला प्रधानमन्त्री बनेकी थिइन् ।

सन् १९९४ : बाटो अलग

सत्ताको चाहनाले लोकतन्त्रका लागि एकसाथ आनदोलनको मोर्चामा होमिएका हसिना र खालिदाको बाटो फरक हुन पुग्यो । आवामी लिगले खालिदाको पार्टीमाथि गडबडीको आरोप लगायो । बंगलादेशमा कार्यवाहक सरकारले निर्वाचन गराउनु पर्ने माग उठ्यो ।

सन् १९९६ : पुनः निर्वाचन

उक्त चुनावमा खालिदा विजयी भइन् । हसिनाले निर्वाचनमा धाँधली भएको आरोप लगाइन् । कार्यवाहक सरकारको निगरानीमा पुनःनिर्वाचन गराइयो । पुनः निर्वाचनमा हसिनाको जीत भयो । उनी बंगलालादेशकी दोस्रो महिला प्रधानमन्त्री बनिन् ।

सन् २००१ : खालिदाको जीत

यसपटकको निर्वाचनमा खालिदा नेतृत्वको गठबन्धन नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । निर्वाचनलगत्तै हसिनाको पार्टीले प्रदर्शन सुरू ग¥यो । राजधानी ढाकामा आयोजित आवामी लिगको र्या‍लीमा विस्फोट भएपछि संसद् बहिष्कारको घोषणा गरियो ।

सन् २००६–२००८ : दुवै बेगम जेलमा

आमनिर्वाचन गराउन गठन हुने कार्यवाहक सरकारको नेतृत्वका विषयमा हसिना र खालिदाबीच सहमति जुट्न सकेन । जसका कारण निर्वाचन स्थगित गर्नुपर्ने अवस्था सिर्जना भयो । यसैबीच कार्यवाहक सरकारका प्रमुख फखरुद्दिन अहमदले भ्रष्टाचारको आरोपमा पूर्वप्रधानमन्त्रीद्वय हसिना र खालिदालाई जेल हाले ।

सन् २००८ : हसिना युगको सुरुवात

सन् २००८ मा कार्यवाहक सरकारका प्रमुख फखरुद्दिन बंगलादेशमा शान्ति कायम राख्न निर्वाचन गर्नुपर्ने मनस्थितिमा पुगे । निर्वाचन सम्पन्न गराउन उनले जेलमा बन्दी बनाइएकी दुवै पूर्वप्रधानमन्त्री हसिना र खालिदालाई रिहा गरे । निर्वाचनमा आवामी लिग विजयी भयो । र, हसिनाको सत्तामा पुनरागमन भयो ।

सन् २०११ : सत्ताको ‘एक्सन’

हसिना सरकारले कार्यवाहक सरकारद्वारा लागु गरिएका नियमहरू खारेज गर्यो‍ । खालिदा नेतृत्वको गठबन्धनको प्रमुख सहयोगी दल जमात–ए–इस्लामीका कयौं शीर्ष नेताहरूलाई सरकारले बन्दी बनायो । जसको विरोधमा बंगलादेशमा प्रदर्शन भयो ।

सन् २०१४–२०१६ : कट्टरवादको ‘इन्ट्री’

यो समय बंगलादेशमा कार्यवाहक सरकार थिएन । हसिनाको दल अवामी लिग भारी मतका साथ विजयी भयो । यसबीचमा शंगलादेशमा कट्टरवाद बढ्यो । ब्लगर्स मारिन थाले । यही समयमा इस्लामिक स्टेटले बंगलादशेमा आक्रमण ग¥यो ।

सन् २०१८ : खालिदा जेलमा

खालिदालाई भ्रष्टाचार मामिलामा १० वर्षको जेल सजाय तोकियो । उनको राजनीतिक करिअर करिब समाप्त भयो । यद्यपि, खालिदाको पार्टी बीएनपीले निर्वाचनमा प्रतिष्पर्धा त गर्यो‍, तर चुनावी परिणाम हसिनाको पार्टी अवामी लिगको पक्षमा देखियो ।

हसिना र खालिदाको शत्रुताबीच झुलेको बंगलादेश

सन् १९९१ मा खालिदा जिया बंगलादेशकी पहिलो र इस्लामिक देशकी दोस्रो प्रधानमन्त्री बन्न सफल भइन् । उनीभन्दा अघि पाकिस्तानमा बेनजिर भुट्टोले प्रधानमन्त्रीको पद सम्हालिसकेकी थिइन् ।

खालिदाको जीत हसिनाले सहजै स्वीकार गर्न सकिनन् । सन् १९९६ को निर्वाचनमा नतिजा आफ्नो पक्षमा पर्न सम्पूर्ण जोडबल लगाइन्, तर खालिदाको अघि उनको केही सीप चलेन ।

उनले खालिदामाथि निर्वाचनमा धाँधली गरेको आरोप लगाइन् । १९९६ फेबुअरी १५ मा निर्वाचन सम्पन्न भएको थियो । प्रतिपक्षले चुनावी नतिजा स्वीकार नै गरेन ।

निर्वाचनको चार दिनपछि अर्थात फेबुअरी १९ मा खालिदाले प्रधानमन्त्री पदको शथप लिएकी थिइन् । तर, उनलाई सत्ताच्यूत गर्न हसिनाको नेतृत्वमा विपक्षले असहयोग आन्दोलन सुरु गर्यो‍ ।

आन्दोलनकै कारण मार्च ३१ मा खालिदा जियाले पदबाट राजीनामा दिनुपर्यो‍ । खालिदाको राजीनामापछि राष्ट्रपतिले संसद् विघटनको घोषणा गरेर सुप्रिम कोर्टका प्रधानन्यायाधीश मोहम्मद हबिबुर रहमानलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गरे ।

सन् १९९१ कै जुन महिनामा पुनः निर्वाचन गरियो । निर्वाचनमा हसिनाको पार्टी अगामी लिगले १४६ र खालिदाको पार्टी बीएनपीले ११६ सिट जित्यो । शेख हसिना बंगलादेशमा पहिलो पटक प्रधानमन्त्री बनिन् ।

तर, सन् २००१ को निर्वाचनबाट खालिदा बंगलादेशको राजनीतिमा ‘कमब्याक’ गर्न सफल भइन् । यसरी बंगलादेशको सत्ता राजनीति यिनै दुई महिलाको वरिपरी घुम्दै आएको थियो ।

एकपटक हसिना प्रधानमन्त्री बन्दा अर्कोपटक सत्ताको चाभी खालिदाको हातमा पुग्ने गर्दथ्यो । तर, जो विपक्षमा हुन्थ्यो, त्योसँग आरोपको भकारी हुने गर्दथ्यो ।

विपक्षमा जो सुकै भए पनि उनीहरू सत्तामा हुनेमाथि भ्रष्टाचारदेखि शक्ति दुरुपयोग र राजनीतिक प्रतिशोधका आधारमा कारबाही बढाएको आरोप लगाउने गर्दथे ।