काठमाडौं– बुटवल उपमहानगरपालिका-१० का गनबहादुर बिक चार महिनाअघि (बैशाख २० गते) हराए । हालसम्म घर नफर्किएका उनी जीवितै छन्/छैनन् भन्नेसम्म थाहा छैन ।
उनकी श्रीमती धनमाया कार्की श्रीमान आउने बाटो रुँगिरहेकी छिन् । परिवारजनले ‘मानिस हराएको सूचना’ विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालमा पनि राखेका छन् । तर, फेला पर्न सकेका छैनन् ।
गनबहादुर १५ वर्ष नेपाली सेनामा जागिर खाएर अवकाशप्राप्त हुन् । परिवारका सबै दाजुभाइ नै सेनाका जागिरे हुन् । माइला दाजुले गनबहादुर फेला पार्ने व्यक्तिलाई उचित इनाम व्यवस्था हुने भन्दै सबैतिर प्रचारप्रसार गरिरहेका छन् ।
…
काभ्रेपलाञ्चोक जिल्ला, पनौती नगरपालिका-१ मा बस्ने समीर सापकोटाका बुबा हराएको ११ वर्ष भइसक्यो । समीरका बुबा रामप्रसाद सापकोटा घरमै डेरी चलाएर बसेका थिए ।
तर एकाएक ‘मलाई डेरीबाट घाटा भयो, म इन्डिया गएर कमाएर आउँछु’ भनी घर छाडेर हिँडे । उनी हालसम्म फर्किएका छैनन् । ‘म सानै थिएँ, हामीलाई इन्डिया गएर पैसा कमाएर आउँछु भनेर हिँड्नु भएको बुबा अहिलेसम्म आउनु भएको छैन,’ समीर भन्छन् ।
राम प्रसादकी वयोवृद्ध आमा पनि छिन् । उनी मर्ने बेलामा छोरो सँगै भए हुन्थ्यो भनी रोइरहेकी छिन् । छोराकै चिन्ता गर्दागर्दै उनका बुबाको पनि मृत्यु भयो ।
भरथेग गर्ने मानिस बेपत्ता भएपछि घर नै लथालिङ्ग भएको उनकी श्रीमती सुनाउँछिन् । आसमा श्रीमती र छोराछोरी दिनहुँ रामप्रसाद आउने बाटो हेरिरहेका छन् । उनलाई भेटिन्छ कि भनी विभिन्न सामाजिक सञ्जालमा पनि प्रचार गरेका छन् । प्रहरीलाई पनि खबर गरे, तर अहिलेसम्म पत्ता लागेको छैन ।
…
झापाको बाह्रदशी गाउँपालिका-५ निवासी राजेश हजाम तीन महिनाअघि उसैगरी एकाएक हराए । छोराको चिन्ताले बुबाआमा दिनरात रोइरहेका छन् । तर, राजेशबारे अहिलेसम्म केही पत्तो लागेको छैन ।
सैलुनमा काम गर्ने राजेश कामबाट आएर खाना खाइवरी आराम गरिरहेका थिए । घरका अन्य सदस्यहरू वरपर नै थिए । उनलाई करिब ११ बजेतिर फोन आयो । कसैलाई केही नभनी घरबाट फुत्त निस्किए ।
तीन महिनाअघि घर बाहिर निस्किएका राजेश आजसम्म फर्किएका छैनन् । परिवारका एकमात्रै भरोसा रहेका राजेश हराउँदा परिवारमा ठूलो बज्रपात परेको छ । घरका एकमात्र छोरा सरासर बेपत्ता भएपछि आफन्तहरू दिनरात रोइरहेका छन् ।
बुबा भीम हजाम परिवारको हातमुख जोर्न सघाउने एकमात्र छोरा बेपत्ता हुँदा निकै पीर र समस्या परेको बताउँछन् । उनी छोराको फोटो लिएर दिनहुँ गल्ली-गल्ली दौडिन्छन् । प्रहरीले राजेशलाई कसले फोन गरेको थियो भन्ने पनि पत्ता लगाइरहेको छ । तर, उनी अहिलेसम्म फेला परेका छैनन् ।
…
हराएका मानिस नभेटिएका यी त केही उदाहरणमात्र हुन् । यस्ता कयौं मानिसहरू आफ्नो परिवारबाट बिछोडिएका छन ।
ती मध्ये कतिपय नेपालमै रुमलिएका छन् भने कतिपय विदेशी दलालको चङ्गुलमा परिसकेका अनुमान छ । नेपाल प्रहरीले सङ्कलन गरेको तथ्याङ्कअनुसार बालबालिकादेखि वृद्धावस्थाका मानिसहरू समेत आफ्नो परिवारबाट बिछोडिएका छन् ।
हराएर र टाढिएर अरूकहाँ काम गरेर बस्नुपर्ने बाध्यता र परिवार देख्न नपाउनुको पीडा त केही समयअघि हेर्ने कथाले प्रसारण गरेको ‘हराएका वर्षहरू’ शीर्षकको भिडियो सामग्रीले प्रष्ट्याइसकेको छ । हेर्ने कथामा प्रकाश तामाङ (काले) ले घर भेट्टाएका सम्मको इतिवृत्त हेरेपछि दर्शकहरूले आफू भक्कान्निएको र आँशु रोक्न नसकेको प्रतिक्रिया दिइरहेका छन् ।
मानिस भेटिएका र परिवारमा पुगेका खबरले मानिसहरूलाई जति भावविह्वल बनाएको छ, हराएका आफन्त कहिल्यै भेट्न नसकेकाहरू त्यो भन्दा घनघोर वियोगान्तमा तड्पिरहेका छन् । मानसिक स्वास्थ्य कमजोर भएकादेखि सबल मानिसहरू नै परिवारबाट टाढिइरहेका विवरण भेटिइन्छ ।
नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्की ।
नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार मानिसहरू विभिन्न कारणहरूले हराउने गर्दछन् । कोही घरको व्यवस्थापन गर्न नसकेर त कोही पारिवारिक कलहका कारण हराउने गरेका छन् । प्रायःजसो वृद्धवृद्धा भने परिवारले गरेको व्यवहार र छोराछोरीको बेवास्ताका कारण हराउने गरेका छन् ।
‘प्रायःजसो मानिसहरू केही न केही तनाव वा पारिवारिक कलह इत्यादिले घर छाडेर हिँड्ने गरेको पाइएको छ । अपाङ्ग भएका व्यक्तिहरूलाई परिवारले नै घृणा गर्ने गरेका कारण बेपत्ता भएको हामीले पाएका छौँ । बल्लतल्ल फेला पार्दा पनि उनीहरू घर नजाने, आफन्तसँग नबस्ने, बरु बाहिरै आफ्नो जीवन बिताउने बताउँछन्,’ उनी भन्छन् ।
तर, बालबालिकाको केसमा भने प्रायः प्रलोभनमा परेर घर छोडेर हिँड्ने गरेका पाइएको प्रवक्ता कार्कीको भनाइ छ । उनी भन्छन्, ‘फिल्म या म्युजिक भिडियोमा खेल्न पाउने भन्दै घरपरिवार छााडेर भागेका केसहरू बढी आउने गरेका छन्,’ प्रवक्ता कार्कीले भने ।
परिवारले गर्ने अपहेला, मानसिक असन्तुलन र विभिन्न भेदभावका कारण पनि मानिसहरू हराइरहेका प्रहरी अधिकारीहरू बताउँछन् । यी मध्ये केही माानिसहरू आश्रममा सहारा लिएर बसेका छन् भने कोही सडकमा भेटिने गरेका छन् ।
कुन वर्ष कति हराए ?
आर्थिक वर्ष २०७८/०७९ मा मात्रै नेपालबाट १४ हजार ९५७ जना मानिस हराएका छन् । हराएकामा महिला बढी छन् । एक आर्थिक वर्षमा मात्रै सात हजार १४१ महिलाहरू बेपत्ता भएका हुन् ।
हराएकामा तीन हजार २९७ पुरुष, एक हजार १३५ बालक र तीन हजार २४९ बालिका छन् । ६० वर्ष कटेका मानिसहरू वृद्धवृद्धाहरू पनि १३५ जना हराएको नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कले देखाएको छ ।
आर्थिक वर्ष २०७९/०८० मा पनि १५ हजार २४५ मानिसहरू हराए । हराउनेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा बढेको छ । हराउनेमा महिलाहरू नै बढी छन् । एक वर्षमा पाँच हजार ४२५ जना महिलाहरू हराएका छन् भने चार हजार ९४५ जना बालिकाहरू हराएका छन् ।
सो वर्ष दुई हजार ८७५ जना पुरुषहरू हराएका छन् भने एक हजार ९३५ बालक हराएका छन् । यस्तै, ६५ वृद्धवृद्धा हराएका तथ्याङ्कमा उल्लेख छ ।
आर्थिक २०८०/०८१ मा हराउनेको सङ्ख्या झन् बढेको छ । एक वर्ष अवधिमा नेपालमा हराउनको सङ्ख्या १५ हजार ६८३ पुगेको हो । वर्षेनी मानिस हराउँदै जाने प्रवृत्तिले नेपालमा विकराल रूप लिइरहेको देखिन्छ । हराएकामा महिलाहरूको सङ्ख्या अधिक छ ।
गतवर्ष नेपालमा पाँच हजार ८६४ जना महिलाहरू हराएका हुन् । यस्तै, तीन हजार १४५ जना पुरुषहरू पनि गायब छन् । हराएका बालिकाहरूको सङ्ख्या पनि निकै छ । एक वर्षमै चार हजार ६५३ बालिकाहरू हराएका छन् । एक हजार ६५६ बालक र २३५ वृद्धवृद्धा हराएका प्रहरीले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।
तथ्याङ्क केलाउँदा तीन वर्ष अवधिमा १८ हजार ४३० जना महिलाहरू हराएका छन् । सोही अवधिमा हराउने पुरुषको सङ्ख्या नौ हजार ३१७ रहेको छ ।
यस अवधिमा हराएका बालबालिकामध्ये बालिकाको सङ्ख्या नै धेरै छ । तीन वर्षभित्र १२ हजार ८४७ जना बालिकाहरू हराएका हुन् । हराएका बालकको सङ्ख्या ४ हजार ७४६ रहेको छ । ४३५ जना वृद्धवृद्धा हराइरहेका छन् ।
कति फेला परे ?
प्रहरीका अनुसार नेपालमा एक वर्षभित्र जति मानिस हराउँछन्, ती मध्ये आधा पनि भेटिँदैनन् ।
हराएर पनि आफ्नै देशको कुनै कुनामा राम्रोसँग काम गरिरहेका भए त ती मानिस समयान्तरमा भेटिइन्छनन् नै ! तर कतिपय मानिसहरू त विदेशमा बेचिएका पनि हुने नेपाल प्रहरीको भनाइ छ ।
हरेक दिन हराएका मानिसहरूबारे सूचना आउने गरे पनि भेटिएका सूचना परिवारजनले खासै दिँदैनन् । त्यसकारण भेटिएका मानिसहरूको तथ्याङ्क भने तलमाथि हुन सक्ने प्रहरीको भनाइ छ ।
तीन वर्षमा हराएका ४५ हजार नागरिकमध्ये २५ हजार ४६८ जना फेला परेका छन् । भेटिएकामा महिला १० हजार ५००, पुरुष चार हजार ७७७, बालक दुई हजार ८९३, बालिका ६ हजार ९५५ र वृद्धवृद्धा २७१ छन् ।
तथ्याङ्क केलाउँदा हराएकाको तुलनामा भेटिएका मानिसहरूको सङ्ख्या आधाभन्दा पनि कम हो । हराएका, तर नभेटिएका मानिसहरू कहाँ कस्तो अवस्थामा छन् भन्ने जानकारी प्रहरीले नै प्राप्त गर्न सकेको छैन ।
सामाजिक अभियन्ता इन्द्रराज भट्टराईका अनुसार केही मानिसहरू बाध्यतावश अन्य देश पसेका हुन्छन् । धेरैलाई मानव बेचबिखन गर्ने नेपाली दलालहरूले मानव तस्करीमार्फत विदेश पुर्याइसकेका हुन्छन् । विभिन्न काम र आकर्षक तलबमानको प्रलोभनमा पार्दै सोझासाझा मानिसलाई दलालको हातमा सुम्पँदा पनि धेरै मानिसहरू नेपालबाट हराएका भट्टराईको भनाइ छ ।
उनका अनुसार, हराएकामध्ये अधिकांश मानिस दक्षिणी छिमेकी देश भारतमा फेला पर्ने गरेका छन् । खुला सीमा र विभिन्न कामको प्रलोभन वा धेरै कमाउने लहलहैमा लागेर भारतमा बालबालिकाहरू श्रमिक बनेका वा विभिन्न शोषणमा परेका भट्टराईको भनाइ छ ।
‘हामीले धेरै नेपालीहरूलाई नेपाल फर्काइसकेका छौँ । धेरै बालबालिका र युवाहरू अझै विदेशीको गुलाम भइरहेका छन् । हामीलाई घर फर्काइदिनुस् भनेर उनीहरूले हारगुहार गर्दा समेत नेपालमा ल्याउन सकेका छैनौँ। ती मध्ये कतिपय मानिसहरूलाई आफ्नो जिल्ला र घर नै थाहा छैन । त्यस्ता मानिसहरू ल्याएर राख्ने कुनै पनि संस्था वा निकाय नभएका कारण थाहा पाएर पनि हामीले धेरै मानिसहरूलाई उद्धार गर्न सकेका छैनौँ, सरकारले नै चासो दिने गरेको छैन,’ भट्टराईले भने ।
मन्त्रालय भन्छः ‘थाहा छैन ’
सरकारको विभागीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बेचबिखनमा परेका मानिसहरूले हेर्ने, तर हराएका सबैबारे जानकारी नभएको जनाएको छ ।
हराएका मानिसहरूको खोजबिन नेपाल प्रहरीले नै गर्ने हुनाले मन्त्रालयले तथ्याङ्क राख्ने नगरिएको प्रवक्ता केशवप्रसाद उपाध्यायले बताए ।